विस्थापित मुटु
सरण राई
बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा ।
‘आमा जिउँदै छिन् तर टुहुरोजस्तो भएको छ नाति । बुहारीलाई नातिको कुनै वास्ता छैन ।’
बोजुको
मन कटक्क खान्छ । आफैँ बिरामि हुँदाहुँदै पनि मायाको अभाव नातिले महसुस
गर्न नपरोस् भनेर आफूसित भएको सम्पूर्ण माया र न्यानो ममता नातिमाथि
खन्याउन पुग्छिन् । तिनी समयमा खाना र खाजा खुवाउने, समयमा सुताउने, पालन
पोषण, सह्यार सम्भार गर्ने र बाल सिकाइमा त्रुटि हुन नपाओस् भनेर चिन्तित
छिन् । हामीले पनि निश्चित रूपमा छोराछोरीहरू हुर्काउँदा भावी असक्त
वृद्धावस्थामा छोराछोरी, बुहारीहरूले हेरुन्, हाम्रो मनोभावना बुझुन् भन्ने
चाहना अदृश्य रूपमै भएपनि मनको कुनै कुनामा राखेका थियौँ । तर त्यो चाहना,
सपना आज चकनाचुर भएको छ तापनि बोजु चाहन्छिन्, बुहारीले हामी सासुससुरा र
लोग्नेलाई नहेरे पनि छोरा(नाति)लाई हेरोस् ।
बरा, बिचरा सानो बालख नाति ! आमाको माया नपाएर नियास्रिएको छ ।
नानी
उमेरको स्वर्णिम अवधि जुन बेला हरेक बस्तु र कुराहरू सबै नयाँ हुन्छन् ।
सब नयाँ सिक्नु पर्ने, बुझ्नु पर्ने, थाहा पाउनु पर्ने, स्मरणमा अङ्कित
गर्नु पर्ने र ती सबलाई ठीक प्रकारले बुझेर बोली र शब्दमा प्रकट गर्नु
पर्ने उमेरमा राम्रा र नराम्राको अनुभूति, माया, ममता, प्रेम, घृणा, उपहास,
हेला, विवेध र विभिन्नताको महसुसीकरण र त्यसको स्वाभाविक सहज प्रकटीकरण
गर्ने उमेर ! मन परे मुस्कुराउने, हाँस्ने र प्रफूल्लित भएर वातावरण र
परिवेश झलमल्ल पार्ने; मन नपरे चिच्याएर, रोएर बिरोध, बिद्रोह र आक्रोश
पोख्ने निश्छल बाल उमेर ! त्यही उमेरमा आमाबाबु, प्रिवार र आफन्तजनको
सबैभन्दा बढी माया चाहिन्छ । आमाको काखमा लुट्पुटिएर मुस्कुराउने, हाँस्ने र
रुने उमेर !
‘छोरालाई भनाँै कि क्या हो ? बुहारी सा¥है बरालिन थाली ।
नानीलाई खाजा पु¥याउने निहुँ गरेर घरबाट निस्किन्छे, दिनभर बेपत्ता हुन्छे
।’
‘के भन्नु ? आमाबाबुले छोराबुहारीको सम्बन्ध बिगारी दिए, भन्लान् ।
बेकारमा दोष मात्र लाग्ला ।’, म भन्छु । हुन त मलाई पनि बुहारीको स्वच्छन्द
चलन र व्यवहार मन परेको छैन । हामी परदेशमा हुँदा बुहारी राती अबेला मात्र
धर आउथी । सकीनसकी आमा आफैँ खाना पकाउनु हुन्थ्यो, कुनै कुनै रात त घर नै
पनि आइन रे भनेर आमाले सुनाउनु भएको थियो । मैले त्यसलाई सानो कुरा भनेर
खासै महत्व दिइनँ ।
हामी सासुससुरा घरमा हुँदा बुहारी दिनभर घुमे पनि
बेलुकी ठीक समयमा नै घर आउँथी । तर अब केही दिनदेखि भने अबेला राती फर्किन
थालेकी छे । छोरा पनि उस्तै छ, राती दस बजेभन्दा अगाडि घर आउँदैन । अब त
अचाक्ली भयो । बुहारी अझै घर आएकी छैन । म छोरालाई उसको मोबाइल फोनमा भन्छु
‘बुहारी अझै घर आएकी छैन । तँ पनि आउदैनस्, नानीहरूको विजोग भयो ।’
‘बुहारी
माइती गएकी छे, भोलि मात्र आउँछे ।’ केहीबेर पछि छोराले फोनमै जवाफ दिन्छ ।
बुहारीसँग मोबाइल फोनमा कुरा गरेर जवाफ दिएको हो भन्ने म लख काट्छु ।
हामी
बुढाबुढीले के बोल्ने ? बुहारी छोराको खटनमा हुनुपर्ने हो । जब छोरालाई नै
बुहारीको चालचलन, गतिविधि र हिडाइडुलाइबारे चिन्ता छैन । बुहारी घरमा नभए
पनि नातिनातिनी, बुढी सासु (मेरी आमा) लाई भोकै राख्नु भएन । जीवनमा हार
खान नमान्ने, नजान्ने मेरी धर्मपत्नी बोजुले मलाई जीवनको सुख दुःखको दौडमा
साथ दिई र म यहाँसम्म यो अवस्थामा आइपुग्न सकेको छु । तिनकै साथ, सहयोग र
आडभरोसामा आफ्नो आस्था, विचार र विवेकको धरातलमा अडिन सकेको छु । तिनी
आजसम्म पनि विचलित भएकी छैनन्, सकीनसकी खाना पकाउछिन् । सासु, केटाकेटी र
मलाई खाना खुवाउछिन् र भन्छिन्, ‘यो बुढेसकालमा छोराबुहारीले पो हेर्छन्
भनेको त उल्टो आफूले पो उनीहरूलाई समेत हेर्नुपर्ने भयो ।’
‘के गर्छौ त ?
युग पूरै आधुनिक भएको छ । नारीहरू स्वतन्त्र भएका छन् । भातभान्सामा सीमित
अघिल्लो पुस्ताको तिमीजस्तै बुहारी हुन सक्तिन ।’ म मनभरि झुसिलो अमिलो
स्वादको अनुभूति गर्दै भन्छु ।
‘होइन, हाम्रो छोरा नै पानीमरुवा, लाछी,
जोइटिङ्ग्रे । स्वास्नीलाई तह लाउन नसक्ने । ऊ त काम गर्दैन, गर्दैन,
बुहारीलाई समेत बिगा¥यो । बुहारीलाई फेसन गर्न लगायो, तथाकथित आधुनिक
रहनसहनको अन्धा अनुयायी बनायो ।’
‘कसरी ?’
‘पोहोरदेखि नै बुहारी
बिग्रिन थालेकी हो । हामीले भनेका थियौँ, ‘काखको नानी सानो छ, त्यो काम
नलाग्ने तीन महिने, छ महिने व्यावसायिक तालिम गर्न नपठा ।’ तर उसले पठायो ।
आफ्नो आर्थिक हैसियतको वास्ता नगरी उल्टो आपूmसित भएको माखामुन्द्री मासेर
स्कुटर किनिदियो । जागिर छैन, आम्दानी छैन । किन स्कुटर चाहियो । अर्काले
हात्ती चढ्यो भनेर धुरी चढ्यो । ‘बाँदरलाई लिस्नु’ स्कुटर किनेपछि त कहिले
कहाँ, कहिले कहाँ ? घरमा दिनभर हुँदिनथी, हुँदिनथी, अब त राती पनि घर आउन
छाडी ।’
‘छोराले माइती गएकी छे भनेपछि कुरा सकियो ।’
‘छोरा त खेर गएको छ । स्वास्नीको फरियामा लुट्पुटिएर बस्छ । स्वास्नीले धोका दिइरहेकी पनि थाहा पाउदैन ।’
‘धोका नै त दिएकी छैन होला ।’
‘धोका
दिइ सकी । छिमेकीहरूले पनि उसलाई रेस्टुराँ र होटेलहरूमा निकै पल्ट
भेटेकादेखेका रहेछन् । मलाई त लाग्छ बुहारी केटाहरूसँग लागेकी छे । केटा
खेलाउँदै छे कि केटाहरूले खेलाइरहेका छन् । नत्र दिनभर कहाँ हराउछे,
नकच्चरी, बाइफाल्नी.... साँझमा मातेर पनि आउन थालेकी छे, इज्जत माटोमा
मिलाई ! बालक काखे छोराको पनि माया छैन, वास्ता छैन ।’
‘त्यसो भन्नु
हुँदैन ।’ म तिनको झ्वाँक अलिक मत्थर बनाउने हेतुले भन्छु, ‘नाति खेलाउन
पाएका छौँ, बुहारीलाई धन्यवाद दिनुपर्छ । नातिनातिनीहरू पाइ दिई ।
नातिनीहरू त हुर्कि सके भन्दा पनि भयो । नाति सानै छ त्यो पनि हुर्किन्छ ।
अरू हामीलाई के चाहियो ?’
‘यो बुढो ! छक्क पर्छु, अरु के चाहियो ? भन्नु
हुन्छ । के चाहिएको छैन ? बुहारी हो, उसले हाम्रो स्याहार सम्भार गर्नु
परेन ? बुढी आमालाई हेर्नु परेन । नातिनातिनीहरू हेर्नु परेन ? घर हेर्नु
परेन ? घर हेर्दिन भने पनि नाति त हेर्नु पर्ने हो । नाति मेरो भरमा छ ।
ठीकै छ म सन्च भएँ भने आफ्नो नाति हो जसरी पनि हेर्छु, हुर्काउँछु । त्यो
बजिनी पोइल नै जान्छे भने पनि नातिलाई अरुभन्दा घटी हुन दिन्नँ ।’
‘यही
तिम्रो साहसी आँटिलो बानी मनपर्छ । तर तिमी आफै बिरामि भइरहन्छ्यौ ।
बुढाबुढी हामी के गर्न सकौलाँ ? हामी नै पनि कति बाँच्छौँ र ? आज हो कि
भोलि ...।’
‘यो मान्छेको कुरा ! ‘मर्नुभन्दा अगाडि खुट्टा तन्काउनु’
हुँदैन । जहिलेसम्म बाँच्छौँ, बाँच्छौ, हामी बाचुन्जेल नातिनातिनाहरूले
टुहुरापन महसुस गर्न नपाऊन् । आज हो कि भोलि ...त्यसो भनेर धर पाइन्छ ?
जिम्मा आइ लागे पछि बिरामी भन्न पाइन्छ ? आफ्ना नातिनातिनाहरू हुन् टाउकाले
टेकेर पनि सक्नु प¥यो नि ।’
हो पनि, अब बुहारीको भर भएन । छोरा त
हाम्रो अगाडि चेब्रे पार्ने मात्र हो । बुहारीको वकालत गर्छ । घरको
ल्यान्डलाइन फोनमा समेत केटाहरूले बुहारीलाई फोन गर्न थालेका छन् ।
मोबाइलमा नै फेसबुक र नेट आइहाल्छ । नेट र फेसबुक ! हुन त म पनि नेट,
फेसबुक र त्यहाको साहित्यिक सञ्जालमा नरामर्री नै भुलिन्छु । सयौँ
साहित्यकारहरू त्यहा भेटेको छु । मलाई बुढेसकाल बिताउन कम्प्युटर उपयोगी
भएको छ । नयाँ कुरा र ज्ञानहरू नेटबाट सिक्न सकिने भए पनि फेसबुक, च्याट,
ट्वीटर, गेम, स्काइपआदि प्रोग्रामहरू आजभोलि केटाकेटी भुलाउने र बिगार्ने
साधन पनि बन्न गएका छन् । चौबिसै घण्टा मोबाइल फोन मुखमा झुन्डिएको हुन्छ,
मोबाइल हेरेको छ, छ । को कोसँग कुरा गरिरहेकी हुन्छे ? कति व्यस्त ! घरको
काममा ध्यान दिन छाडेकी छे, सधैँ उम्कने दाउमा हुन्छे । एउटा एउटा निहुँ
पा¥यो, घरबाट निस्केपछि बेपत्ता । बुढेसकाल ! हामी आफैँ साठी नाघेका
वृद्धहरू.... शरीरमा स्फूर्ति–तागत छैन, चिताएको काम कुरा गर्न सकिदैन ।
साना नानीहरू र सतासीको उमेरमा लाग्नु भएकी आमालाई कसरी स्याहार्ने होला ?
अब घर कसरी चल्ला ? हामी चिन्तित भइरहेका छौँ ।
‘अबेला घर आउने, मनपरि
गर्ने, छोराछोरी, सासुससुराको वास्ता नगर्ने, लोग्ने नटेर्ने कस्तो बुहारी
पाइएछ ?’ ‘कोसित पोखूँ मनको ताप’को स्थितिमा रहेका हामी चिन्ताको गहिरो
समुद्रमा डुबिरहेका हुन्छौँ ।
‘होइन, यो युग छिप्पिइ सकेको छ भोजभतेर,
‘गेट टुगेदर’, बर्थडे, डान्स पार्टि, अनेकौँ भेला, उत्सव ... आजका
बुहारीहरू हाम्रा पालाका जस्ता घरभित्र कोच्चिएर बस्न कहाँ मान्छन् र ?
हामीलाई हाम्रो बुहारीको बारेमा मात्र थाहा छ । जमाना फेरिएको छ । नयाँ
जमानाको हावा, सबै बुहारीहरूको चालामाला उस्तै होला नि, छिमेकका वृद्धहरूका
स्थिति पनि हाम्रै जस्तो होला भन्ने मलाई लाग्छ ।’ बोजु मेरो कुरामा ध्यान
दिनुभन्दा आफ्नै गुनासो सुनाउन बढी लालायित छिन् ।
‘घरभित्रका कुरा
बाहिरकालाई बढी थाहा हुन्छ । बुहारीले गन्ध चलाइ सकी । बदनाम हुनुभन्दा त
बरु विदेश जाओस् कि !.. छोराको लाटो रिस, कुटेर केही भयोभने झन् नराम्रो,
लाजमर्दो । सोधि हेरौँ, मानी भने त्यसै गरौँ ।’ असह्य मानसिक सन्ताप र
पीडामा छट्पटिएका हामी सल्लाह गर्छौ ।
‘तर नाति कसले हेर्छ ?’
‘घरमा बस्दा नै बुहारीले नाति कहाँ हेरेकी छे र ? दिनभर बाहिर बाहिरै, अब त राती पनि घर आउन छाडी । केही बोल्नु भएन ।’
वृद्ध
भएपछि छोरा बुहारीसँग पनि डराउनु पर्ने, लच्कनु–हच्कनु पर्ने ! जति बुढो
भइन्छ, सामथ्र्य, शक्ति, जाँगर शरीरमा घट्दै जान्छ तर मनमा भने झन् धेरै
मायामोह, ममता, लोभ र दायित्व बढ्दै जाँदो रहेछ, झन् बढी सांसारिकताले
छोप्दोरहेछ । एक जिउ हुँदा एउटा माया, अब त जति धेरै सन्तानहरू, छोराछोरी,
बुहारी, ज्वाइँ, भान्जाभान्जी, नातिनातिनी, नातेदारहरू बढ्दै गएका छन् ती
सबैको त्यति धेरै माया लाग्दो रहेछ, तिनीहरूको चिन्ता लाग्दो रहेछ ।
बुहारीको
पासपोर्ट बन्छ । बुहारी अलिक सप्रिएजस्ती हुन्छे । घरको काम पहिला जस्तै
गरिरहेकी हुन्छे । अब सुध्रिन्छे होला भन्ने आशामा उसलाई विदेश नपठाउने
छोरासँग हाम्रो सल्लाह हुन्छ । हाम्रो बुढेसकाल कसरी सुरक्षित रहला ?
छोराबुहारीले घर राम्ररी सम्भाली दिए हामी बुढाबुढी आफूले गर्न नभ्याइएका
कुराहरू उन्मुक्त भई बाँकी शेष जीवनमा गर्ने थियौँ । तर ‘बा¥ह छोरा ते¥ह
नाति ,बुढाको धोक्रो काँधै माथि ।’
मोन्टेसोरी प्लेग्रुपमा नातिलाई
पठाउने हतार छोराबुहारीको हुन्छ । हामीले नमान्दानमान्दै पनि नातिलाई स्कुल
पठाउन थालिएको हुन्छ । दिनभर स्कुल, स्कुलबाट घर आउनासाथ ‘आमा, आमा’
कराउदै सब कोठा चाहार्छ, आमालाई खोज्छ । बाबु खोज्छ । आमाबाबु दुवैलाई घरमा
नपाउदा नियास्रिएर बस्छ । निन्याउरो हुन्छ । बोजु हत्तपत्त गएर प्यारो
गर्दै नातिको स्कुल ड्रेस खोलि दिन्छिन् ।
नाति नियास्रो हुँदा
नातिभन्दा धेरै हामी नियासंो मान्छौँ । हामीलाई किन यस्तो भएको होला ? हामी
भन्न सक्तैनौँ । हाम्रा सपनाहरू जीवनमा अधुरा नै रहे । जे चाहेका थियौँ
त्यो पाइएन । जे खोजेका थियौँ, त्यो पनि पाइएन । ती अधुरा सपनाहरू
छोराछोरीहरूले पूरा गलानर््, सोचेका थियौँ । छोराछोरीहरूबाट पूरा भएनन्, अब
नातिमाथि हामीले हाम्रा अधुरा सपनाको भारी बिसाएका छौँ । हामी हाम्रो
क्षणभङ्गुर जीवन र सपनाको निरन्तरता नातिनातिनामा पाउछौँ । सपनाको निरन्तर
क्रमिकता !
सानो नानीका लागि आमाभन्दा प्यारो अरु केही हुन सक्तैन । आमा
चाहिने बेला पनि त्यही उमेरमा हो । सुनिन्छ विदेशका विकसित देशहरूमा जहाँ
आमाबाबु दुवै काममा व्यस्त हुन्छन्, नानीहरूलाई पनि सानैदेखि छुट्टै
सुताइन्छ, एक्लै बस्ने र बाँच्ने तौरतरीका सिकाइन्छ । त्यता अठार वर्षको
उमेरपछि छोराछोरीहरू आमाबाबुसित छुट्टिएर अलग बस्छन् । तर अझै हाम्रोमा
त्यस्तो चलन परिपाटी आइसकेको छैन ।
मैले एउटा सत्य कथा पढेको थिएँ ।
त्यस सत्य कथामा अमेरिका भन्ने देशमा बसेका छोराबुहारीले वृद्ध आमाबाबुलाई
उतै झिकाए । बुढेसकालमा छोराको आछापिछामा बाँच्नुपर्ने बाध्यता भएको हाम्रो
देशका तिनीहरू त्यता गए । छोराको जागिर अर्कै सहरमा र बुहारी पनि जागिरे ।
जेक्सन भन्ने त्यतैको मानिस छोराबुहारीको ‘पेइङ्ग गेस्ट’ भएर बसेका थिए ।
किनमेल गर्ने, खाना बनाउन बुहारीलाई सघाउने, केटाकेटीलाई स्कुल लाने,
लैजाने र अन्य घरको काममा उसले मद्दत गरिरहेको हुन्थ्यो । अरू त आमाबाबुलाई
ठीकै लागेको थियो तर बुहारी र जैक्सनको सम्बन्ध तिनीहरूलाई मन परिरहेको
थिएन । जेक्सन र बुहारी राती पनि सँगसँगै सुतेको देखेर आमालाई पर्नु पीर
प¥यो । सती साबीत्रीजस्तो पतिव्रता बुहारी हेर्न चाहने आमाबाबु ! छोरालाई
भन्दा ‘त्यो मामुलि घटना’ भनेर वास्तै गरेन । आमाबाबुले त्यसलाई सामान्य
रूपमा लिन सकेनन् । जीवनको अन्तिम कालखण्ड बुढेसकालमा त्यस देशको भिन्न
संस्कृति, प्रचलन, परिपाटि र जीवनशैली पचाउन र अपनाउन नसक्ने भएर तिनीहरू
दिक्क भएर आफ्नै मुलुक फर्किए ।
आजभोलि पुरानो संस्कृति, प्रचलन र
जीवनशैली सुस्तसुस्त विस्थापित हुँदै छ । नयाँ सोच र नयाँ परिपाटीको
आगमनसँगै हामी बुढाबुढी पुरानो संंकुचित सोच बोक्ने पुरानो पिँढी बन्न
थालेका छौँ । म गम्छु, जस्तोसुकै सभ्यता र युग आए पनि आमा र नानीको सम्बन्ध
त साश्वत हो । आमाको माया, ममता र प्रेमले नानीको जीवन सुखकर, सरस, सुमधुर
दिव्य र सुन्दर हुन्छ । सम्पूर्ण सांसारिक दुःख, कष्ट, झमेलाबाट रक्षा
गर्दै आफ्ना नानीहरूलाई जीवन र भविष्य दिने आमा होइन र ?
नानीको लागि
आमा सबैभन्दा ठूलो कुरो हो । आमा आफ्नो नानीको लागि सारा संंसारसित जुध्न
सक्छिन्, ज्यानको बाजी थापेर प्राणाहुति दिन सक्छिन्, सम्पूर्ण दुःखहरू
आफ्नो थाप्लोमा बोकेर नानीलाई जीवनको सारा सुख दिन्छिन् । यस्ता आमाको
त्याग र ममतामा पनि स्वार्थी आधुनिक रहनसहन, तडकभडक र चहकले ग्रहण लगाउन
थालेको हो कि ?!
आधुनिक जीवन पद्धत्ति, रहनसहनमा आमा पनि जागिरे छिन्
भने आफ्नै नानीहरूको लागि भनेर मुस्किलले प्राप्त हुने आफ्नो फुर्सद
त्याग्न चाहन्छिन् र ? आज त नानीहरू फ्याक्टरीबाट उत्पादन गरिने एकै
प्रकारका सामानहरूजस्ता भएका छन् । तीन वर्षकै उमेरदेखि प्लेग्रुप, नर्सरी,
के.जी.मा भर्ना गरिएका नानीहरू शिक्षिकाको निर्मम नियन्त्रणमा परिहाल्छन् ।
उनीहरूको पहिलो सिकाइ नै दबिएर बस्नु हुन्छ । शिक्षिकाको रूपमा डर, त्रास,
भय र आतङ्कसँग उनीहरूको पहिलो साक्षात्कार हुन्छ । उनीहरू स्वाभाविक वा
प्राकृतिक रूपले न हाँस्न सक्छन् र न रुन । डर, त्रास, भय र आतङ्कको
छायामुनि उनीहरूको स्वाभाविक विकास कसरी सम्भव हुन्छ ?
सब एक समान एक
प्रकारले सेनाजस्तो उर्दी मान्ने बालकहरू, परीक्षामा जसरी पनि उत्तिर्ण
हुनुपर्ने बाध्यता र मानसिकता बोकेका तिनीहरूलाई आमाको काखमा बसेर बालहठ
गर्ने फुर्सद कहाँ ? आमाबाबुलाई पनि डे केयर सेन्टर, मोन्टेसोरी र
स्कुलहरूलाई नानीहरू जिम्मा दिइसकेपछि आफ्ना नानीहरूको मानसिक स्थिति,
अवस्था र विकासबारे किन चासो राख्नु प¥यो र ? स्वाभाविक वास्तविक जीवनको
स्वाद लिन नपाउने आजको बाल पुस्ता !
मेरो नाति पनि अपवाद बन्न सक्तैन ।
‘नातिको स्वाभाविक विकास होस्, आमा र परिवारको भरपुर माया पाओस्’, हामी
बाजेबोजु चाहन्छौँ । तर हाम्रो चाहनाले मात्र के हुन्छ र ? बुहारी पनि
आधुनिक जीवन पद्धत्तिको अन्धाधुन्ध अनुकरण गर्न थालेकी छे । आजभोलिका
मान्छेहरू ! आफ्नो इच्छा, स्वार्थ, स्वअस्तित्व र पहिचान, निजी अहंतुष्टि,
निजत्व र निजी स्वतन्त्रतालाई नै सर्वोपरि ठान्छन् । अरुको लागि किन आफ्नो
इच्छा, चाहना, आनन्द, तुष्टी, आकाङ्छा र तृप्तिको तिलान्जलि दिने ? छोराकै
लागि भनेर आमाले किन आफ्नो सुख र आनन्दका क्षणहरू बर्बाद गर्ने ? बुहारी नै
आमाको माया मनग्गे रूपमा दिन तयार भएकी अवस्था छैन । त्यो देखेर हाम्रो मन
कुटुकुटु खान्छ । क्षतिपूर्तिस्वरूप आमाको माया नपाएको नातिलाई बाजेबोजुको
माया दिन तम्सन्छौँ, दिन्छौँ तर त्यो आमाको माया जस्तो कहाँ हुन्छ र ?
हामी फेरि पनि उदास नै हुन्छौँ ।
‘आजभोलिका आमाहरू के भएका होलान् ? साना नानी छोरा छोरीको माया छैन , वास्ता छैन । तरुनीजस्तो भएर दिनरात भौतारिन्छन् ।’
‘नारी
पनि पुरुष सरह स्वतन्त्र भएका छन् । आजको यान्त्रिक युग, पाइला पाइलामा
पैसा चाहिने । उठ्दा, सुत्दा, हिड्दा यहासम्म कि बोल्दा पनि पैसा खर्च
गर्नु पर्छ ।’
‘कसरी ?’
‘उठ्नु बित्तिकै चिया खाजा खानु प¥यो, चिया,
चिनी, दूध, खाजाको लागि पैसा चाहियो, हिडनु प¥यो, गाडि चढ्नै प¥यो , गाडि
भाडा चाहियो, बस्दा पनि पंखा चाहियो टि.भि., कम्प्युटर हेर्नु प¥यो, बिजुली
चाहियो । फोन, मोबाइलमा कुरा ग¥यो पैसा चाहियो, औषधि, खाना, लुगा, आवास,
आकाश, हावा, पानी, सबथोक, सबथोकहरूका लागि पैसा खर्च गर्नु प¥यो । पैसा
पलपल, पाइलापाइलामा चाहिने भएकैले हरपल मानिस पैसाकै पछि दौडिरहेको छ ।
उच्च जीवनस्तर सबैको चाहना भएको छ । एक पटक जीवनस्तर माथि उठे पछि तल झर्न
कोही राजी हुँदैन । आफ्नो जीवनस्तर यथावत कायम राख्न जे पनि गर्न तयार
हुन्छन् । एकजनाको कमाइले मात्र नपुग्ने भएर लोग्नेका साथसाथै स्वास्नीले
पनि कमाइ गर्नु पर्ने पारिवारिक बाध्यता भएको छ ।’
‘कमाइ गर्नुपर्छ भनेर आफ्ना नानीहरूलाई नै नहेर्नु ? यस्तो त भएन ।’
‘बाहिर हिडन थालेपछि महिलाहरू पनि थाकेर घर आएका हुन्छन् र नानीहरूलाई कम ध्यान दिन्छन् ।’
‘होइन,
जेजस्तो भने पनि बुहारीले हामीलाई नटेरीकी हो । मैले नातिलाई हेरेकी छु
भन्दैमा उसले घर, छोराछोरीहरू नहेरी बाहिर बाहिरै मोज गर्दै हिड्न मिल्छ ?’
‘मोज
होइन होला । एक पटक मान्छेको जीवनस्तर माथि उठेपछि तल झर्न मान्दैन ।
स्कुटरमा तेल हाल्नै प¥यो, आफ्नो फुरमासी खर्च धान्नै प¥यो, साथीभाइभन्दा
घटि देखिनु भएन, काम खोजीरहेकी होली ।’
हाम्रो दिनरात बुहारीको
क्रियाकलापले प्रभावित पारिरहेको छ अनुकूल भन्दा प्रतिकूल नै बढी ।
बोजुमाथि बुहारीले थामीरहेको कामको बोझ थपिएको छ । उसलाई सघाउनु पर्दा
ममाथि पनि केही थप कामहरू थपिएका छन् । जीवनभर गधाले जस्तै पारिवारिक बोझ
बोकियो । अहिले बुढेसकालमा जीवनभर अनुभूत गरेको अनुभव, शिक्षा र सिपहरूलाई
साहित्य लेखनमार्फत पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने मेरो मनसुवामा पनि
आघात पुग्न लागेको छ ।
‘आमा कहाँ जानु भयो ?’ ठूली नातिनी सोध्छे ।
‘मलाई के सोध्छेस ? आफै फोन गरेर सोध् न तेरी आमालाई ।’ बोजु जवाफ दिन्छिन् ।
‘अघिदेखि
गरिरहेको छु, ‘सम्पर्क हुन सकेन’, भन्छ ।’ ठूली नातिनी बोजुलाई केही मसिना
कामधन्दा सघाउन सक्ने भएकी छे । सानी नातिनी पनि काम सघाउन चाहन्छे दिदिले
जस्तै, तर ऊ अझै सानी नै छे । बोजुलाई केही वर्षपछिदेखि उनीहरूले पनि काम
सघाउने छन् भन्ने ठूलो आशा छ ।
बुहारी तीन दिनदेखि घर आएकी छैन ।
सोच्यौँ सधैंझैँ माइत गएकी छे । छोरा पनि घरबाहिर गएको थियो । आइपुगेपछि
बुहारीको सोधीखोजी गर्न थाल्छ । बुहारीको मोबाइल फोनमा सम्पर्क हुन्छ ।
हामी पनि उनीहरूको वार्तालाप सुन्छौँ ।
‘कहाँ छौ ?’ छोराको प्रश्न ।
‘एयरपोर्टमा ।’
‘कसरी, किन एयरपोर्टमा ?’
‘म विदेश जान लागेकी । एयरपोर्टभित्र ‘इन’ भइसकेँ ।’
‘मलाई किन भनेनौ ? सोधेनौ ?’
‘तपाईँले मान्नु हुन्नथ्यो ।’
‘एकवचन भन्नु त पथ्र्यो ।’
‘... ...नानीलाई राम्ररी हेर्नुहोला ।’
‘नानीको कुरा नगर । ठीकै छ ,जाने भइहाल्यो । बोक्रे रुवाइ बन्द गर । नरोई राम्ररी जाऊँ ।’
‘... ... ’
‘मलाई तिमीले कमाएको एक पैसा चाहिदैन । मलाई भनेकी भए म नै त्यहाँ बसेर तिमीलाई ‘सी अफ’ गर्ने थिएँ ।’
‘... ... ’
हामी
बाजेबोजुलाई पनि आश्चर्यको ४०००वाटको करेन्ट लाग्छ, मुच्र्छित हुन्छौँ कि
भन्ने डर लाग्छ । मुलुकभित्र रोजगारीका अवसर शून्य छ । मुलुकभित्रै यस्ता
अवसरहरू भए बुहारी पनि किन विदेश जान्थी ? कस्तो अचम्भ ? कस्तो यो आधुनिक
युगको विडम्बना ? काखको नानी छोडेर कसैसँग सल्लाह नै नगरी बुहारी विदेश जान
सक्छे । आमा हुँदाहुँदै नाति टुहुरो भएको छ, कसरी हुर्कला ?
आज मानिसको
आफ्नो मन र मुटु छैन । सम्पन्नताको चटकमटक, चहलपहल, कृत्रिमता र टलकले
मानिसको मन र मुटुलाई विस्थापित गरेको छ । सर्वोपरि निजी सुख, व्यक्तिगत
स्वतन्त्रता, आकाङ्क्षा, आत्मकेन्द्रित दृष्टि र आधुनिक सम्पन्नताको
स्वार्थकेन्द्रित अन्धाधुन्द दौडमा आमाको मन पनि आमाको मन रहन पाएन ! आमाको
मुटु आमाको रहेन !
मन भक्कानिएर आउँछ । बुहारी फर्केर आउछे या आउदिन,
त्यो अहिले नै भन्न सकिँदैन । आइ नै भने पनि धेरै वर्ष पछि आउली । उसको
काखमा बस्ने नातिको उमेर बितिसकेको हुनेछ । आमा र नानीको न्यानो सम्बन्ध
समयको निष्ठुरी हुरीले उडाएर बिलाइसकेको हुनेछ ।
आमाबाबु हुँदाहुँदै पनि टुहुरा जस्तै भएर हुर्किने नानीहरूजस्तै मेरो नाति पनि हुने भयो !
मनभित्र
आआफ्नो व्यथा कथा लुकाउँदा पनि आँखाबाट आँसु झर्न खोज्छ । जबर्जस्ती मन
थाम्दै आँखाको आँसु आँखामै लुकाएर हामी आमाबुबा र छोरा एकआपसमा हेराहेर
गर्छौँ ।
मधुपर्क पूर्णाङ्क – ५२७, २०७०, वैशाख
सरण राईको कथा हेर्न --
http://kathaasansaar.blogspot.com/
Sarankumar Rai Dai ! wow ! what a great lines,I really like it !