‘मानव संसार’ वृद्धहरूका सहज जीवनयापन गर्ने अथवा मृत्यु कुर्ने–पर्खने सबै सुविधासम्पन्न सानो संसार हो । त्यहाँ बालआश्रम, वृद्धाश्रम, अस्पताल छ साथै सिर्जनात्मक सुन्दर रचनाहरू गर्नका लागि उपयुक्त परिस्थिति, वातावरण र भौतिक संरचना उपलब्ध छ । त्यहाँ किसिमकिसिमका वृद्धहरू जीवनको अन्तिम कालखण्डमा स्वेच्छाले वा बाध्यताले बसिरहेका छन् । उनीहरू सबैका आआफ्ना छुट्टै प्रकारका बानीबेहोरा, आचारविचार, दृष्टिकोण, क्रियाशीलता वा विशेषताहरू रहेका छन् ।
ती सबै वृद्धहरूलाई एकाएक केलाएर हेर्नेबुझ्ने हो भने गम्भीर जीवनको, इतिहासको अथवा उनीहरूले भोगेका बेग्लाबेग्लै कालखण्डका एउटाएउटा उदेकलाग्दा, रमाइला, दुःखलाग्दा अनेकौं कथाहरू बन्न सक्छन्, व्यथाहरू पोखिन सक्छन् ।
त्यसै ‘मानव संसार’ मा बस्ने तपस्वी महात्मा महामानवका बारेमा जान्नेबुझ्ने जिज्ञासा लिएर म त्यहाँ पुग्छु ।
थुप्रै वृद्धहरूको एउटा हूलझुन्ड देख्छु । देख्दा लाग्छ— उनीहरू कुनै गम्भीर विषयमा छलफल गरिरहेका छन् । म केहीबेर टाढा बसेर प्रतीक्षा गर्छु ।
“त्यहाँ तपस्वी महात्मा महामानव पनि हुनुहुन्छ ?” म एकजना वृद्धलाई बोलाएर सोध्छु ।
“महात्मा, महामानव हुनुहुन्छ ।” वृद्ध धनपाल जवाफ दिन्छन् ।
“के तपाईं बोलाएर ल्याउन सक्नुहुन्छ ?” म सोध्छु ।
“अहिले त होइन, छलफल आधा घन्टापछि सकिन्छ । त्यसपछि बोलाउन सक्छु ।”
“उसो भए आधा घन्टाको समय म तपाईंसँग कुराकानी गफगाफ गरेर बिताउन चाहन्छु । के तपाईंलाई फुर्सद छ ?”
“फुर्सदै छ । तर तपाईं को हुनुहुन्छ ? किन हामीजस्ता समयले केही समय साँचेका वृद्धहरूसँग कुरा गर्न चाहनुहुन्छ ?” उनी सोध्छन् ।
“म पत्रकार हुँ । तपस्वी महात्मा महामानवको परिचय ‘शान्तिपुर’ पत्रिकामा छाप्न चाहन्छु । आधी घन्टा पर्खने समय म तपाईंसँग कुरा गरेर बिताउँदा राम्रै होला भन्ने सम्झन्छु ।”
“हुन्छ, म तयार छु ।”
“तपाईं कसरी यो वृद्धाश्रममा बस्न आउनुभयो ? म बुझ्न चाहन्छु— तपाईंको कोही परिवार (छोराछोरी, बुहारी, ज्वाइँ, भाइभतिजा, पत्नी वा आफन्त नातागोता आदि) छन् या छैनन् ? यो वृद्धाश्रमको व्यवस्थापन कस्तो छ ? तपाईं यहाँ सन्तुष्ट हुनुहुन्छ ? अनि तपाईंको विचारमा ... ।”
“आम्मामा... यति धेरै प्रश्नहरू एकै साथ । तपाईं पत्रकारहरू सोध्न पाउनुभयो अथवा बुझ्ने मौका पाउनुभयो भने समग्र वृत्तान्त, हालचाल सबसब एकसाथ बुझ्न चाहनुहुन्छ । धैर्यताका साथ एकएकवटा मात्र सोध्नुहोस् ।” उनी रसिक बूढा रहेछन् र हाँस्छन् जोडले “हा... हा... हा... ।”
“हा... हा... हा...” मैले पनि नहाँसी धरै पाइनँ । हंसमुख उनी, उनको अगाडि गम्भीर भएर बस्दा आफू असामाजिक, अनौपचारिक र असभ्य भइने हो कि भन्ने डरले पनि म हाँस्छु र भन्छु— “हामी पत्रकारहरूको बानी नै प्रश्नहरू खन्याउने हो— पानीजस्तै । प्रश्नहरूले नुहाइदिएर खाटी कुरा पत्ता लगाउनु हाम्रो दायित्व हो । नरिसाउनुहोला अथवा नहाँस्नुहोला, म अब भने एकएकवटा मात्र प्रश्न सोध्नेछु । हा... हा... हा... ।”
“हा... हा... हा... ।” उनी पनि हाँस्छन् । हाँस्दा हामी चिन्तायुक्त तनावग्रस्त संसारबाट टाढा आत्मीयता, घनिष्ठता र मित्रताको निस्वार्थ प्रेममय निष्कपट तनावरहित शान्त परिवेशमा अवतरित हुन पुग्छौं ।
“तपाईं कसरी यो ‘मानव संसार’ मा बस्नु आउनुभयो ?”
“म कसरी यहाँ बस्न आइपुगेँ ? यो मेरो जिन्दगीसित जोडिएको प्रश्न मैले पनि निकैपल्ट गमेको छु र थाहा पाएको छु— जिन्दगी भनेको एउटा रमाइलो ख्यालख्याल खेल वा झेल रहेछ । खेल्दाखेल्दै, झेल्दाझेल्दै म यहाँ आइपुगेको छु यो स्थितिमा, अवस्थामा, जीवनको अन्तिम कालखण्डमा... तपाईंलाई पट्यार लाग्ला झर्कोलाग्दो मेरो निरस जीवनको कथाव्यथा सुन्दा ।” उनी गम्भीर र भावुक भएर मतिर हेर्छन् ।
“लाग्दैन । लाग्ने भए सोधेर कुरा उप्काउने नै थिइनँ नि । तपाईं कुनै कुरा नलुकाई भन्नोस् । पत्रिकाका लागि केही मसला, सामल वा खुराक प्राप्त होला कि ।”
“म... ” उनी सुदूरक्षितिजतर्फ हेर्छन् । मानौं उनी आफ्नो धेरै अघिको विगत वा भोगेको जीवनको स्वप्निल सम्झनामा हराउन पुगेका छन् । ख्वाक्ख्वाक् खोकेर गला सफा गरिसकेपछि भन्न सुरु गर्छन्— “म... ”
उनी अकस्मात् कहाँकहाँ हराए । थामिए, बोल्दाबोल्दै रोकिए र अर्कोपट्टि फर्किएर अनुहार लुकाए । केहीबेर उनको कुम मात्र हल्लिएको देख्छु । अर्कोपट्टि उनी किन फर्किए ? के उनी आफ्नो व्यथा लुकाउन चाहन्छन् अथवा पुरानो सम्झनामा रुमल्लिएर रुन थालेका छन् ? केहीबेरपछि मतिर फर्कन्छन् । आँखा चिमचिम गरेर फेरि हाँस्दै भन्न सुरु गर्छन्— “म कतिसम्म तपाईंलाई सुनाऊँ ? कति लुकाऊँ मनमा टुङ्गो गर्न नसकेर केहीबेर अलमलिएको छु ।” सिँगान फाल्ने निहुँ गरेर केही पर जान्छन् । केहीबेर मेरो आँखाबाट ओझेल पर्छन् र फर्कन्छन् ।
उनी पहिलाजस्तै तरोताजा भएका छन् । आफ्नो व्यथा पोख्न थाल्छन्— “म हरेकपल्ट आफ्नो विस्मृतिभित्र बिलाइसकेको विगतबारे जबजब भन्न थाल्छु, खाटा बसिसकेको बासी घाउ कोतरेर उप्काएझैँ दुख्छु तर प्रत्येक दुखाइमा एउटा अनौठो तृप्ति महसुस गर्न पुग्छु । त्यसैले म पटकपटक आफ्नो कथाव्यथा दोहो¥याई–तेह¥याई (सुन्ने मानिस पाएसम्म) सुनाइरहन्छु, सुनाउँछु । सुनाउँदा त्यो पुनः अप्राप्य अनमोल विगतमा पुगेको भ्रम पालेर ‘जीवन कति फासफुस... फुस्सा रहेछ’ भन्ने नमीठो अनुभूतिले पोलिन्छु, पिरलिन्छु । सुनाउँदा कतै म रोएँ भने यो कस्तो कमजोर रहेछ, काम नलाग्ने रहेछ— नठान्नुहोला । अब त म टेपरिकर्डर वा सीडी क्यासेटझैँ मेरो कथा दोहो¥याउनु, तेह¥याउनुमा खप्पिस भइसकेको छु । बुढेसकाल भनेकै के रहेछ र सुधार वा संशोधन गर्न नसकिने आफूले भोगेको विगत, बितेको जीवनकथा सुनाउने, सम्झने, सम्झेर रमाउने वा रुने क्षणिक र अन्तिम कालखण्ड रहेछ मानिसको ।” उनी मलाई पुलुक्क हेर्छन् ।
“अँ भन्नुहोस् । म बुझिरहेको छु ।” म भन्छु— “धन्दा नमान्नुहोस्, केही गरी तपाईंले असामान्य व्यवहार गर्नुभयो, भन्दाभन्दै रुनुभयो, हाँस्नुभयो वा अरू थोक गर्नुभयो भने पनि अन्यथा सम्झने छैनँ । तपाईं ढुक्क भएर अमुक, अबुझ दर्शक सामु नाटकमा झैँ अभिनय गर्दै हुनुहुन्छ भन्ने सम्झनुहोस् ।”
म गोलो घेरा बनाएर बसेका वृद्धहरूको झुन्ड हेर्छु । उनीहरू अझै त्यसरी नै अनेक हाउभावहरूका हात, टाउको र शरीर हल्लाएर छलफलमा व्यस्त छन् । तसर्थ मलाई हतार छैन । धनपालको कुरा सुन्नमा आफूलाई तम्तयार तल्लीन पार्छु ।
“म अहिलेजस्तो तगडा पूर्ण मान्छे जस्तो छु, पहिला त्यस्तो थिइनँ । मेरा इन्द्रियहरू पूर्ण विकसित थिएनन् । कुनै पनि काम ठीक ढङ्गले गर्नका लागि अरूको आदेश, निर्देशन, इसारा मलाई चाहिन्थ्यो । आफ्नो मनज्ञानले केही गर्न सक्तिनथेँ । झन्डैझन्डै म अर्ध गठेरो, हिनताग्रस्त म केही काम पूरा गर्न सक्छु भन्ने विश्वास थिएन । मेरो आमाबुबा असाध्य गरिब थिए । भाइबहिनीहरू पनि थुप्रै थिए । जब म केही ठूलो भएँ, घरमा सबैजना बसेर खान पुग्ने अवस्था नभएकाले गरिखान वा मागिखान सक्ने केटाकेटीहरूलाई स्वतन्त्र रूपमा सडकमा छाडियो, पठाइयो । गुँडबाट उड्न सक्ने भएपछि बचेराहरू उडेझैँ हामीले पनि चारो आहारको खोजीमा गाउँ, सहर, सडक, गल्ली, घरघर भट्किन र चाहर्न थाल्यौँ ।”
“म पनि एउटा सडकछाप बच्चो हुँदै, हुर्कंदै एउटा रिक्साचालक हुन पुगेँ । रिक्साचालक भएपछि, राम्रो आहारा खान पाएपछि म पनि तन्नेरी हुन पुगेँ... ” उनी भनिरहेका थिए । उता वृद्धहरूको छलफल सकिएछ क्या र ! उठेर सबै हिँड्न थाल्छन् । उनलाई बीचैमा रोकेर म भन्छु— “उनीहरूको छलफल सकियो होला । हिँड्दै छन््, तपस्वी महात्मा महामानवलाई बोलाएर ल्याउनुहोस् ।”
“मेरो कुरा पूरा सुन्नुहुन्न ?” उनी सोध्छन् ।
“अरू कुनै दिन सुनौला ।” म भन्छु ।
“होइन, अब केहीबेरमा नै मेरो कुरा सक्छु । मेरो कुरा सकिएपछि महात्मा महामानवलाई उनीहरूकै कोठामा भेटाउँदा हुँदैन ?”
“त्यसो हो भने हुन्छ ।” मन नलागीनलागी भन्छु । उनी सुरु गर्छन् ।
“म ‘ननस्टप’ पारामा केहीबेरमा नै मेरो कुरा सक्नेछु । पृष्ठभूमि सुनिहाल्नुभयो । एउटा महागरिब दरिद्रको छोरो गरिब रिक्सावाला मलाई एउटी शरणार्थी युवतीसँग विवाह गर्ने प्रस्ताव आयो । मसँग जीउतनबाहेक केही नभएको कुरा सुनाएँ । केटी राजी भइन् । विवाह भयो, एउटा छोरो जन्मियो । छोरो जन्मिएपछि सरलाको मन मबाट अघायो, भरियो । एउटा सम्पन्न बिधुरसँग तिनको लसपस हुन थाल्यो । छिमेकीहरूले सुझाएमुताविक उनीहरूलाई रङ्गेहात पक्राउ गरेर प्रहरीथानामा बुझाएँ । सरला पोइल गइन् । मसँग रह्यो सानो छोरा सम्देन । सम्देनलाई रिक्सा कुदाएर कमाएको पैसाले बोर्डिङ स्कुल पढाएँ । राम्रो पढाइ भएकोले छात्रवृत्ति पाएर डाक्टर भयो । डाक्टर छोरोले सम्पन्न परिवारकी बुहारी ल्यायो । अनि त्यसपछि.... ।”
उनी रोकिए । तर मलाई उत्सुकता भइरहेको हुन्छ र सोध्छु— “त्यसपछि के भयो ? तपाईंको छोराबुहारी अहिले कहाँ छन् ?”
“उनीहरूसँग केही वर्ष बसेँ । त्यस अवसरमा म हृष्टपुष्ट भएँ, पढ्नलेख्न पनि त्यही बेला सिकेँ । मेरो गठेरापन त्यति बेलादेखि समाप्त भयो । उनीहरू विदेश गएका छन् । नातिनातिनीहरू पनि भइसकेका छन् । फर्केर नआउन्जेल भनेर यो वृद्धाश्रममा राखेका छन् । यत्तिका धेरै वर्षहरू बितिसक्यो कि अब मलाई लाग्न थालेको छ.... उनीहरू कहिल्यै फर्केर आउँदैनन् । फर्के पनि उनीहरू फर्कंदा म मरिसकेको हुनेछु । हा... हा... हा... ” उनी मज्जाले हाँस्छन् ।
म पनि हाँस्छु । तर मन बाउँडिएर आउँछ र नभनी सक्तिनँ । भन्छु— “कस्तो व्यङ्ग्य ? कस्तो ठगाइ हो जिन्दगीको ? अनेक दुःख गरेर छोरा पढाउनु, हुर्काउनु भयो । अहिले वृद्धावस्थामा तपाईंलाई हेरचाह गर्नका सट्टा विदेश गएर बसेका छन्... ।”
“जाऊँ अब, उनीहरूलाई भेट्न । हिँड्नोस् ।”
एउटा सफासुग्घर सानो कोठामा दुई जना वृद्धहरू बसेका छन् । हामीलाई देखेर उत्सुकता आँखामा बोकेर दुबै जना स्वागतमा उभिन्छन् । म भन्छु– “बस्नुहोस्, बस्नुहोस् । म ‘शान्तिपुर’ पत्रिकाको पत्रकार तपस्वी महात्मा महामानवलाई भेट्न चाहन्छु ।”
“बस्नुहोस् । तपाईं तीनै जनालाई एकसाथ भेटिरहनुभएको छ ।” एक जना वृद्ध भन्छन् ।
“को तीन जना ? कस्तो तीन जना ?” म सोध्छु ।
“तपस्वी, महात्मा र महामानव हामी तीन जना हौं । सँगसँगै हिँड्ने, बस्ने हुँदा मानिसहरू हाम्रो नाम एक साथ लिन्छन् । त्यसरी नाम लिँदा धेरैलाई भ्रम परेको छ कि तपस्वी, महात्मा र महामानव एउटै मान्छे हो ।”
“तपस्वी, महात्मा र महामानव कोको हुन् त ?”
“अहिले तपाईं जोसँग आउनुभयो, उनी तपस्वी हुन् । उनले तन्नेरी उमेरमा स्वास्नी पोइल गएपछि तपस्या गरेझैँ अनेकौं दुःखकष्ट सहेर परिश्रम, तपस्या गरेर छोरो हुर्काए, पढाए र एउटा लायक मानिस बनाए । त्यो देखेर उनलाई मानिसहरूले तपस्वी भनेका हुन् ।” अघि बोल्ने वृद्ध भन्छन् ।
“अहो... म त झुक्किएर एउटै मानिस सम्झेर खोजिरहेको थिएँ । तपाईं तपस्वी हो भन्ने थाहा पाएको भए तपाईंको कथाव्यथा सविस्तार सुन्ने थिएँ ।”
“त के भयो ? मोटामोटी मैले सुनाइहालेँ । नुन, अचार, मसला थप्ने, काँटछाँट गरेर कलात्मक, मधुर बनाउने, लालित्य भरेर बान्कीदार बनाउने काम त सुन्ने मानिसको हो ।” तपस्वी धनपाल भन्छन्— “सुन्ने मानिसमा भावना छैन भने जति सविस्तार सुनाए पनि खल्लो हुन्छ । भावना, कल्पना र कथालाई कलात्मकतामा ढाल्ने क्षमता श्रोतामा भएमा सङ्क्षेपमा भनिएको घटना पनि रोचक हुन्छ, हा... हा... हा... ”
“हा... हा... हा... ” हामी सबै हाँस्छौं । उनको भन्ने शैली र हाँस्ने पाराले सबैलाई हसाएको हुन्छ ।
“अब तपाईंहरूमध्ये को महात्मा ? को महामानव ?”
“अडकल गर्नोस् त । कोको होला ?” तपस्वी भन्छन् ।
म दुबै जनालाई हेर्छु । दुबैको वृद्ध अनुहारमा केही भावुकता, समयले छोडेको निरङ्कुशता, निरपेक्षता र अन्य प्रभावहरू देखिँदै छ । एक जना सानो गाठीका गान्टे छन्, म उनलाई देखाएर भन्छु– “उहाँ महामानव !”
“हा... हा... हा... ” हामी सबै हाँस्छौं कोठा थर्काएर । सिमेन्टको कम अनुपात भएको भए भित्ता चर्किने थियो ।
“ठीक अडकल गर्नुभयो । क्षतिपूर्तिको सिद्धान्त, विचारलाई ठट्टामा परिवर्तन गर्ने मानिसको बानीले लघुमानवलाई महामानव भनेर सम्बोधन गर्दा क्षतिपूर्ति हुँदो रहेछ, हा... हा... हा... ”
हाँसो । उन्मुक्त हाँसो, हाँसोमा मानिसलाई तनावरहित बनाएर आत्मीयता र अपनत्व महसुस गराएर नजिक ल्याउने शक्ति हुने भएकाले म उनीहरूलाई आफ्नै सम्झन थालेको हुन्छु । निस्फिक्री प्रश्नहरू सोध्छु— “तपाईंहरू कसरी यो वृद्धाश्रममा आउनुभयो ? तपाईंहरूको जीवन भोगाइका अनुभव के छ ? अनि तपाईंहरू ... ।”
“लु... फेरि तपाईं यत्तिका धेरै प्रश्नहरू एकसाथ सोधिरहनुभएको छ ।” तपस्वी सम्झाउँछन् ।
“स्वाभावश... ‘लागेको बानी को छोड्छ’ भनेर बुहारीले ढाडु चाटेझैँ ... हा... हा... हा... ।”
“हा... हा... हा... । अब नहाँसौँ । हाँस्दाहाँस्दै दस गाउँ डुबिजाला । कामको कुरामा आऊँ ।” महात्मा भन्छन् ।
“अब तपाईंहरू आफूले भोगेको जिन्दगीको कथाव्यथा पालैपालो सुनाउनुहोस् । त्यसैका लागि म यहाँ आएको छु ।”
“हुन्छ, हुन्छ ।” उनीहरू दुबै जना एकसाथ भन्छन् । एकआपसमा मुखामुख गरेर भन्छन्– “तपाईं पहिला ।”
“तपाईं पहिला सुनाउनुहोस् ।”
“उपाय निकाल्छु म, कसले पहिला सुनाउने ? चित भएमा महात्माले र पोट भएमा महामानवले । मञ्जुर ?”
तपस्वी धनपाल एउटा सिक्का आकाशतर्फ फाल्छन् । सिक्का भुइँमा खस्छ— चित ।
“मारा... ।” जुवाडेझैँ कराउँछन् महात्मा । “सुन्नुहोस् मेरो विगत, मेरो कथाव्यथा । म अत्यन्त रिसाहा युवक थिएँ । रिसाहा साथै रक्स्याहा पनि थिएँ । एक रात निकै अबेला मातेर कोठामा पुगेर बत्ती बाल्छु । के देख्छु ? पत्नीसँग एउटा परपुरुष सुतिरहेको छ । रिसले मात्तिएर कत्ति हातमा लिएर काट्न जाइलाग्छु दुबैलाई... तर के अचम्म ? आश्चर्य ! आवेग अकस्मात् शान्त हुन्छ । रिस मत्थर हुन्छ । मेरो हात लल्याकलुलुक भएर कत्ति भुइँमा खस्छ । दुबै जना भाग्छन्... उनीहरूको ज्यान बच्छ । म ज्यानमारा हुनबाट जोगिन्छु । तर मभित्र विश्वासघात, धोकाको पीडा ज्वाला भएर दन्किन थाल्छ र म हिँड्छु घरबार छोडेर यन्त्रचालितझैँ कताकता निरुद्देश्य... हिँड्दाहिँड्दै महात्मा भएँ । हिँड्दाहिँड्दै आज म मानव संसारमा आइपुगेको छु । कथा यति... जीवन यति ।”
उनी हामीतिर हेर्छन्— “जीवन यति । यो महात्मा सम्झँदो होला ऊजस्तै आफ्नो कथाव्यथा सुनाइसकेपछि म पनि सहानुभूतिको दुई थोपा आँसु चुहाउनेछु ।”
“तिमी हृदयहीन, संवेदनाहीन मान्छेसँग आँसु भए पो चुहाउँछौं ।” महात्मा भन्छन् ।
“म तिमीजस्तो रुन्चे होइन । रोएर बितेको जिन्दगीको अवमूल्यन गर्ने ? त्यो जीवन थियो, सम्झेर गर्व गर्नुपर्छ ।” तपस्वी भन्छन् ।
“कुकुरबिरालो तिमीहरू । पत्रकारको अगाडि त नबाझ । आफ्नो कइरन नखोल ।” महामानव भन्छन् ।
दुबै चुप लाग्छन् । केहीबेरपछि महात्मा भन्छन्– “महामानव, अब सुनाउने तिम्रो पालो ।”
महामानव कन्तुर खोल्छन् । कन्तुरभित्र झन्डैझन्डै रङ उडिसकेको तस्बिर हुन्छ । त्यसलाई झिकेर देखाउँदै भन्छन्– “यो तस्बिर मेरो जीवनको महाठट्टा हो ।”
तस्बिरमा एउटा तन्नेरी, एउटी सुन्दरी युवती र तिनको काखमा गुडियाजस्तो बालक छ ।
“यो तस्बिर हुलाकबाट आएको चिठीभित्र पाउनासाथ च्यातिदिऊँजस्तो लागेको थियो । रिसले, झोकले च्यात्नै आँटेको थिएँ तर दस मनहरूमध्येको एउटा मनले ‘राखी छाड, कुनै दिन काम लाग्न सक्छ’ भन्यो । तस्बिर च्यातिनँ र राखेँ । नभन्दै काम पनि लाग्यो ।” महामानव भनिरहेका हुन्छन् ।
“कस्तो काम लाग्यो ?” उत्सुकतावश म सोध्छु ।
“म र मेरी तात्कालिक पत्नी पुष्पाबीच असाध्य प्रेम, मायाप्रीति थियो जुन प्रत्येक नवविवाहित जोडीहरूमा हुने गर्छ । म उनीबिना बाँच्नै सक्तिनँ भन्ने सोचिरहेको थिए । तिनी पनि त्यस्तै सोचिरहेकी थिइन् । सम्पन्न घरको छोरो भएकाले मलाई सम्पत्तिको दुःख थिएन । सुख, सम्पन्नता र शान्ति घरपरिवारमा व्याप्त थियो । क्षणक्षण गर्दै दिन, दिन गर्दै महिना र महिनामहिना गरेर वर्षहरू बिते । पाँच, छ... आठ वर्षको लामो समयमा पनि हाम्रो सन्तान नहुँदा दाम्पत्यजीवन निराशामय, दुःखद र बोझिलो भयो । अब म ‘बाँझी, बैला’ भनेर पुष्पालाई कटुवचन लगाउँदै घृणा गर्न थाल्छु ।
तिनी पनि मुखाले हुँदै गइन् । रातदिन झगडा भइरहन्थ्यो । जोरीपारीको अगाडि ‘अपुताली, निःसन्तान’ भन्दा मरेतुल्य हुन्थेँ । त्यो रिस म पुष्पामाथि खन्याउँथे, दोष दिन्थेँ । प्रतिदिन मेरो कुटाइ खानु तिनको नियति भएको थियो । सासू, ससुरा, देवर, देवरानी सब तिनलाई ‘बैला’ भनेर हेला गर्थे । कष्ट र पीडाले सुकेर तिनी सिन्कासिध्राझैँ भएकी थिइन् । एक रात कुटेर तिनलाई घरबाट निकालिदिएँ ।
... तिनी गइन् कता ? खोजखबर गरिएन । ‘स्वास्नी मारेर लुकायो कि ’ भन्ने पनि शङ्का गरे तर प्रमाणको अभावमा माइती पक्षले पनि केही गर्न सकेनन् । मलाई पनि डर लाग्न थालेको थियो कि कतै तिनले आत्महत्या गरी भने... त्यस्तै करिब तीन वर्षपछि पत्र आयो, पत्रभित्र यो तस्बिर थियो । पत्रमा तिनले लेखेकी थिइन्– “म बाँझी होइन । मसँगै उभिएका मेरा पति हुन् र मेरो काखमा बसेको हाम्रो छोरो हो । तिमी नै सन्तान जन्माउन नसक्ने नपुंसक नामर्द रहेछौ ।”
हजारवटा अरिङ्गालले एकसाथचिलेझैँ, हजारवटा सुइराले मुटुमा रोपेझैँ म आहत, मर्माहत भई विक्षिप्तझैँ हुन्छु । तस्बिर पठाएर आफ्नो आवाद जिन्दगी देखाएर मलाई नामर्द साबित गरेर पुष्पाले मेरो मर्ममा नै प्रहार गरेर बदला लिइन् । म नामर्द, नपुंसक ?”
झन्डै मैले आत्महत्या गरेको । मेरो बलियो मनले सम्झायो– ‘आत्महत्या गरेर आफू कायर भएको प्रमाण नदे, दोस्रो विवाह गरेर छोरो जन्माएर तैँले पनि पुष्पालाई देखाइदे ।’
हो म पनि त्यस रन्डीलाई देखाइदिन्छु । तर समय बित्दै जाँदा दोस्रो विवाह गर्ने इच्छा सेलाउँदै गयो । दोस्रो विवाह गरेर पनि मेरो सन्तान जन्मिएन भने... म अस्पताल गएर पुरुषत्व जाँच्न डराइरहेँ । जचाउँदा सत्य प्रकट हुन्थ्यो । साँच्चै म अक्षम भएँ... सत्य के थियो ? सत्य थाहा नै नपाई सत्यलाई म तुहाउन चाहन्थेँ । मेरो जीवनको महाव्यङ्ग्य त्यो तस्बिर देखाएर पुष्पा पोइल गएकी र मैले बेपत्ता नपारेको प्रमाण समाजमा दिन समर्थ हुन्छु । तर एक्लो म... विकल, व्यथित, असमर्थ म, बहसूल मुटुभित्र हुर्काएर बाँचिरहेको थिएँ ।
आफ्नोे सारा शक्ति र सामथ्र्य सम्पत्ति कमाउनपट्टि लगाएँ । थुप्रै सम्पत्ति कमाएँ । आमाबुबालाई मृत्युपर्यन्त सेवासुश्रुषा गरेँ । उहाँहरूको मृत्युपछाडि नितान्त एक्लो भएँ । भाइभतिजाहरू मेरो शेखपछि मेरो सम्पत्ति खान मुख आँ... गरी बसिराखेका थिए । अनेकौं दुःखकष्ट गरेर कमाएको सम्पत्ति अरूलाई खान दिनुको सट्टा ‘मानव संसार’ लाई दान दिएर अहिले म यहाँ नै सुख, सन्तोष र शान्तिसित बसिरहेको छु । सहज मृत्यु परिर्खरहेको छु, वीरतासाथ मृत्युवरण गर्न अरू वृद्धहरूझैँ तयार भई बसेको छु । मेरो सानो कदलाई होच्याएर ‘लघुमानव’ भन्नुको सट्टा यी फटाहा तपस्वीले मलाई ‘महामानव’ भनेका हुन् र अहिले म महामानव भएको छु । सम्पत्तिजस्तो तुच्छ वस्तु दान दिएर कोही महामानव बन्छ र ?”
तपस्वी, महात्मा र महामानव तीन जना भए पनि उनीहरूबीचको मित्रता, अपनत्व र आत्मीयता देखेर उनीहरू तीन जना नभएर एकै जना भएसरी हुन् भन्ने लाग्छ । उनीहरूलाई एक ‘तपस्वी, महात्मा, महामानव’ बाट छुट्याएर तीन टुक्रा पार्न सक्तिनँ, चाहन्नँ र पत्रिकामा तपस्वी, महात्मा, महामानवकै रूपमा उनीहरूलाई एक ढिक्का प्रस्तुत गर्ने अठोट गर्छु ।
गरिमा वर्ष २८, अङ्क १२, पूर्णाङ्क ३३६, मङ्सिर २०६७