Friday, December 6, 2024

फुली

 फुली


सरण राई

लकरमा राखेको सुनको  गहनाहरूमध्ये एउटा सानो  फुलीले मेरो सम्पूणर््ा मन र ध्यान खिच्छ ।
त्यो फुली देख्दा  हामी दुईको सम्पूणर््ा दाम्पत्य जीवनको सुखद दुःखद सबै दृश्य परिदृश्य आँखाअगाडि झल्झली देखा पर्छ । मानौंँ त्यो फुली हाम्रो जीवनको प्रेम प्रतीक, साक्षी, प्रमाण, प्रत्यक्षसहभागी–प्रत्यक्षदर्शी  भएको नाताले हामी दुईले भोगेको जीवनको रामकहानी सुनाइरहेको छ । सब दृश्य परिदृश्यहरू चलचित्रझैँ मेरो आँखा अगाडि देखाइरहेको छ ...
“म मरेपछि मेरा गहनाहरू आपूmसितै राख्नू, दुःख पाउनुभयो भने बेचेर खानू । मेरो नामको मधेसको जग्गा पनि आफ्नै नाममा राख्नू । मेरो मोबाइल सेट कसैलाई नदिनू, आफैसित राख्नू आदि आदि ...” रातभरि रुँदै जीवनको अन्तिम कालखण्डमा अविरल अश्रु–धारा चुहाउँदै तिनले भनेकी थिइन् । तिनकै इच्छा अनुसार तिनका गहनाहरू आफैसित राखेको छु । ती गहनाहरूमध्ये फुलीले नै किन मलाई आकर्षित गरेर  मन झस्काउदै रुवाउन थालेको छ ?!
    

टमक्क मिलेको जिउडाल, अबोध ग्रामीण बाला, लावण्यता र सुन्दरताले प्रदीप्त निर्दाेष श्रृङ्गारविहीन प्राकृतिक आकर्षक हसिलो दीप्तिमय अनुहार र काम ब्यायामले कस्सिएको छरितो कसरती शरीर । अर्कातिर फर्कदा टलक्क टल्किएको नाकको फुलीको इउँ जस्तै हाँस्दा मिलेको टल्किने सेता दन्तलहर । सोचेको, कल्पना गरेको भन्दा सुन्दरी तिनलाई पहिलो चोटि देख्दा नै हृदय झङ्कृत भई म मोहित भएको थिएँ ।
मैले बिहेको लागि केटी माग्ने कुरामा सहमति जनाएँ । प्रक्रिया थालियो तर केटीले नमाने पछि कुरा रोकियो । रात परिसकेकोले त्यस रात लमी र म तिनको छिमेकीको घरमा बास बस्यौँ । रक्सी  खाँदै गफ गर्दा र गीत गाउदै राती निकै अबेलासम्म बस्यौँ । केटी नमानेपछि अमिलो मन लिएर मैले पनि धेरै रक्सी खाएछु । “बिहानै उठेर कसैले नदेख्ने गरी जानु पर्छ ।” मैले भनेको थिएँ ।
लमीले पनि “हुन्छ” भनेका थिए । बिहान अबेला मात्र म बिउझेँ । हेर्छु लमी छैन । बाटोतिर हेर्दा तिनी नै हल्लीखल्ली गर्दै छिमेकीसँग कराएर बात मार्दै  गाग्रीमा पानी भरेर डोकोमा बोकेर फर्किरहेकी थिइन् । आँखा जुध्यो, मलाई रीस पनि उठ्यो, लाज पनि लाग्यो । सम्झेँ— ‘मसित बिहे गर्न मानिनन् । किन ?’
केही बेरपछि लमी पनि आइपुगे । “कुरो मिल्लाजस्तो छ, मगनी प्रक्रिया अगाडि बढाऔ ?” सोधे । मैले “हुन्छ” भनेँ ।
मगनी प्रक्रिया थालियो । त्यसै बीचमा तिनका पिताले छोरीलाई सोधे— “राजी छौ ?”
“राजी छु ।” तिनले भनिन् ।
त्यतिबेला म खुसी भएर थाहै नपाइ हाँसेछु  ।  बिहेपछि तिनले भन्दा पो हाँसेको कुरा थाहा पाएँ । यसरी तिनी मेरो जीवन सङ्गिनी भइन् । मेरी पत्नी भइसकेपछि मैले तिनलाई सोधेँ— “किन अघिल्लो दिन मानिनौ ?”
“कहिले नदेखेको मानिस, के कस्तो छ ? कसरी मान्नु ? पछि सोचेँ यत्तिको केटो ठिकै छ, अनि मानेँ नि ।” तिनको सिधा जवाफ । निश्छल, पवित्र र सफा मन तिनको । मेरो चित्त बुझ्यो । तिनी मेरो सर्वस्व भइन् ।
    

 बिहेमा बेहुलीलाई दिने सुनको गहनाबारे पारिवारिक छलफल भयो । घरपट्टिकाले र माइतीपट्टिकाले पनि सुनका गहनाहरू, पोते, चुरा, धागो र लुगाहरू बेहुलीलाई दिए । तिनको नाकमा रहेको सानो फुलीबारे माइती र घरपट्टिका कसैले छलफल गरेनन्, चासो राखेनन् ।
बिहे हुनुभन्दा अगाडि कन्या हुँदादेखि नै तिनले लगाइराखेकी फुलीबारे तिनी जीवित हुँदा मैले कुनै चासो राखिनँ र फुलीबारे कहिल्यै कुरा भएन । “कहिलेदेखि फुली लगाईरहेकी छ्यौ ?” भनेर कहिल्यै सोधिनँ । अब त कसलाई सोध्ने  र !  कुन उमेर कुन समयदेखि यो फुली तिनले लगाइन् ? फुली र तिनको जीवनको अविच्छिन्न घनिष्ठता कहिले देखि गाँसियो ? थाहा भएन ।
बिहे हुनुभन्दा अगाडि कन्या हुँदादेखि नै तिनले लगाइराखेको फुली नै बिहेमा बेहुली हुँदा पनि  तिनले लगाएकी थिइन्् । यसरी फुली बिहे अगाडिदेखि बिहेको दिन पनि र मृत्युपर्यन्त जीवनभर तिनको नाकमा नै रहिरह्यो ।


बिहे पछिका केही वर्षहरू स्वतः रमणीय हुन्छन् नै । मेरो निम्ति आफूलाई पूर्णतया समर्पित एक नारी मसँगै आफ्नो जीवन गाँसेर सुख दुःख भोग्न राजी भई मलाई सबथोक सर्वस्व सम्झी हरपल मसँगै रहने बस्ने  जीवन साथी छ भन्ने अनुभूतिबोधले म हर्षित गर्वित थिएँ । प्रेममा समर्पण थाहा नभएको मैले पहिलो चोटि प्रेम के हो ? कस्तो हुन्छ ? थाहा पाएको थिएँ । विपरित लिङ्गीबाट पाइने प्रेम मायामोह, असीम मानसिक र शारीरिक सुख तिनीबाट पाएर म प्रसन्न थिएँ ।  तिनी पनि प्रसन्न थिइन् । अपूर्व पूर्ण प्रेममा पूर्ण मिलनले हामी दुई एकआपसमा विलय भएका थियौँ । वर्षहरू बितेको पत्तै भएन । रमणीय दाम्पत्य जीवन ! मानिस यसरी सुखका दिनहरूमा सप्तरङ्गी रङ्गले रङ्गिएको प्रेमिल संसारमा भुलिदो रहेछ र आपूmलाई सर्वाधिक सुखी महूुस गर्दाेरहेछ ।
म आमाबाबुको एक्लो छोरो भएकोले सानैदेखि पुल्पुलाएर पालिएको र हुर्किएको स्वाभिमानी सोझो युवक थिएँ । विवाहपछि पनि तिनले मलाई आफ्नो सम्पूर्ण मायाप्रेम र साथ दिएर ४१ वर्ष अर्थात आफ्नो मृत्युपर्यन्त पुल्पुलाएर नै मायाले लपक्कै भिजाएरै सुखमा नै राखिन् । आनन्ददायक र प्रभावोत्पादक अपार यौवन सुख र जीवन सुख दिइन् । एउटी प्रेमिका र पत्नीले दिने सबै सुख, प्रेम, माया, मोह र साथ दिने तिनीजस्ती प्रेमिका–पत्नी पाएर मेरो जीवन सार्थक भएको थियो ।
तीनजना छोराहरू वर्षेनीजस्तै जन्मिए । तिनीहरूको जन्मले परिवारमा हषर््ाको वर्षा भयो । हाम्रो पारिवारिक जीवन सफल एवं पूर्ण भयो । तापनि  जहिले पनि पैसाको अभावले गरिबी जीवन । शिक्षकको थोरै तलव, घरखर्च चलाउन सरसापटी नलिई महिना काट्न धौ धौ । सम्पत्तिको अभाव भएपनि मायालु पत्नीको अगाध प्रेम, विश्वास, मनोहारिणी मुस्कुराहट र साथ पाएर म दाम्पत्य जीवनमा आइपरेका अनेकौं समस्या झेल्न सक्ने भएको थिएँ । तिनी र म ! हामी एकआपसमा घुलन विलयन भएर एकाकार भएका थियौँ । प्रेमले निथ्रुक्क भिजेका थियौँ, र भएका थियौँ अविरल जीवन प्रवाहमा बगिरहेको एउटा समय नदीको एउटै थोपा–थोप्लो.. ।

    

एउटी साली थिइन् हँसिली, फस्र्याइली र हक्की । भर्खर हाम्रो बिहे भएको बेला तिनले भनेकी थिइन्, “तीनजना नानीहरू बर्षेनी जन्माएँ र अहिले परिवार नियोजन गरेकी छु । अब त ढुक्क !” हामी तीनैजना मज्जाले हाँसेका थियौँ ।
साली गइसकेपछि तिनले भनिन्— “म पनि त्यसै गर्छु बहिनीले जस्तै ।”
“हुन्छ नि ।” मैले पनि सहमति जनाएको थिएँ ।
नभन्दै दुईजना छोराहरू १४महिनाको फरकमा जन्मिए । अर्काे पेटमा छ, महिना पुगेर जन्मने बेला हुँदै छ । त्यतिबेला धरानको घरमा हामी पति, पत्नी र साना छोराहरू बस्थ्यौँ । “अब तेस्रो नानी जन्मने बेला हुँदैछ, के गर्ने ?” तिनको प्रश्न ।
“ती साना छोराहरूलाई मधेसमा आमाबुबाकहाँ पु¥याएर बिराटनगर अस्पताल प्रसूतिको लागि जाने ।” हाम्रो सल्लाह बमोजिम बेलबारीसम्म बसमा गयौँ । त्यतिबेला मधेस जाने यातायातको केही साधन थिएन, हिड्नु बाहेक अरु उपाय थिएन । बेलबारीमा उत्रेर साना नानीहरू बोकेर झन्डै चार घन्टा हिडेर बोराबान पुग्यौँ । त्यो समय नै यस्तो थियो कि सबै जना पैदलै हिँडिरहेका हुन्थे ।  बाटामा मानिसहरू हेर्थे— २ वर्ष ८ महिनाको र १ वर्ष ६ महिनाको साना नानीहरू बोकेर ँिहडिरहेका हामी दुई, तिनको घ्याम्पाजत्रो भुडी । भोलिपल्ट बिहानै तीन घण्टा हिँडेर बिराटनगर पुग्यौँ । जस्तै संकट समस्या परे पनि हरेश नखाने साहसी  तिनी, सानो नानीहरू मधेस छोडेर अर्को नानी पाउन हिडेरै अस्पताल पुगिन् । बिराटनगर अस्पतालमा कान्छो छोराको जन्मले हाम्रो  खुसी पराकाष्ठामा पुगेको थियो ।  त्यो समय नै हाम्रो सर्वाधिक सुख, सन्तोष, सुख र आनन्दको समयावधि  थियो ।

    

पाँच वर्षमुनिका नानीहरू हुर्काउन झिसमिसे बिहानैदेखि राती अबेलासम्म खाना बनाउनु, नानीहरूलाई खुवाउनु, जुठोभाडा धुनु, पानी भर्नु, लुगा धुनु आदि अनेकौं कामहरू गर्दा पनि थकित नभई म कामबाट फर्कदा मोहक मृदु मुस्कानसाथ मलाई पर्खिरहेकी हुन्थिन् । तिनलाई भेट्नासाथ म यत्ति धेरै खुसी हुन्थे कि सबै अभाव, गरिबी र दुःख बिर्सन्थेँ । तिनी साथ भएपछि मसित सबथोक हुन्थ्यो । सांसारिक जीवनमा ‘प्रेम छ र प्रेम पाए’ त्यो भन्दा सर्वोत्कृष्ट सुन्दर अरु के होला र, चाहिएला ?! म भएपछि तिनलाई पनि अरु केही चाहिदैनथ्यो । तिनी सदैव घरको अनेकौं कामको बोझले थिचिएकी हुन्थिन् । म भने मिटिङ्ग छ भनेर उम्किएर तासको दुव्र्यसनमा भुलिन्थँे ।
तिनको ममाथि यत्ति धेरै विश्वास थियो कि म तलब थापेर जति दिन्थे, राख्थिन् र कष्टसाथ घरखर्च चलाउथिन् । म तास खेल्न केही रकम लुकाएर राख्थँे तर तिनले कहिल्यै शंका गरिनन् ।
त्यतिबेला भर्खर टेलिफोन आएको थियो ।  टोलमा हाम्रो घरमा मात्र टेलिफोन जडान गरिएको हुँनाले टेलिफोनको चर्को घन्टी आउनासाथ घरका  र छिमेकका सबैका कान ठाडा हुन्थे ।
“कस्को फोन ?” तिनी सोध्थिन् ।
“साथीको” भनेर म ढाट्थे । तर फेरि पटक पटक फोन बारम्बार आएको आएकै भएपछि सत्य कुरा बताएँ । तास खेल्दा लिएको सापटी ऋण रकम निकै धेरै भएको थियो ऋण दिने मान्छेको ताकेता टेलिफोनमा आइरहेको हुन्थ्यो ।
“तास खेल्दा लिएको सापटी ऋणको ताकेता फोनमा गरिरहन्छ ।”
“कति छ ?”
रकम मैले बताएँ ।
“अब तास खेल्न छाड्नुहुन्छ भने मेरो गहना धितो राखेर त्यो ऋण तिरीदिन्छु ।” तिनले भनिन् ।
ऋण दिने मान्छेको रातदिनको ताकेता र कचकच,  बेइज्जत नै गर्ला, होलाजस्तो भइसकेको थियो । मैले “छाड्छु” भनेँ । तिनले गहना धितो राखेर ऋण तिरिदिइन् । तासे व्यसनबाट म मुक्त भएँ । त्यसपछि तासे समय अध्ययनप्रति केन्द्रित भयो ।
तिनले रिसाएर झर्किफर्कि गरेकी भए  सायद म तास खेल्न छाड्दिनँ थिएँ होला । तर तिनको मायालु व्यवहार र मेरो समस्याबाट झन् धेरै पिरोलिएर ऋण तिरिदिइसकेपछि फेरि मैले तास खेलिरहन सकिनँ ।

    

तास छोडेपछि ममाथि अर्को नराम्रो रक्सी खाने लत बस्यो । दिनभर काममा व्यस्त तर साँझ परेपछि कुनै न कुनै साथीसँग रक्सी खाइएकै हुन्थ्यो । पाहुनाहरू आइरहने र पाहुनालाई रक्सी दिने चलनले गर्दा घरमा पनि तिनी रक्सी पार्थिन्  । पाहुनाहरूलाई रक्सी खुवाइएन भने पाहुनालाई पनि र आफूलाई पनि खल्लो लाग्थ्यो । बाहिर रक्सी मातुन्जेल खाएर आए पनि घरमा आइसकेपछि अलिकति रक्सी नखाइ हुँदैनथ्यो । तन्नेरी भएकोले रक्सी पचिरहेको थियो । तर एक पटक पाहुनाहरूसँग  अबेला रातीसम्म रक्सी र मासु खाएर सुतेँ ।
राती निन्द्रामै जोडले कराएर छारे रोग लाग्दाझैँ आँखा पल्टाएर बेहोस भएँछु । तिनी पनि तरुनी नै भएकाले बलियी थिइन् । उचाल्दै झक्झकाउदै बेहोस मलाई हात खुट्टा जिउ मालिस गरिन् रे । घरमा साना बालक छोराहरू मात्र थिए । मद्दत गर्ने  ठूलो मानिस कोही थिएन । आधा घन्टापछि मात्र मलाई होस आयो रे । बिहान तिनले यी कुराहरू भनिन् । मलाई रातीको त्यो घटना केही थाहा थिएन । तिनको मद्दत नपाएको भए म निद्रामै गइसकेको हुन्थे होला ।
बिहानै डाक्टरकहाँ गयौँ । डाक्टरले सिलगढीको डाक्टरकहाँ जान रेफर गरिदिए । सिटिस्क्यानको रिपोर्ट हेरेर डाक्टरले दिमागमा सिस्ट भएको कुरा बताए । उच्च रक्तचापको दबाइ तुरुन्त सुरु गरे ।  एम.आर.आई. गरिसकेपछि  त्यसको रिपोर्ट हेरेर भने— “एक महिना औषधि खाने, औषधिले निको भएन भनै अपरेसन गर्नुपर्छ ।”
शिक्षकको थोरै तलब, जहिले पैसाको अभाव । म मधेसमा बसिरहनु भएको आमा बुबासँग मद्दत माग्न त्यता गएँ । आमालाई सबै बताएँ । आमाले असमर्थता जनाउनु भएपछि निराश हतास भएर त्यसै दिन धरान फकिएँ ।
“नआत्तिनु, काजी । म मेरा गहनाहरू बेचेर भए पनि तपाईँलाई निको पार्छु । तपाईँ भए मलाई अरु केही चाहिदैन ।” तिनले भनिन् । तिनको मायालु ढाडस र त्यागले म द्रवित भएँ ।
भोलिपल्ट  बुबा आउनु भयो । मेरो ओइलिसकेको मन आशावती भयो– उपचार खर्च दिनु हुन्छ कि !

“जन्मदा नै मर्ने कबोल गरेर जन्मिएका हुन्छौँ, मनमा पीर नगर् । नआत्ति ! सबैले मर्नै पर्छ ।” बुबाले भन्नु भयो । मेरो आशामा तुषारापात भयो । आमाबुबाले मलाई माया मारिसकेका रहेछन् । एक्लो छोरा अब बाँच्तैन भन्ने सोचेका रहेछन् । त्यति भनेर बुबा फर्किनु भयो ।
तिनले नै गहनाहरू धितो राखेर खर्चको व्यवस्था मिलाइन् । त्यति बेला मेरो बोली समेत लठेब्रो भएको थियो । मृत्युको भय र जीवनको अवसानबोधले खिन्न मन, बाँच्न पाए हुन्थ्यो भन्ने सोचिरहेको मनले सहारा खोजिरहेको अवस्था । मृत्युबोध कति कष्टकर हुन्छ ? त्यतिबेला मैले थाहा पाएको थिएँ । औषधिले नै निको भएँ, अपरेसन गर्नु परेन । पत्नी नै भए पनि मलाई तिनले नै त्यतिबेला बचाएकी हुँनाले म झन् तिनको नजिक भएर तिनीसँग अन्तरघुलित एकाकार एक प्राण हुन पुगेँ । मेरो सारा जीवन र प्राण तिनकै लागि हो र हामी एकअर्काका लागि जन्मेका र एकअर्काका सर्वस्व हौँ भन्ने लाग्न थाल्यो । एकसाथ भोगेको सुखदुःखले हामी दुईलाई पूर्णतया एक एउटा ‘कण वा बिन्द’ु बनाइ दियो कि एक अर्का बिनाको एक्लो अस्तित्व कल्पनै गर्न नसक्ने भयौँ ।
जीवनमा यस्ता किसिमका घटनाहरू बिरामी, दुर्घटना, झैझगडा, मुद्दा मामिला, जन्म, न्वारान, छेवर, पास्नी, विवाह, मृत्यु, मृत्यु संस्कार आदि यस्ता कति घटना परिघटना उतार चढाव साना ठूला सुख दुःख एक साथ भोग्यौँ, बेहो¥यँौ ।
 मेरो सुखमा म भन्दा दोब्बर खुशी र  मेरो दुःखमा म भन्दा दोब्बर दुःखी हुन्थिन् तिनी । तर एक पटक तिनी दुई तीन दिन बस्ने हिसाबले देउरानीलाई पनि साथमा लगेर माइत गएकी थिइन् । हाम्रो विवाहपछि ससुराले कान्छी बिहे गरेका थिए । बेलुकी के कुरामा विवाद भयो ? भनाभन भयो र पिताको हातबाट बिहे भइसकेकी तिनले कुटाइ खाएछिन् । भोलि नै फर्केर आइन् र राती मलाई रुँदै सुनाइन् । रिस, क्षोभ र वेदनाले म यति द्रवित भएँ । सोचेँ— ससुराले बिहे भएर मेरी भइसकेकी छोरीलाई एक दिन माइत आएको बेला कु्ट्न हुँदैनथ्यो  ! त्यो रात ढाडस दिँदै मनभित्र उठेको आक्रोशलाई प्रेममायामा परिणत गरेर तिनलाई लपक्कै भिजाएर त्यो घटना बिर्सन लगाएँ । यो घटना पछि माइत जाने क्रम पनि कम भयो । हामी झन् नजिक भएर नछुट्टिने गरी एकअर्कामा पूर्ण समर्पित  हुन थाल्यौँ ।
 यस्ता  क्षणहरू कति आए, गए  जुन सम्झनाको तरेलीमा सञ्चित भएर रहेका छन् । सम्झिइनका लागि उपयुक्त अवसर पर्खेर बसेका छन् । यी सबैको साक्षी सदैव तिनको नाकमा रहेको त्यो फुली थियो र ...फुली देख्दा अहिले विकल एक्लो म ती सब सम्झिरहेको छु ।
कुनै बेला आधा रातमा  वा रात विरात तिनको सम्झना आएर मुटु चरक्क चिरिन्छ, उठेर बस्छु र एकोहोरिन्छु  तर एकल जीवन ... “काजी,के भयो ?” सोध्ने तिनी कहाँ छिन् र !

    

 बिद्यार्थी कालमा काठमाडौंमा पढ्दा एकजना विवाहित साथीले उनको पत्नीको लागि हिराको फुली किन्न मलाई पसलमा साथी लगेका थिए । त्यतिबेला ४०० रूपियामा उनले हिराको फुली किनेका थिए । त्यतिबेला होटलहरूले महिनावारी खाना  १०० रूपियामा खुवाउथे  । त्यो पसल सम्झदा मैले तिनलाई भनेको थिएँ— “म तिमीलाई हिराको फुली किनी दिन्छु ।”
“हुन्छ नि !” तिनले प्रसन्न भएर भनेकी थिइन् ।
मैले सोचेको थिएँ— पहिला साथीले हिराको फुली किनेको पसल अहिले पनि होला । त्यतिबेला ४००पर्ने हिराको फुली  अहिले बढि परे ४०००रूपिया पर्ला । पैसाको जोहो गरेर हामी पति पत्नी त्यो पसल भएको ठाउँ पुग्यौँ । के को त्यो पसल हुनु नि ! त्यो पसल थिएन । अन्त हिराको फुली पाइने पसल खोज्यौँ, भेटिएन । हिराको फुली किन्ने कुरा सधैंको लागि सेलायो ।
 हिराको फुलीले तिनले लगाइराखेको फुली विस्थापित गर्ने कुरा हरायो । सधंै लगाइरहेकी फुली नै मृत्युपर्यन्त लगाइरहिन् ।


संकट जब आउँछ, हुरी भएरै आउँदो रहेछ । छोराहरूको स्कूल फिस, ड्रेस, औषधि, टेलिफोन महसुल, बिजुली, पानी आदि अनेकौ खर्च ।  धानीसक्नु थिएन । त्यसमाथि परिवारको कोही बिरामी भए सुन धितो राखेर उपचार गर्नुपर्ने बाध्यता । सिक्री, मङ्गलसूत्र, अांंैठी चुरा आदि फुली बाहेक सबै सुनका गहनाहरू धितो राखि सकेका थियौँ । उकास्न नसकेर पच भयो ।   बेच्न माया लागेर धितो राखेका थियौँ । ‘पैसा भएपछि उकासौंला’ भन्दा भन्दै सावा ब्याज दोब्बर तेब्बर भएर उकास्नै सकिएन ।
बिचरी तिनको नाक कान बुच्चै । गरिब शिक्षकको पत्नी ! बिहाका निम्तोहरू आउँथे, जान मान्दिनथिन् । धेरै विवाहमा नगएपछि सोचेँ— ‘किन जान मान्दिनन् ।’ बिहेमा आईमाईहरू सुनले पहेलै भएर आउँथे । साथीसङ्गीको अगाडि लाजमर्दाे भइएला भनेर  बिहेमा जान मान्दिनथिन् । लाहुरे भाइ छुट्टिमा आउँदा गहना किन्दिन्थे । अर्को पटक आउँदा दिदीको नाक कान बुच्चै ।
सधैंभरि पैसाको अभाव, गहना छैन । रुखोसुखो जिन्दगी भएपनि तिनले मसित ‘गहना किन्दिएनौ, भएको गहना सिद्धियो अनि  कहिल्यै पैसा कमाउन सकेनौ ।’ भनेर गुनासो गरिनन् । बिहानदेखि राती अबेलासम्म घर खर्च चलाउन अनेकौं दुःख गरिन् । साहूको ऊन ल्याएर ज्यालामा स्वेटर बुनिन् । जङ्गलबाट दाउरा बोकेर ल्याई दाउराको खर्च जोगाइन् । कुखुरा पालन, भैंसीपालन, बिडी फैक्टरी, गार्मेन्ट, ब्याग फेक्टरी के चाहिँ गरिनन् ? कडा परिश्रम गरिन्, परिवारका लागि धेरै त्याग गरीन् तर समयले साथ दिएन । तर पनि हामीले कहिल्यै हिम्मत हारेनौँ । हामी दुवैजना  हुँदा स्वास्थ रहुन्जेल कहिल्यै दुःखी भएनौँ । तिनी भए मेरो रमाइलो संसार हुन्थ्यो, म भए तिनको रमणीय दुनियाँ ।
हामी बीच पैसाको अभाव  भए पनि मायाप्रेम, विश्वास र साथको अभाव थिएन । हरेक आर्थिक समस्याहरू हाँसीहाँसी झेलिरहेका थियौँ । आमाबुबा, म र पत्नी, छोराहरू, बुहारीहरू, पछि नातिनातिनीहरू हाम्रो सुखी परिवार ! तिनी हुँदाका मेरा सुखद दिनहरू... ।
मभन्दा अगाडिदेखि नै र म तिनीसँग हुँदा पनि र नहुँदा पनि  फुली सदैव तिनको नाकमा रहेको थियो । तिनले एक्लै र हामी दुईले सँगसँगै भोगेका सुखदुःखका साक्षी प्रत्यक्षदर्शी भएर त्यो सानो फुली मेरो अगाडि देखा पर्छ र मलाई विगतको सम्झनामा उडाएर लैजान्छ, पु¥याउँछ ।


२०१५ सालको आम निर्वाचनमा पराजित भएपनि राजनीतिमा पिताज्यू सक्रिय नै हुनुहुन्थ्यो  । तर २०१७ सालमा राजाले संसद विघटन गरेर बहुदलीय व्यवस्थाको अन्त भएको घोषणासँगै दलहरू प्रतिबन्धित भए ।
त्यसपछि भने पहाड छोडेर पिताज्यू पनि  मधेस झर्नु भयो । नयाँ खुलेको झोडामा झोडा आवाद गर्न थाल्नु भयो । सौभाग्यवश  आवाद गरेको झोडा जग्गाको धनिपुर्जा पिता र मेरो नाममा दर्ता भयो । हामी दस बिघा जग्गाको मालिक भयौँ ।
त्यो समयमा राजमार्ग बनेको थिएन । बर्खामा जताततै हिलो, पानी, कच्ची बाटो हिड्दा हातमा चप्पल जुत्ता बोकेर खाली खुट्टा हिड्नु पथ्र्यो । बनिया र हुनेखानेहरू घोडा चढेर हिड्थे । देहातमा घोडा एक मात्र यातायातको साधन थियो । पिताले पनि घोडा किन्नु भएको थियो ।  पूर्वपश्चिम राजमार्ग, सडक, बाटोघाटो बनियो । साइकल आयो । साइकलले घोडालाई विस्थापित ग¥यो । घोडा हरायो ।
पिताज्यूले पनि साइकल चढ्न थाल्नु भयो ।  जीवनभर साइकल चढ्दाचढ्दा ७६ वर्षको उमेरमा मोटर साइकल चढ्ने रहर गर्नु भयो । मोटर साइकल किन्नु भयो र सो सिक्ने क्रममा नै मोटरसाइकल दुर्घटनामा उहाँको देहान्त भयो ।
पिताज्यूको देहान्तपछि मधेसको खेती हेरेर आमा एक्लै बस्न थाल्नु भयो । धरानमा हामीसँगै बसौँ भन्दा मानिरहनु भएको थिएन । छोराहरूले एस.एल.सि. उत्तिर्ण गरे । हाम्रो खुसीको सीमा रहेन । माइला र कान्छा छोरा आइ.ए.मा नै अड्किए । पढाउनेको छोराहरूले   पढ्न नै छाडे ।
 पढाइ छोड्नको कारण लागू पदार्थ रहेछ । लागू पदार्थको कुलतमा फसेको  हामीले थाहा पाउँदा ढिलो भइसकेको थियो । आमाले भन्नु भयो— “एउटा अन्डा बिग्रियो, फालिदेऊ ।” बहिनीहरूले छिःछिःदुरदुर गरे  । आफन्तहरूले नाकमुख खुम्चाए, खिशीट्युरी गरे । “नआत्तिनु माइजू, एक दिन सप्रिने छन् ।” भन्ने भान्जे ज्वाइँको भनाइले  भने तिनले प्रेरणा प्राप्त भएको कुरा जीवनभर सम्झिरहिन् ।
लागू पदार्थको दुव्र्यसनमा परिवारको एक जना मात्र फस्यो भने  परिवारको अवस्था कति दयनीय करुण हुन्छ ? भुक्त भोगी भइयो । धरको सामान हराउँछ, गोजीको पैसा हराउँछ । घरमा पाहुनाहरू  आए भने थरथरी, कतिखेर पाहुनाको सामान हराउने हो ? र, लाजमर्दो भइएला । घरभित्र त अशान्ति फैलन्छ नै मनभित्र पनि अशान्ति, पीडा, क्षोभ र निराशा व्यप्त हुन्छ कि  सम्झन बाध्य भइन्छ— ‘सपना सबै उडायो हुरीले ।’
जति नै बिगे्र पनि र जेसुकै भए पनि मुटुभन्दा प्यारा छोराहरू... उनीहरूको उपद्रो बदमासी सहनै प¥यो, खप्नै प¥यो । आमाको विश्वास र मन । ऋण सापटी खोजेर सुधार केन्द्र लग्यौँ । हिम्मती तिनी, तिनले छोराहरूलाई सुधार्न के चाहिँ गरिनन् ? तिनको परिश्रम, विश्वास, कर्मठता र  लगनले बिग्रेका छोराहरू सुध्रिए ।
ती बिग्रेका छोराहरूले नै तिनलाई तिनको अन्तिम कालखण्डमा स्याहारे, सेवा शुश्रुषा गरे, धन्य तिनी !
तिनको लाश संस्कार्नु भन्दा अगाडि  लाश रुङिरहेका ती दुई भाइ छोराहरूलाई मैले भनेको थिएँ— “बिग्रेका तिमीहरूलाई सुधारेर नै तिमीहरूका आमा मरिन् ।”
जिउँदाले झैँ लासले सुन्ने कुरा भएन । तर त्यतिबेलासम्म तिनको लाशको नाकमा नै फुली रहेको  थियो र मैले भनेको त्यो कुरा फुली देख्दा सम्झना भएर आउछ ।

जेठो छोरो राम्ररी नै पढिरहेको थियो । माइलो र कान्छो छोराहरू बिग्रेर सप्रिए पछि पनि हाम्रो आर्थिक अवस्था सुध्रेन, नाजुक भयो । ऋणमा चुर्लुम्म डुबेका थियौँ । पिताको देहान्त पछि पनि आमा एक्लै मधेसको खेती हेरेर बसिरहनु भएको थियो ।
ऋणबाट उक्सन किस्ता ऋणैमा टेक्ट्रर किनेर म, पत्नी र दुई जना छोराहरू मधेसमा खेती गर्न गएका थियौँ । टेक्ट्ररले आफ्नो दस बिघा जग्गामा खेती गरेर ऋण तिर्न सकिएला कि भन्ने आशा  थियो ।
“तिमीहरू खेती गरेर मधेस बस्छौभने म घर छाेंडेर हिड्छु, घरै बस्तिनँ ।” आमाले भन्नु भयो साथै  घर छोडेर माइतीतिर जानु भयो ।  पत्नी र मैले आमाको चित्त दुखाएर खेती नगर्ने र मधेस पनि नबस्ने भनेर सल्लाह ग¥यौँ । नयाँ टेक्ट्ररले हामीलाई केही काम दिएन ।
तिनी धरान पर्सिपल्ट नै फर्किइन् । म बेलबारीसम्म पु¥याउन गएँ, तिनले “चिया खाएर छुट्टियौँ ।” भनिन् ।
मैले भनेँ “मसित पैसा छैन ।”
“मसित छ ।” भनिन् र चिया खाएर तिनी धरान गइन् । म बोराबान फर्किएँ विछोडकोे नमीठो गाँठो मनमा लिएर । त्यो कुरा अझै झलझली सम्झन्छु । त्यतिबेला छुट्टिए जस्तो  मृत्युमा  कहाँ छुट्टिन पाइदो रहेछ ! केही दिनपछिको त्यसपालीको मेरो जन्मदिन तिनी साथमा नहुँदा मलाई अति फिका अनुभव भएको थियो  । अब त मेरा सबै दिनहरू तिनको अभावमा फिका फिका नै हुन गएका छन् ।
पिता जीवित हुँदा नै ७ बिघामा उखु खेती गर्ने भनेर ऋण स्वीकृत गराएका थियौँ । पछि  ४ बिघामा मात्र खेती लगाएको भनेर पूरा स्वीकृत ऋण रकम पनि लिन पाइएन । उखु खेतीमा  पनि सफल हुन सकिएन । सम्पत्ति भएर पनि त्यो सम्पत्ति आफ्नो चाहना मुताविक कहिल्यै प्रयोग गर्न पाइएन ।
दाम्पत्य जीवन सधैै एकनासको कहाँ हुन्छ र ? सुख दुःखले लपेटिएको हुन्छ । प्रेममाया पनि डाह, घृणा, इष्र्या र अवहेलनाभित्र अवस्थित हुन्छ । अलिकति तल माथि प¥यो कि प्रेम घृणामा रूपान्तरित हुन सक्छ । हामी दुईका दाम्पत्य प्रेममा पनि त्यस्ता कैयौ उतार चढाव आयो गयो । कैयौ घटना परिघटनाहरूले प्रेमको जाँच लिए पनि तिनको मृत्युपर्यन्त  हामी बीचको मायापिरती अविचल गाढा रह्यो ।
सबैको दाम्पत्य जीवनमा घटने अनेकौ आरोह अवरोह हाम्रो जीवनमा पनि नहुने कुरा थिएन ।  प्रेममा आँखी डाही पनि थियो भन्ने कुरा एउटा सानो परिघटनाले पुष्टि ग¥यो । सुन्दरी भएकैले तिनलाई सबैले मन पराउथे । कतै मलाई धोका त दिन्नन् ? शङ्काको उद्वेगमा एक पटक मैले कुटपिट गरेँ, कत्तीले काट्न खोजेँ । चुपचाप लागेर हेरिरहिन्, केही जवाफ फर्काइनन् । कत्ती फालेर घर छोेडी हिडेँ । दुई दिनपछि फर्कदा तिनको ओठ सुनिएको थियो । तर मेरा लागि भनेर केराको विशुद्ध रक्सी पारेर राखेकी थिइन् । पहिला पनि असोजको फूल, अमला, किम्बुको स्वादिलो रक्सी पारेर खुवाइसकेकी थिइन् । केराको रक्सी खान दिइन्, लज्जाले मेरो शिर झुक्यो । मैले कुटपिट गर्नुको भित्री कारण आँखीडाही थियो । कत्तीले काट्न खोजे जस्तो गरेको तिनलाई डर देखाएर तर्साएर तह लगाउनु थियो । अनाहक कुटपिट गरेकोमा म लज्जित थिएँ । माफ माग्नै परेन । माफ दिइन् र हाम्रो दाम्पत्य प्रेम झन् प्रगाढ भएर आयो । हामी बीचको अदृश्य भित्री प्रेम अविरल तडकारो प्रज्ज्वलित गाढा भएर सतहमा पनि देखिने भयो । एउटा रेडियो कार्यक्रममा ‘कुटपिट गर्ने पतिलाई पत्नीहरूले बढि माया गर्छन् ।’ भन्ने सुनेको कुरा हो कि जस्तै लाग्यो । त्यसपछि कहिल्यै त्यस्तो कुटपिटको घटना दोहोरिएन । तिनले त्यो घटनाबारे त्यसपछि कहिल्यै कुरा गरिनन् । प्रसङ्ग नआए पछि वास्तवमा त्यो बेला म आपूm नरिसाएको तर नाटक मात्र गरेको भनेर मैले पुष्टि गर्ने मौका कहिल्यै पाइनँ । कैयौ कुराहरू मैले भन्नु थियो तर भनिनँ । म कसरी अत्यन्त विचलित भएको बेला मन बाँध्छु भन्ने मेरो आफ्नो तरिका तिनलाई नसिकाएकोमा अहिलेसम्म पछुतो लाग्छ । अब त भन्न सिकाउन कहाँ पाउनु र !
सबैको दाम्पत्य जीवनमा घटने यस्ता कुराहरू हाम्रो जीवनमा पनि नहुने कुरा थिएन ।  एक अर्कामाथिको विश्वास र दरिलो माया मोहले सबै पचाइयो जसको साक्षी फुली भएको छ ।
धरानमा आम्दानी हुने अनेकौ मसिना कामहरू गरेर घर खर्च चलाउन तिनले निकै परिश्रम गरिन् । घर भान्सा, चुला चौका, कुन तरकारी पकाउने ? कसरी परिवारमा सुख सन्तोष कायम राख्ने ? आदि समस्यामा नै आम गृहिणीहरूको जस्तै तिनको जिन्दगी बित्यो !  मधुुमेह रोगले चाप्दै लगेर तिनको मृगौला बिग्रेर डायलाइसिस गर्दागर्दै तिनको प्राणान्त भयो । मिहिनती तिनी खेती गर्न पाएको भए खेतीमा हुने व्यायामले गर्दा मधुमेहले त्यति छिट्टै च्याप्न सक्तैनथ्यो कि ! छिमेकी मेरो दौतरी कान्छा कान्छी  खेतीमा अझै बाँचिरहेको देख्दा कतै तिनी पनि बाँचिरहेकी हुन्थिन् कि— कल्पिन्छु । तर अब कल्पिनुको कुनै तुक छैन ।

“तिमीलाई ताजमहल घुमाउन लैजान्छु ।” नजिकको ताजमहलसम्म चाहिँ लैजान सक्छु भन्ने आँटले मैले पत्नीलाई भनेको थिएँ ।
“म जन्मेको हाम्रो पुर्खौली गाउँ लैजान्छु ।” भनेको थिएँ, तर समय कहिल्यै अनुकुल भएन ।
पत्नीलाई मधुमेह भएको पनि धेरै वषर््ा भएसकेको थियो ।  मधुमेहले आफ्नो शक्ति देखाउन थालेको हुन्छ, युरिनरि इन्फेक्सन निको भएर फेरि बल्झिरहने, ज्वरो आउने, उल्टि आउने र कमजोरी हुने अनेक लक्षणहरू । क्रिटेनाइन बढ्न थालेको थियो ।
समयमा दिसा पिसाब नहुने, खाना नरुच्ने र अनेक शारीरिक समस्याहरू  देखा परेपछि स्थानीय अस्पताल गयौँ । हिडेर नै म र तिनी गएका थियौँ । अस्पताल भर्ती भएर दुई दिन बसे पछि  उठ्नै नसक्ने बेहोसजस्तो तिनको अवस्था भयो । बेहोसीको जस्तो अवस्थामा नै काठमाडौं लग्यौँ ।
प्राइभेट अस्पतालको पहिलो प्रतिक्रिया थियो— “कस्तो अस्पताल हो ? दिसापिसाब त गराउन सक्थ्यो ।”
तिनको भुडी फुलेर डमडम्ती भएको थियो, हातगोडा पनि सुनिएका थिए । खाना खान छाडेकी थिइन् र बेहोसजस्तै थिइन् ।  अस्पतालले डुस दिएर दिशापिसाब गरायो । “कस्तो भयो ?” भनेर दिदीले सोध्दा “हाइसन्चो भो ।” तिनले भनिन् ।
दुई हप्ता अस्पताल बसे पछि डिस्चार्ज भयो । पुरै निको नभइन्जेल सालोको घरमा बस्ने भयौँ ।  बहिनी र भाउजू भेट्न आएका थिए । दिउँसो शनिबार ११ बजेतिर महाभूकम्प आउन थाल्यो ।  नानीलाई कोक्रोमा हल्लाएझै दोस्रो तलामा बसेको हामीलाई हल्लाको हल्लाकै छ । उठेर भाग्न सकिने अवस्था थिएन ।  अहिले रोकिएला, थामिएला, अहिले रोकिएला भन्दै एकआपसमा हात समातासमात गरेर बसिरह्यौँ । बल्ल बल्ल रोकियो । सालीहरू आएर तिनलाई झ्याइकुटी पार्दै भुइँमा झारे । खुला आकाशमुनि चउरमा टोलभरीका मानिसहरू भेला भएका थिए ।
सुन्यौँ— धरहरा भत्कियो । साततले भवन भत्किएर ४० जना मरे । सिन्धुपलान्चोक र  काठमाडांैमा सबैभन्दा बढी मानिस मरे । देशभरी नै महाभूकम्प आएको थियो, त्यो महाभूकम्प काठमाडौमा रहेर हामीले पनि भोग्यौँ ।
अब हाम्रो दिनचर्यामा नियमित रूपमा अस्पताल धाउने काम थपियो । सुगर, क्रिटेनाइन, पोटासियम, सोडियम, फोस्फरस आदि अनेकौं रक्त परीक्षण गरिरहनु र डाक्टरलाई देखाउनु र डाक्टरलाई देखाएपछि दबाइ थप हुदै जानु  । दबाइकै भरमा बाँच्नु पर्ने बाध्यता भए पनि हामीले हिम्मत हारेका थिएनौँ । यस्तो अवस्था भएपछि ताजमहल घुम्न जाने र आफ्नै पुर्खौली गाउँ जाने कुरा पनि हरायो । मलाई त्यो घिडघिडो अझै छदैछ.. . तर अब  के हुन्छ र !

“बाँचेर फर्किएँ भने आघांै पनि नाँच्नुपर्छ है ।” तिनले धरानको घरमा नचाएको अन्तिम साखेवामा  भनेकी थिइन् । यसो भनिरहदा  तिनले जबरजस्ती मुस्कुराउने प्रयास गरेकी थिइन् । मनभित्रको पीडा लुकाउन अर्कोतिर फर्कदा नाकको फुलीमा घामको किरण पर्दा टलक्क टल्केको थियो । फुलीलाई देख्दा  त्यो क्षण  अहिल्यैजस्तो लाग्छ ।
“बाँचिन्छ, बाँचिन्छ । नाचौलाँ नाचौलाँ !” नाच्नेहरूले भनेका थिए ।
त्यही सालको नाच नै तिनको अन्तिम नाच भयो ।
अस्पताल गयौँ, तिनको स्वास्थ ठीकै थियो । फर्केर कोठामा आएपछि उल्टी आउन थाल्यो । फेरि अस्पताल गयौँ । “पोटासियम बढेको छ, यसले कुनै पनि बेला मुटु बन्द हुन सक्छ ।” डाक्टरले भनेपछि अस्पताल भर्ती ग¥यौँ ।
तिनी सिकिस्त भइन्, आइ.सि.यु.मा १५ दिन राख्नु प¥यो । डायलाइसिस  हप्ताको तीन पटक नियमित रूपमा नै भइरहेको थियो । डायलाइसिस आइ.सि.यु.मा नै हुन्थ्यो । सिकिस्त बिरामीे अवस्थामा जे पायो त्यही बोलिरहने । मृगौलाले काम गर्न छाडेपछि मैला पानी दिमागमा पुगेर बिरामी बौलाउँछ— डाक्टरले भने । “काजी, काजी !” कराएर आइ.सि.यु. थर्काउथिन् । नाकको पाइप र अन्य उपकरण तानेर फाल्न खोज्थिन् त्यसैले हात चलाउन नसक्ने गरी  बाँधेर राखिएकी थिइन् ।
आइ.सि.यु.मा बिरामी भेट्ने निश्चित समय थियो । त्यो समयमा भेट्दा तिनी रोएरहेकी थिइन्, भनिन् “काजी म... ।” अरु भन्न सकिनन् । मन भक्कानिएर आयो, तिनको अगाडि रोएर, तिनलाई आँसु देखाएर तिनको मन कमजोर बनाउन हुँदैन थियो । भनेँ— “म तिमीलाई निको पारेर सौराहा, चन्द्रागिरी घुमाउछु । घर फर्किदा यसपाली त जनकपुर पनि घुम्ने ।” तिनले ध्यान दिएर सुनिरहिन् । जीवन मृत्युको दोसाधमा रहेकी तिनको आँसु रुमालले पुछेँ । त्यो रुमाल अझै मसँग छ ।
१५ दिनमा अलिक जाति भएर वार्डमा सारियो । तर दिमागी हालत भने बौलाहीकै जस्तो । जे पायो त्यही बोलिरहने, अरुले बोलेको सुनेर त्यसैमा गाँसेर अनेक बोलिरहने ।
आइ.सि.यु.देखि नै मुखबाट खाने अवस्था थिएन । नाकबाटै इरिगेसन पाइपद्वारा खाना र दबाइहरू पिसेर पानीसँग खुवाइरहेका थियौँ । त्यहाँ वार्डमा एउटा वृद्ध मानिससँग दबाइ पिस्ने सामान खोज्दा भेट भयो । उसले सोध्यो— “यसरी खुवाएको कति दिन भयो?”
“३० दिन भयो ।”
“ए, मेरो त आज ट्याक्कै सय दिन भयो नाकबाट खुवाएको । तपाईँको त बोल्दोरहेछ । मेरो त हलचल बोलीचाली केही छैन ।”  निराश ती मानिसले भनेका थिए ।
केही दिनपछि ती मानिसले आफ्नो बिरामीलाई चितवन घर फर्काएको थाहा पाएर त्यहाँ काम गर्ने दिदीलाई सोधेँ— “निको भएर लाँदै गरेको हो ?”
“किन हुन्थ्यो ? माया मारेर नि ...।” दिदीले ओठ चेब्राएर भनिन् ।
मेरो मन पनि चिसो भयो । आफ्नो बिरामीको हालत पनि त्यस्तै छ । बौलाहीजस्तै जे पायो त्यही बोलिरहन्थिन् । “डायलाइसिसले नै निको हुन्छ” डाक्टरहरूले भनेका थिए । त्यस्तो अवस्थामा पनि सधैं मलाई बोलाइरहन्थिन्— “काजी, काजी !” म सधैं छेउमा बसिरहन्थे र मलाई लागिरहन्थ्यो ‘निको हुन्छिन् ।’
त्यहीबेला तिनको भाइ र बुहारी बेलायतबाट आइपुगे । ‘सरप्राइज’ दिन खबर नगरी आएका रे । अनेकओली बोलिरहेकी दिदीको अगाडि उभिएर भाइले सोधे— “म को ?”
“माइलाङ्गे ।” केही बेर नियालेर हेरे पछि तिनले भनिन् । भाइलाई तिनी माइलाङ्गे भन्थिन् । त्यस्तो दिमागी अवस्थामा ‘काजी काजी’ कराएर अस्पताल थर्काउथिन् र  पनि तिनले मलाई, नन्द र सालीलाई भने सधैंं चिन्थिन् ।
अझै नाकबाटै इरिगेसन पाइपद्वारा खाना र दबाइहरू पिसेर पानीसँग खुवाइरहेका थियौँ । तिनी त्यो नाकको पाइप थुतेर फाल्ने बल गर्थिन् । दुई तीन पटक फालि पनि सकेकी थिइन् । फुली नभएको नाकको प्वालबाट पाइप छिराइएको थियो  । तिनले फेरि पाइप थुतेर फालिन् । “किन निकालेको ?” हकारेजस्तो गरेर मैले भनेँ । चुप लागेर बसिन्  ।  त्यही बेला फुली निकालेर त्यो प्वालबाट पाइप छिराउन फुली निकाल्ने कोसिस छोरा र सिस्टरहरूले गरे । तर फुली निकाल्न सकेनन् । फुली तिनको नाकमा नै रहिरह्यो ।

एक महिनाको अस्पताल बसाइपछि तिनी केही सन्चो भइन्  डिस्चार्ज भएर छोराको कोठामा बस्न थालेका थियौँ । तिनको भाइ र बुहारी बेलायत फर्किसकेका थिए ।
त्यस सालको दशैं र तिहार नै तिनीसँग बिताएको मेरो अन्तिम दशैं तिहार भयो । दशैं पनि तिनको अस्वास्थ्यका कारण खाशै रमाइलो भएन । तिनलाई अनेक प्रकारले उत्साहित पारेर आनन्दित पार्ने कोसिस गर्थे  तर तिनले कुनै उत्साह देखाउदिन थिइन् । जब मृत्यु भयले मन खाइरहेको हुन्छ, कहाँ आनन्द मान्ने उमङ्ग उत्साह जीवनमा हुन्छ र !
तिहारमा भाइ आउँछ कि भन्ने आशा तिनको भित्री मनमा थियो होला । हामीले पनि भर्खरै फर्केको भाइलाई तिहारमा आउनु भनेर बोलाउन सकेनौँ । तिहार आउन केही दिन बाँकी हुँदा भाइबुहारीहरू स्वीजरल्यान्ड घुमिरहेको तस्वीर फेसबुकमा मैले देखेर तिनलाई पनि “हेर्छाै?” भनेर सोधेँ । तिनले हेर्न मानिनन् । भाइले अस्पतालमा आएर ‘सरप्राइज’ दिएझै तिहारमा पनि टुप्लुक्क आइपुग्छन् कि ! अघिल्लो वषर््ाझैँ भाइसँग तिहार मनाउन पाइन्छ कि भन्ने  तिनको इच्छाको तुषारापात भएको थियो । तिनको अन्तिम तिहार झन् खल्लो भयो ।
तिहारको लगत्तै पछाडि तिनलाई भेट्न भान्जा भान्जीहरू आएका थिए । बात मारिरहेका बेला तिनलाई उल्टी हुन थाल्यो । मलाई पुलुक्क हेरिन् । जब तिनी सिकिस्त हुन्थिन् सहाराको लागि मलाई हेर्थिन् । म पनि तिनको त्यस्तो सिकिस्त अवस्था हुन थालेपछि  जहिले पनि अस्पतालको इमर्जेन्सी जानका लागि तयारी अवस्थामा नै रहन्थे ।
“अस्पताल जानुपर्छ ।” झोलामा हत्तपत्त अस्पतालको कागजपत्र, औषधि राखेर मैले भनेँ । छोरा पनि तयारी अवस्थामा नै रहन्थ्यो । अस्पताल गयौँ ।
“रक्तचाप एकदम कम छ । रक्तचाप बढाउने मेसिन आइ.सि.यु.मा मात्र भएकोले आइ.सि.यु.मा राख्नुपर्छ ।” डाक्टरले भनिन् । आइ.सि.यु.मा दुई दिन राखेपछि अलिक ठीक भयो ।
वार्डमा सा¥यौँ । वार्डमा सारेपछि म लुगा फेर्न छोराको डेरामा गएँ । एउटा प्लाष्टिक झोलाभरि चकलेटको खोलै खोल छ । जाडोको याम हुँनाले हामी त्यहाँ बस्दा तिनलाई घाम ताप्न घाममा बाहिर आँगनमा राखेर कोठाभित्र म कम्प्युटरमा भुलिन्थे । ती दिनहरूमा घाममा एक्लै बसेर तिनले यत्ति धेरै गुलियो चकलेट खाइछिन् कि ती चकलेटका खोलहरू देखेर म आश्चर्यचकित विस्मित भएँ ।
मधुमेह भएका र डायलाइसिस गरिरहेका बिरामीहरूले मुख बार्न छाडेभने तिनीहरू अस्वस्थ जीवनबाट थाकेर शरीर विसर्जन गर्न चाहन्छन् भन्ने बुझिन्छ । कैयौं डायलाइसिस गरिरहेका बिरामीहरूले मुख नबारेर मृत्युवरण गरेको मलाई थाहा थियो । मैले पनि विश्लेषण गरेँ— किन तिनले पनि यत्ति धेरै चकलेट लुकेर खाइन् ?
खोकि चलिरहन्थ्यो, खोकि रोक्न भिक्स, हर्बल चकलेट  एक दुईवटा खान दिन्थे । भिक्स, हर्बल चकलेटले केही बेर खोकि रोक्थ्यो । तिनी मलाई यत्ति धेरै माया गर्थिन् कि मलाई  मेरो हर सुखदुःखमा साथ दिन चाहन्थिन् । तर बिरामी तिनलाई स्याहार्दा मैले गरेको पाएको दुःख देखेर ती दुःखबाट मलाई उन्मुक्ति दिन  र एउटा निश्चित स्वतन्त्र जीवन मैले बाँचोस् भन्ने चाहेर नै तिनले त्यति धेरै चकलेट खाएकी होलिन् ।
स्वस्थ हुँदा पहिला तिनले भनेकी पनि थिइन्— “बिरामी भएर दुःख पाए भने म त बिष खाएर मर्छु ।”
“बिष कहाँ पाउँछौ सिकिस्त बिरामी भएको बेला ।” मैले ठठ्टा नै सम्झेर सोधेको थिएँ ।
“पहिला नै किनेर राख्छु ।” तिनले भनेकी थिइन् ।
डायलाइसिस गरिरहेको मधुमेहको बिरामीको लागि गुलियो चकलेट बिष त हो । मलाई तिनले दिन सक्ने सुख भनेको आफ्नो रोगी शरीर विसर्जन गरेर तिनलाई स्याहार्ने झन्झटबाट मुक्ति दिनुमा थियो भन्ने सायद सोचिन् ।
मलाई अर्नेस्ट हेमिङ्वेको आत्महत्या प्रकरण सम्झनामा आउछ— दुई पटकको विमान दुर्घटनामा मुस्किलले बाँचेका तर नराम्ररी घाइते भएका नोवेल पुरस्कार विजेता अर्नेस्ट हेमिङ्वेले बाँकी जीवन पूरै पीडामा  बिताए । उनले त्यो पीडा अरु खप्न नसकेर आफँैले आफ्नो कन्चटमा गोली ठोकेर आत्महत्या गरेका थिए ।
बाँचुन्जेल डायलाइसिस गर्नुपर्ने र  स्वस्थ शरीरका सबै गुणहरू समाप्त हुँदै गइरहेको अवस्थाले बाँच्ने आधार सकिदै गएको भानले हतोत्साहित तिनले बिषकै रूपमा त्यति धेरै चकलेट खाएकी थिइन् कि !
तिनले तागतिलो खाने चिजहरू खान नहुने । अलिकति खानामा तलमाथि भयो कि सिकिस्त बिरामी हुने, आफ्नो जीवनसँग पनि दिक्क भइसकेकी थिइन् कि ! सबैभन्दा दिक्कलाग्दो र दुःखदायी कुरा आफूले सबैभन्दा बढी माया गरेको लोग्नेलाई आफ्नो कारण दुःख कष्ट  भइरहने, पैसा पनि थुप्रै खर्च भइरहने । बारम्बार तिनी सोधिरहन्थिन्, “पैसा कति छ ?”
“घडेरी बेचेको पैसा छ नि । बैंकमा यति छ, साथमा यति छ । पैसाको फिक्री नगर, हरेश नखाऊ ! म छु, तिम्रो लागि म जेपनि गर्छु ।  ट्रान्सप्लान्ट हुनेभए म मृगौला दिन पनि तयार छु, तर मुटु रोगका कारण सम्भव भएन ।” म भन्थे । म चाहन्थे तिनलाई कुनै प्रकारको चिन्ता नहोस् ।
तिनलाई लाग्न थालेको थियो “अब धेरै बाँच्दिनँ ।” मलाई हेरेर अत्यन्त दुःख मनाउ गरेकी थिइन्— “तपाईँलाई तपाईँ बाँचुन्जेल साथ दिउँला भन्ने सोचेकी थिएँ  । तर काजी, काजी...!” अरु भन्न सकिनन्, रोइन् तरतरी आँसु झारेर ।
“नरोऊ, नरोऊ ! म छु, आपूmलाई कमजोर नबनाऊ । हरेश नखाऊ । म छु ..।” मैले भनेको थिएँ ।
“मुटु डा. रमणीले भनिसकी— ‘मुटु एकदमै कमजोर भइसक्यो, मैले गर्न सक्ने सबै गरिसकेँ । अब म केही गर्न सक्तिनँ ।’ त्यसैले अब म बाँच्तिनँ काजी ! म मरे  पछि मेरो सबै गहनाहरू आपूmसँगै राख्नू, दुःख पाउनुभयो भने बेचेर खानू,  । मधेसको मेरो नामको जग्गा पनि आफ्नै नाममा राख्नू । मेरो मोबाइल सधैं आफ्नो साथमा राख्नू । म मरे पछि बिहेको सारीचोलो लगाई दिनू ...।”
“म त्यो सारीचोलो चिन्दिनँ ।” मैले भनेको थिएँ ।
“मैले नन्दलाई भनिसकेकी छु, उसैले ओडाउँछ .. ।” भनिन् ।
 त्यो रातभरी तिनी रोइन् । मलाई अझै केही महिना तिनी बाँच्छिन् भन्ने आशा थियो ।
अस्पतालको वार्डमा विवश तिनी र विवश म एकआपसमा हेराहेर गरेर बाँचिरहेका थियौँ । दिनभर आफन्त मानिसहरू हेर्न आउँथे, जान्थे । रात परेपछि हामी दुईजना मात्रै । थाकेर  हो कि के भएर हो, फुर्सद हुँनासाथ तिनको बेडछेउ रहेको सानो बेन्ज बेडमा भुसुक्कै निधाइहाल्थँे । जहिले पनि निधाइरहेको मलाई देखेर तिनी भन्थिन् “कति सुत्नु हुन्छ ? कति सुत्नुहुन्छ ? म मरेपछि बेस्सरी सुत्नू !”
अहिले पो सम्झन्छु, तिनले किन त्यसो भनिन् ? तिनी चाहन्थिन् तिनको अन्तिम अवस्थामा म तिनको कुरा सुनूँ र आफ्ना कुराहरू सुनाऊँ, तर ‘औषधि ल’े, ‘खाना ल’े, ‘बिरामी उठा सुता’, स्याहार गर्दागर्दै फुर्सद भयो कि निधाइहाल्थेँ । अहिले पो थकथकी लाग्छ  मृत्युको पूर्वआभासले विचलित तिनको मनलाई मैले तिनको कुरा सुनेर वा मैले बोलेर केही कुरा सुनाएर ढाडस दिनु पथ्र्याे ! सान्त्वाना दिनु पथ्र्यो ! त्यतिबेला त्यो कर्तव्यबाट म चुकेँ ।
पोटासियम, ग्लुकोज, सोडियम, फासफोरस अनेकौ रक्त परीक्षण ।  ट्रोपोनिन  पोजिटिभ देखिए पछि भने मेरोे पनि मनमा चिसो पस्यो र छोराहरूलाई भनेँ— “तिमीहरूको आमा जति दिन बाँच्छ, हाँसीखुसी साथ बाँच्न देऊ !” मैले तिनलाई ती रिपोर्टबारे जानकारी नदिए पनि आफ्नो शारीरिक अवस्था र मुटु डाक्टरको कुराले तिनले मृत्युको पूर्वानुमान गरेकी थिइन्  र हामी  दुई मात्र हुँदा मेरो मायाले र आफ्नो नजिकै आइसकेको देहावसानको पीडाले रोइरहेकी हुन्थिन् । म के गर्न सक्थे र ! फगत टुलुटुलु हेर्नु सिवाय । कति विवश थियौँ हामी !
दिनभर म कुरुवा बसेको देखेर माइला छोरा भन्थ्यो— “म राती बस्छु तपार्इँ कोठामा जानुहोस् ।”
तिनी मान्दिनथिन् । रुन्चे बोलीले भन्थिन्— “तेरो बाबु नै बस्नु पर्छ ।” जति दिन बाँच्छिन्, तिनी अन्तिम क्षणसम्म पनि मेरै साथ रहन चाहन्थिन्, मेरै साथमा मृत्युवरण गर्न चाहन्थिन् । म पनि जतिसम्म तिनी बाँच्छिन् तिनको साथमा रहन चाहन्थेँ । अब सँगसँगै रहने धेरै दिन छैन भन्ने चेतले खिन्नताका साथै एकअर्काप्रति समर्पण, आकर्षण र प्रेममायाको उद्वेग हाम्रो मन, मुटु र मगज अस्थिर बनाई प्रतिक्षण मनभरी उर्लदो बाढिझैँ भएर अविरल बगीरहेको थियो ।
“मै बस्छु” द्रवित भई म भन्थेँ र म नै राती पनि कुरुवा बस्थेँ । मलाई देख्दा र तिनको साथमा म रहदा तिनले जुन सुरक्षा, साथ, सन्तोष र मिलनको अनुभव गर्थिन्—  त्यो तिनको अन्तिम कालमा अमूूल्य थियो । मेरो निम्ति पनि तिनको त्यो साथ अमूल्य थियो । हामी दुवै साथसाथ बस्ने धेरै दिन छैन भन्ने अहसासले हामीलाई मन, मुटु र मगजको  गहिराइसम्म यति धेरै छोएको थियो कि हामी हेराहेर गरेर बसिरहेका हुन्थ्यौँ । म तिनलाई हेरिरहन्थेँ, तिनी मलाई ।
उठाउन बसाउन र सुताउन परिरहेको थियो । आफै उठ्न बस्न नसके पनि बोली र दिमाग भने स्वस्थ मानिसकोजस्तै तगडा थियो । मलाई तिनी आफ्नो मनका कुराहरू सुनाइरहन्थिन् — “काजी, मलाई हामीले घुमेका ठाउँहरूको सम्झना आइरहेको छ...।”
तिनका ती कुराहरूभित्र अन्तरहृदयको पीडा थियो, क्रन्दन चित्कार आर्तनाद थियो र हृदयको हाहाकार प्रतिध्वनित भइरहेको थियो । तिनले त्यतिबेला भोगिरहेको वेदना, कष्ट, पीडा र दुःखको वर्णन गरि साध्य थिएन । अहिले तिनी त गइसकिन् र तिनको अस्तित्व छैन । तिनले त्यतिबेला भोगेको पीडा कष्ट वेदना ठूलो थियो कि अहिले मैले तिनको विछोडमा भोगिरहेको पीडा कष्ट र वेदना ठूलो ? सबै प्रेम, माया, पिरती, स्नेह, ममता, आदरभाव, सुख, आनन्द, ऐश्वर्य, भोगविलास, शान्ति, शान, धाकरवाफ, प्राप्ति र दुःख, पीडा, कष्ट, वेदना, क्रन्दन, रुवाइ, घृणा, लोभलालच, विछोड, वियोग  बाँचुन्जेलका लागि मात्र हो । मरेपछि सब समाप्त ! सब सकिन्छ, तुरिन्छ । मरिरहेकी मर्नैलागेकी  तिनको मप्रतिको त्यतिबेलाको अगाध असीम प्रेमभाव... अहिले म महसुस गर्दै छु । मर्नेले भोगेका सबै कुरा मृत्युले समाप्त पार्छ तर  बाँच्नेहरूले आपूmले गुमाएका मृतक प्रियजनहरूको सम्झनामा भोग्ने पीडा कष्ट, विछोडको वेदना, रुवाइ क्रन्दनले संसार व्याप्त छ । बाँच्नेले मर्नेलाई जीवनभर भुल्न नसक्नु अझ भुल्न पनि नचाहनु  पनि जीवनको अनौठो नियम रहेछ ।
४१वर्षको तिनीसँगको मेरो सुखद, सुमधुर र स्वर्णिम दाम्पत्य जीवन भुलेँ भने  यो जीवनको अन्तिम कालखण्डमा मसँग सम्झने कुरा घटना परिघटना  के नै रहन्छ र !? खोक्रो जीवन सिवाय...।
तिनको मृत्यु हुनु अगाडि म  सुखी मानिस थिएँ र म दुःखविहीन सप्तरङ्गी रङ्गीन दुनियाँमा भुलिएको थिएँ । तिनको मृत्युले मलाई विछोडको एकत्रित अचम्म–आघात, असह्य वेदना, असीमित पीडा दियो र रोएँ । रोइरहेको आँखाले मैले जुन शून्य देखेँ, त्यो मेरो जीवनको आठौं रङ हो । तिनको मृत्युपछि  म अनेकौंं दुःख दर्द, कष्ट, रिक्तता, अभाव, पीडा, आघात, सन्ताप, यातना, विछोड, वियोगका असह्य परिस्थितिमा पनि बाँच्न चाहिरहेको छु, यो जिजीविषाको  अदभुत रहस्यमयी अदृश्य नवांैं रङमा म अहिले छु र नौरङ्गी जीवन भोगिरहेको छु । मेरो यो नौरङ्गी जीवनमा म तिनलाई सम्झनामा नै भए पनि अमर बनाउन चाहन्छु । अमर बनाउने कसरी ? त्यो अमर बनाउने प्रयोजन ध्येय मेरा निम्ति बाँच्ने प्रेरणा भएको छ । नबाँची तिनलाई  म अमर बनाउन सक्तिनँ भन्ने बोध मेरो सक्रियताको कारण बनेको छ ।
मैले त्यतिबेला भनेको थिएँ “चिन्ता नगर ! म तिमीलाई निको पारेर ती ठाउँहरूमा फेरि घुमाउछु ।” तर  कहाँ घुमाउन सकेँ र !
तिनको अन्तिम अवस्था भइसकेको कुरा डाक्टरले भनेपछि पो मलाई थाहा भयो– “बिरामीलाई आफ्नो शरीरबारे थाहा हुन्छ, बिरामीको अन्तिम इच्छा होला । तिनलाई कुनैबेला पनि केही हुन सक्छ ।”
अब भने जिउँदै धरान घर पुराउँछु भन्ने लाग्यो । छोराहरूसँग सल्लाह ग¥यौँ र हवाइजहाजको टिकट बन्दोबस्त ग¥यौँ । धरान घर फर्कने भनेपछि तिनी असाध्य खुशी भएकी थिइन् । माइला छोराले अस्पतालकै जस्तो बिरामीलाई तल माथि उठाउन मिल्ने बेड किन्दिने कुरा आमालाई भनेको रहेछ । खुशी भएर तिनले भनिन् “माइलाले धरानमा अस्पतालकै जस्तो बिरामीलाई तल माथि उठाउन मिल्ने बेड किन्दिने  भएको छ । धरान घर फर्के पछि विल चियर किन्दिनु होला ।” विल चियरमा घुम्ने तिनको रहर !  निराशा मनभित्र पचाएर भनेँ “हुन्छ, किन्दिन्छु ।” जीवनको अन्तिम क्षणमा पनि बाँच्ने उत्कट बलवती तिनको आशा ! २२ गते नै फर्कने मेरो योजना तिनले एन्टिबायोटिक सुइ लगाइरहेकी थिइन्, “२६गते पूरा लगाएर फर्काैँ” भनिन् । कतै बाँच्छु कि भन्ने तिनको आशा हुँदाहुँदै मैले  २२ गते नै फर्कनुपर्छ भनेर कर गर्न हुँदैनथ्यो । “हुन्छ” मैले भनेँ र २७ गते फर्कने बन्दोबस्त  ग¥यौँ ।
हामी २७ गते फर्कन्छौँ भन्ने थाहा पाएर नातागोता इष्टमित्र सब भेट्न आए । दिनभर भेट्ने मानिसको घुइँचो । भेट्ने ती सबै मानिसहरूलाई तिनी भन्थिन् “बाँचे भने फेरि भेटांैला ।” नर्सहरू, डाक्टरहरू र अरु डायलाइसिस गरिरहेका बिरामीहरूलाई पनि “बाँचेर आएँ भने फेरि भेटौला !” भन्दै सबैसित बिदा मागिरहेकी थिइन् ।
२४गते राती बेलायतबाट भाइले फोन गरे । तिनले भाइसित कुरा गर्न मानिनन् । मैले नै कर गरेर बोल्न लगाएँ । भनिन् “माइलाङ्गे, भेट नहुने भयो ।” फोनमै तिनी रुन थालिन् । तिनको रुवाइ र आँसु थाम्न मैले “राम्ररी गरिखाऊ ।” भन्न लगाएँ । तिनले त्यसै भनिन् । त्यही फोनवार्ता नै दिदीभाइको अन्तिम वार्ता सम्बाद भयो । त्यसपछि तिनले भोलि बहिनी र नन्दलाई बोलाइदेऊ भनिन् । मैले दुवैजनालाई बोलाएँ । तिनले किन उनीहरूलाई बोलाइन् । आज मलाई थाहा भएको छ— मृत्यु झेल्न मानिसलाई आफ्नो प्रिय मानिस र आफन्तको सहारा चाहिँदो रहेछ ।  बहिनी र नन्दलाई अन्तिम सहाराको लागि तिनले बोलाएकी थिइन् ।
२४ गते बिहानै दुवैजना आए । दिनभर तिनीहरूले अनेकौं कुराकानी एकआपसमा हेराहेर गर्दै गरे । बेलुकी उनीहरू फर्किए । राती डायलाइसिस गर्नुपर्ने भएकोले माइला छोरालाई पनि त्यहाँ बस्न लगाएको थिएँ, छोराले तिनलाई डायलाइसिस गर्न लगेपछि म यसरी निधाएँ कि डायलाइसिस सकेर उनीहरू फर्केर ब्युझाएपछि मात्र ब्युझिएँ ।
“यो मान्छे कति सुतेको ? डायलाइसिसमा एकै पटक पनि हेर्न आएन ।” तिनले गुनासो गरिन् । यसभन्दा अगाडिका प्रत्येक डायलाइसिसहरूमा म पटक पटक हेर्न जाने गर्थे । मलाई तिनी पानी, खाने र अरु चिजहरू ल्याउन भन्थिन् । त्यो अन्तिम डायलाइसिस गरेर फर्कदा राती अबेला भइसकेको थियो । बेडमा सुतेपछि तिनले भनिन् “मलाई चकलेट दिनुहोस् ।”
“खान हुन्न । दिन्नँ ।” मैले भनेँ ।
“एउटा मात्र खान्छु ।” मायालु स्वरमा अनुनय गरिन् ।
“एउटा मात्र खान्छौ भने मात्र ।”
तिनले “एउटा मात्र खान्छु” भनेपछि मैले एउटा चकलेट दिएँ । कति मीठो गरी खाइन् । अत्यन्त प्रसन्न भएर भनिन् “एनेमा लगाइ दिनुहोस् ।” एनेमा लगाएर म बाथरुममा  टोइलेटका सामान लिन गएँ । फर्केर आई हेर्छु त तिनी अनन्त महायात्रामा गइसकेकी !  आँखाको झिमिक्कमा तिनको मृत्यु ! मेरो सर्वस्व समाप्त !! सर्वनाश !!!
कराएर नर्स र छोरालाई बोलाएँ । डाक्टर नर्सहरूले अन्तिम प्रयत्न गरे ।  तिनी गएको गएकै भइन् । केही समय अगाडि चकलेट खाएर प्रसन्न भएकी तिनी मृत  भइसकेकी थिइन् । रोएर कराएर के हुन्थ्यो ? चकलेट मेरो हातबाट खाएर तिनले मृत्युवरण गरिन् । मेरो सर्वस्व सकियो, मेरो सुखी संसार धुलोपिठो भयो ।
 मेरो हातको अन्तिम उपहार... यदि मैले चकलेट नदिई नखाई तिनी मरेकी भए म आपूm जीवनभर पछुताई रहन्थे  र आपूmलाई माफ दिन सक्ने थिइनँ ।
जेठा छोरा, बुहारी, बहिनी, साली, नरनाता, इष्टमित्र, साथीभाइ सबैलाई फोनमा सुचित गरेर बोलायौँ । तिनको इच्छाअनुसार धरानमा नै संस्कार गर्ने भएर २५गते दिनभर  तिनको लाश  लिएर बेलुकि धरान पुग्यौँ । त्यस राती हामी दुईको सुत्ने कोठामा नै तिनको लाश राखियो । सफा पारेर गोबरले लिपेको भुईमा तिनको लाश राखियो । म लाशकै छेउमा र वरिपरि छोराहरू लाश रुङ्दै बस्यौँ । म भने तिनको लाशछेउ सुतेँ, त्यही नै तिनीसँग मेरो अन्तिम बसाइ र सुताइ थियो ।
तिनको लाशको नाकमा नै फुली थियो । त्यो फुली तिनको जीवनको हरपलमा सधैं तिनको नाकमा रहेर तिनको साथसाथ थियो । तिनले एक्लै हुँदा र मसँग रहदाबस्दा भोगेको सुख दुःखको साक्षी थियो ।
२६गते बिहान मात्र छोराले फुली तिनको अन्तिम संस्कार गर्नुभन्दा अगाडि तिनको लाशको नाकबाट सजिलै निकाल्यो । अस्पतालमा नर्स र माइला छोराले निकाल्न नसकेको फुली सजिलैसँग जेठा छोराले निकालेको देख्दा म छक्क परेको थिएँ । बहिनीले तिनको इच्छाअनुसार  घरपट्टिबाट दिएको बिहेको लुगा लाशलाई लगाइ दिइन् । झकिझकाउ बेहुली जस्तै देखियो लाश ... सम्मानसाथ तिनको अन्तिम मृत्यु–संस्कार सम्पन्न भयो ।
मानिसले मृत्युमा सब छाडेर जानु पर्ने रहेछ । सानो फुली समेत तिनले छाडेर गइन् । आखिर लिएर जान सकिने, लगिने केही रहेनछ । आज त्यो फुलीलाई देखेर म सोचिरहेको छु — अरु गहनाले भन्दा फुलीले नै मलाई किन बढि आकर्षित गरेर रुवायो ?
आफैले उत्तर दिएँ, अरु गहनाहरू खासै तिनले लगाएका गहनाहरू थिएनन् । बिहेमा तिनले लगाएका गहनाहरू मङ्गलसूत्र, औठी, सिक्री आदि गहनाहरू त सावाब्याज तिर्न नसकेर पच भएको थियो । अरु गहनाहरू त तिनी बिरामी भएपछि तिनको उपचारका लागि बेचेको घडेरीको पैसाले किनेको एकदुई पटक मात्र तिनले लगाएका गहनाहरू भएकाले ती गहनाहरूप्रति मेरो खासै चासो रहेन । तर...
फुली !
 कति पटक तिनको आँसुले लपक्कै भिजेको थियो र  कति पटक पूmल अक्षेता अबीरले पनि रङ्गिएको थियो ! तिनको मधुर हाँसोसँग टलक्क टल्किएको पनि थियो !  आनन्दको मुस्कानसँग चम्केको थियो ! पे्रमीपतिको चुम्बन पनि त्यो फुलीले चाखेको थियो !
तिनको र मेरो जीवन अवलोकनकर्ता भई फुली तिनको नाकमा सदैव रहेको थियो । म नहुँदा पनि फुली तिनको साथ हुन्थ्यो । मैले थाहा नपाएका कतिपय सुख दुःख तिनको आँसु पीडा अनुभव अनुभूति फुलीलाई थाहा थियो  । फुली नाकसँग एकाकार भएको थियो । नाक र फुलीजस्तै तिनी र म ४१वर्षको दाम्पत्य जीवनमा एकाकार भएर अनेकांैं  उतार चढाव सुख दुःख सँगँसँगै भोगेका थियौँ... सँगँसँगै हाँसेका थियौँ, रोएका थियौँ ।
ती सबको अवलोकनकर्ता फुली हाम्रो सुखदुःखको साक्षी, प्रमाण, प्रतिविम्ब भएको छ । बनेको छ— हामी दुईको प्रेम प्रतीक त्यो सानो फुली !
पानीबाट झिकेर फालिएको माछाझैँ छटपटिदै बाँच्न विवश एक्लो म ... म जस्तै नाकबाट निकालिएको र रहने लगाउने नाक नभएको एक्लो फुली !
अब त्यो फुली लगाउने मेरी पत्नी मेरी कजिनी लक्ष्मी छैन । तर अझै तिनले लगाएको फुली मसित छ । तिनको सम्झना दिलाईरहने सानो फुली ! फुली लगाउने मान्छे नभएको...फुली !
    

    तिनको विछोड वियोगमा आँसुको दहमा पौडदै मैले तिनको श्रध्दाञ्जलीका लागि र (अझ स्पष्ट भन्दा) आफैलाई सम्भाल्न  अति दुखिरहेको मन बुझाउन (.नौरङ्गी पुस्तक.... हटाउनुहोस्)तिनलाई सम्बोधन गरेर लेखेको रहेछु....
तिमीले स्याहारी सम्भालीरहेको मायालु ‘म’....स्याहार्नु सम्भाल्नु छ
सबैभन्दा मुस्किल... तिमी सम्झि रुने मन बुझाउनु छ !

सुन्दर सप्तरङ्गी रङहरूले सजाएथ्यो मलाई
प्रेम गगनमा साथ साथ उडाएथ्यो मलाई
अझै मुटुमा  छौ बस्छौ  
नौरङ्गी जीवनमा  पनि साथ दिन्छौ  साथ साथ छौँ
असीम मायाले भिजाउने तिमी अजर अमर अजम्बरी छौ !!

 म तिनको विछोड वियोगमा नौरङ्गी जीवन  अनुभूत गरिरहेको छु ।
 मानिस दुःखविहीन हुँदा सप्तरङ्गी रङ्गीन दुनियामा भुलिदो रैछ । सप्तरङ्ग त इन्द्रेनीका रङ्गहरू हुन् । अरू दुई रङ्ग ? नौरङ्गी डाँफे । डाँफेका रङ्गहरू हुन् भनि दिँदा हुन्छ । तर ति के कस्ता हुन्छन ?
सात रङ्गभन्दा अर्को दुई रङ्गहरू हुन्— असह्य शोक जब मानिसको जीवनमा घट्छ रङ्गविहीन अनुभूतिका साथ एउटा सून्य अनुभव हुन्छ । रोइरहेको आँखाले देखिने रङ्ग आठौं हो । नवौ रङ्ग अनेकौं दुःख दर्द कष्ट रिक्तता अभाव पीडा आघात सन्ताप यातना विछोड बियोगका असह्य परिस्थितिमा पनि मानिस बाँच्न चाहन्छ । त्यो जिजीविसाको अद्भुत रहस्यमयी अदृश्य रङ्ग नवौं हो ।
यसरी जीवन नौरङ्गी हुन्छ ।


नौरङ्गी जीवनमा  पनि साथ दिन्छौ  साथ साथ छौँ ।
सपनामा तिनी आइरहन्छिन् । के सपनामा आइरहनु, सपनामा भेटिरहनु  मेरो नौरङ्गी जीवनमा तिनले साथ दिएको हो ?
जब म अग्घोर निरास खिन्न भएर विरक्त हुन्छु, पलायन  मुक्ति हो कि भन्ने अवस्थामा पुग्छु, सपनामा तिनी आउछिन् । एक पटक त सपनामा तिनी फिका सुन्तले रङ्गको चम्किलो सुहाउदिलो लुगा लगाएकी यति धेरै प्रसन्न  चन्द्रमाझै उज्याली हसिली हाँसिरहेकी देख्छु ! तिनको त्यस्तो रूप जीवितावस्थामा पनि मैले कहिल्यै देखेको थिइनँ । प्रसन्न हाँस्दै खुशी हँुदै ब्युझिएँ । मलाई लाग्यो तिनी ज्युँदै छिन् र कतै गएकी छिन्  । सपनामा देखेको तिनको त्यो उज्यालो हसिलो रूपले वास्तविक जीवनमा मेरो ओइलिन थालेको मन–फूल तरोताजा भएर फक्रिन्छ । मभित्र जिजीविसाको अद्भुत रहस्यमयी नवौं अदृश्य रङ्ग झलमल्ल तडकारो फैलिन्छ ।
सपनाको निर्माता को हो ? चाहेर त सपना देखिदैन । सपनामा तिनलाई देखेर भेटेर म केही बढी दिन बाँच्न सकिरहेको छु । एकल जीवनमा सपनामै भए पनि तिनी आइरहनु... सपनाले पनि जिजीविसाको उत्प्रेरणा दिँदो रहेछ ।
“काजी ! काजी ... ”
“हँ... ” प्रसन्नतासाथ मेरो मुखबाट जवाफ फुस्कन्छ ।
फुलीले बोलेको हो त ?
होइन, निर्जीव फुली कसरी बोल्न सक्छ ?!
मलाई मेरो पारिवारीक नाम ‘काजी’ भनेर बोलाउने सम्बोधन गर्ने मेरा परिवारका तीनजना मात्र हुन्— पिता, माता र पत्नी । आमा ९३वर्षको हुनुहुन्छ, कान सुन्नु हुन्न र दोहोरो कुराकानी  हामी आमाछोरा बीच हुँदैन । पिता र पत्नीको देहान्त भइसकेको छ ।
सर्वसाधारण आम मान्छेको आँसुको सागरमा संसार तैरीरहेको छ । त्यो सागरमा मेरो पनि आँसु मिसिएको छ । जति नै अकिञ्चन, नगण्य भने पनि कोही कसैको नजरमा अति प्रिय र नभईनहुने अमूल्य मान्छे हुँदोरहेछ । तिनी मेरा लागि त्यस्तै थिइन् ।
 “काजी ! काजी ... ” म सुन्छु । पत्नी कजिनी लक्ष्मीले नै बोलाएको हो । चारैतिर हेर्छु, कोही छैन । कतै मेरो भ्रान्ति हो कि... ! सपना हो कि ! तर म निधाएको छुइनँ ।
“काजी ! काजी ... ” मलाई टडकारो सुनिरहेछुझैँ लाग्छ । तिनले नै बोलाइरहेकी ...
जीउँदाहरूले सधैं यहाँ बसिरहन पाउदैनन् । यो जीवनको नियम हो !
सायद अब मैले पनि फुलीलाई पत्नीलेझैँ यही छोडेर जाने बेला भएछ कि... !?
अन्तिम क्षण ! तिनी जसरी नै रोएर म पनि आफ्नो अधुरो अपुरो जीवनको हुन लागेको अवसान र तिनलाई सम्झेर  धुरुधुरु रोइरहेछु र बिदा माग्दै छु....
“फुली ! बिदा..... !




२०७६ जेठ, असार, धरान


No comments:

Post a Comment