Saturday, December 14, 2024

सानो घटना ः ठूलो प्रभाव

 सानो घटना ः ठूलो प्रभाव
 
बैंकको पैसा लिने लाइनमा उभिरहेको छु । दुईजना सुन्दरी युवतीहरू मेरै पछाडि उभिएका छन् । खासखुस कुराकानी गर्छन् । मलाई नै केही भनेका हुन् कि भनेर सोध्छु— “के भन्नू भयो ?”
तिनले भनेको नबुझेर फेरि सोध्छु । कानछेउमै मुख ल्याएर सुन्दरी केटी सुस्तरी भन्छिन्— “स्वीटरको प्याटर्न नमुना हेर भनेर साथीलाई भनेको ।”
मैले मेरो दिवङ्गत पत्नीले हातले बुनेकी स्वीटर लगाएको छु । बुट्टा सुन्दर छन् । मेरो मन हर्षले गद्गद हुन्छ, गौरवानुभूति गर्छु पत्नीको सिपप्रति ।
तर अकस्मात मन हुडलिएर आउँछ स्वीटर बुन्ने पत्नी कहाँ छिन् र... पत्नीलाई बचाउन सबथोक गरेँ । आयु तिनको वशमा थिएन, छोडेर गइन् । माया तिनको वशमा थियो, दिएर गइन् । मायाले मिहिनत साथ तिनले बुनेकी स्वीटर अहिले पनि लगाईरहेको छु ।
तिनलाई बाँच्ने कति मन थियो तर मरीन् । भर्खरै १० कक्षामा पढ्दै गरेको १६वर्षका भतिजोले झु्ण्डिएर आत्महत्या गरेको सम्झदा मन एक तमासको भएर आउँछ । कसैलाई आयु धेर, कसैलाई केही दिन बाँच्न पाए...
सम्झन्छु सानो पीरले त मानिसले आत्महत्या रोज्दैन । म पो जीवनभर अनेकौं दुःख कष्ट भोगेर परिपक्व भएको छु । साना ठूला पीर पचाउन सक्ने भएर पनि कुनैकुनै पीर सहन मलाई पनि कति गाह्रो हुन्छ । टिनेजर, सानै पीर ठूलो लाग्यो होला ।
पीर... पीर ! आँखा टिलपिल हुन्छ तर सार्वजनिक स्थलमा आँसु झार्न भएन ।

No comments:

Post a Comment