Tuesday, December 29, 2015

१२.(लघु कथा ) पुस्तक

(लघु कथा )

पुस्तक


सरण राई

समय बगिरहेको खोला जस्तो रहेछ । रोकिँदेन, निरन्तर बितिरहेको हुन्छ । मानिसलाई समय बितेको पत्तै हुँदैन । मलाई पनि मेरो यौवनकाल बितेको पत्तै भएन । जागिरबाट उमेरको कारणले अवकाश पाएपछि थाहा भयो जीवन कसरी केही नगरी स्वात्तै बितेछ ? अब म के गर्न सक्छु र !?
म त्यति बेलाका मेरा साथीहरूलाई सम्झन्छु । नारायण घमण्डी भएपनि ऊ मसँग असाध्य मिल्थ्यो । हरदेव र नारायण पनि मिल्थे । हरदेव लेखक थिए, उनले  लेखेको एउटा पुस्तक उनले आफ्नै खर्चले छापेका थिए । साथी भाईहरूलाई त्यो पुस्तक किनिदिन  र पढेर सुझाव दिन आग्रह गरिरहेका थिए ।
मलाई पनि उनले पुस्तक दिए । पैसा नभएको बहाना गरेर पुस्तक उधारो लिएँ । मदिरासेवन र अनेकौँ नचाहिँदो कुराहरूमा म फूरमासी गर्थे, अनावश्यक खर्च गर्थेँ । तर त्यो पुस्तकको मूल्य मैले तिर्न चाहिनँ र तिरिनँ । मैले त्यो पुस्तक पनि पढिनँ । उनले पनि ताकेता गरेनन् । समयको अन्तरालमा हामी साथी भाईहरू छुट्टियौँ, भेट हुन पनि छाडेको छ ।
आज तीस वर्षपछि  आफ्नो त्यति बेलाको नकच्चरोपनदेखि म आफै एक्लै लज्जित भइरहेको छु ।
नारायणले मलाई त्यति बेलै सोधेका थिए, “पुस्तक पढ्यौ ?”
“छैन ” मैले जवाफ दिएको थिएँ ।
“पढ, राम्रो छ । मैले पढि सकेँ । म अत्यन्त प्रभावित भएको छु ।”उनले नम्र भएर भनेका थिए । उसको त्यस्तो नम्रता देखेर म आश्चर्य चकित भएको थिएँ । तर त्यसपछि उनी सदैव नम्र, भद्र, सहयोगी र सेवामुखी भए । आज मलाई प्रष्ट भएको छ त्यो पुस्तक पढेर आफ्नो घमण्डीपन त्यागेर उनी सप्रिएका थिए ।
आज तीस वर्षपछि अचानक मलाई हरदेवले लेखेको पुस्तकको सम्झना भयो । मैले त्यो पुस्तक पढ्न थालेँ । सुरुमा केही पृष्टहरू पढ्न गा¥हो भयो तर त्यसपछि भने चुम्बकले फलामलाईझैँ त्यस पुस्तकको अध्ययनले तान्न थाल्यो । पुस्तक पढ्दै जाँदा मभित्र नयाँ नौलो परिवर्तन हुँदै जान थाल्यो । अन्तमा म पूर्ण नौलो जीवनको उत्प्रेरणाले आलोकित हुन पुगेँ ।
त्यो पुस्तक पढिसकेपछि मलाई केही अनुभूतिहरू भएको छ । पहिलो मैले त्यो पुस्तक आजभन्दा तीस वर्ष अगाडि नै पढेको भए मेरो जीवनको गति र प्रवाह नै अर्कै हुन्थ्यो । त्यति बेला मैले किन पढिनँ ? म अहिले थक्थकाउँदै छु ।
तीस वर्ष पछि नै भए पनि अहिले मैले त्यो पुस्तक पढेँ । धन्न, पढेँ । नपढेका भए मैले जीवनको एउटा महŒवपूर्ण पाटोको रहस्य जान्नबाट म वञ्चित रहने थिए ।
 त्यो पढेपछि मलाई जीवनको अर्थ खुलेजस्तो भएको छ । जीवनको सार्थकता के हो ? प्रष्ट भएको छ । धमिराले खाएर टोडका पर्दै जाने रुखझैँ भइसक्न लागेको मेरो शेष जीवन सुकार्य, सेवा र मानव जीवनको समर्पणमा लगाउने उत्प्रेरणा प्राप्त भएको छ ।

लेखनीको माध्यमबाट मजस्ता हजारौँलाई आँखा देखाउने हरदेव आज प्रख्यात लेखक भएका छन् । नारायण पनि सामाजिक सेवाको क्षेत्रमा मान्य व्यक्ति भएका छन् । यस्ताका साथी हुन पाएकोमा म पनि हर्षित छु ।

२०६९।२।२७।७, धरान

Monday, December 28, 2015

४.(लघु कथा) रहस्य

लघु कथा
रहस्य
सरण राई

बेलुकीको खाना पकाउने बेला भईसक्यो | दिउसो घाम नलागेकोले 'सोलार'को बत्ति पनि सधैको जस्तो चहकिलो बलि रहेको छैन | मलाई पनि बिसन्चो भएकोले जाँगर लागिरहेको छैन | दाउरा कसले ल्याई देला ? सोचिरहेको हुन्छु |
नभन्दै धनबहादुर एक अँगालो दाउरा लिएर आउँछ | अगेना छेउ दाउरा राखेर अन्खोराको पानि पिउछ | आज ऊ निराश जस्तो देखिन्छ | केहि बोलेको पनि छैन | आँखा पनि झुकाएकोझुकाएकै छ |
मान्छेको मन सधै कहाँ एकै प्रकारको हुन्छ र ? कुनै समस्या परेको होला | म सम्झन्छु | त्यति नै बेला फूलमायाको फोन आउछ |
"माईली भाउजु , दाई कता हुनुहुन्छ ? अस्पताल पठाई दिनु होला तुरुन्तै .."
"किन र ? "
" अब मेरो पति धनबहादुर छैनन् | ३ बजेतिर एक्सिडेन्ट भएर उनको देहान्त भयो |लास अस्पतालमा राखेको छ |" फूलमाया रोएको फोनमा नै सुन्छु |
फुलमाया के भनिरहेकी छिन्  ? धनबहादुर यहाँ आएको छ | म सबैतिर हेर्छु | कोहि छैन | अगेना छेउ दाउरा छ, धनबहादुरले पानी खाएको अन्खोरा पनि छ | तर धनबहादुर छैन | कस्तो अचम्भ ?
२०७२ असोज २९ , धरान
http://kathaasansaar.blogspot.com/