Thursday, September 22, 2011

(कथा) खराब सोचाई

  •  
    सरण राई



बढि  भावुक कुनै कुनै समय म भई दिन्छु | असंगत र असम्बन्धित सोचाइहरु मगजभरी आउँछ | अझ दिनभरी काम नहुँदा र बात  मार्ने साथी  नभएर एक्लो भएको बेला कस्तो कस्तो कल्पनामा म बग्छु, म  आफैलाई समेत थाहा हुँदैन |
यस्तै कल्पनामा उड्दै म चिसो हावाको खोजमा बाहिर निस्कन्छु | दोछायामा परेका बाङ्गा टिङ्गा लहराजस्ता छायाहरुले मलाई बिषालु साँपको भ्रममा पार्दछ |साँपले मलाई डस्छ, मेरो मृत्यु निश्चित छ, म केवल एक घण्टा बाच्छु | म झस्किन्छु, म यो एक घण्टाको जीवनमा के गर्छु ? अहा मलाई यो जीवनको मोह उब्जिन्छ , कति अमुल्यवान यो प्राण छ— अफशोच लाग्छ |तर कस्तो खराब बिचार यो मगजमा आउने गर्छ , मलाई साँपले डसेकै छैन | म सतर्क हुँदै आफ्नो मनको भ्रम निवारण गर्दै आफैलाई सम्झाउछु तर शङ्का उब्जिन्छ |
केहि दिन अगाडी माछाको तरकारी खाँदा 'माछाको काडा घाटीमा अडकिएर ठुला ठुला धेरै मानिसहरु मरेका छन्' भन्ने सम्झदै खाईरहेको थिए | मेरो पनि घाटीमा काडा अडकिन्छ, गाडिन्छ कि म निकाल्ने सक्तिनँ 'भन्ने सम्झदै बढि सतर्क भएर माछाको एक टुक्रा छपाई रहेको थिए , बेसुधमा निलेछु एउटा काडा साँच्चै गाडिएको महसुस गरें | घाटीमा होइन जिब्रोको जरामा जसलाई मैले निकै निकाल्ने प्रयत्न गरें , हरेस खाएर डाक्टरकहाँ पुगेपछी मात्रै छुटकारा पाए | कस्तो साक्षात सोचाई, त्यस्तै  आजको खराब सोचाई पनि साक्षात भयो भने  ....
केवल एक घण्टा !
मात्र एक घण्टाको मेरो जीवन |मेरा असख्य दायित्वहरु; एक घन्टाभित्र म के गर्छु ?
मेरा प्रियजनहरुको चेहरा  मेरो आँखामा झुल्किन्छ |मेरो प्रिय पत्नी, एक वर्ष  नपुगेको छोरो, भर्खर स्कूल जान लागेकी छोरी | बैंशले छाडेका मातापिता , भाईबहिनी सब ममाथि आश्रित छन् |आयु सिध्दिएको मृत्युको मुखमा भएको म उनीहरुलाई कस्तो शन्देस दिन्छु होला |
पत्नीलाई— मेरो अभावमा तिम्रो सुखमा बाधा नपरोस |तिमी विवाह अघि झैं स्वतन्त्र छौ, तर छोराछोरीलाई राम्रो लालन पालन गर्ने तिम्रो अभिभारा |
मातापितालाई— दु:ख नमान्नु नातिनातिनीको चेहरामा मेरो अपूर्णताहरु पूर्ण भएको हेरर सन्तोष गर्नु | भाईबहिनीलाई— सधैं उन्नति र श्रम गरेर जीवनको उज्यालोले धरतीलाई आलोकित पार्नु |
छोराछोरीलाई— आमालाई नसताउनु | मेरो अधुरो कामहरु पुरा गर्नु |मेरो हार्दिक कामना र आशिर्वाद |
साच्चै म यस्तै कामनाहरु व्यक्त गर्छु होला त |विवादास्पद कामनाहरु , म आफै शङ्का गर्छु  | म त्यति महान भएर त्यस प्रकारको कामना सायद गर्न सक्तिन | यदि गरिहालें भने पनि बाँच्नेहरुले मेरो
शन्देसको पालना गर्न सक्ने छैनन् र त्यसभन्दा बेग्लै प्रकारको इच्छा पनि सायद म व्यक्त गर्न सक्तिनँ |मेरो पत्नीलाई मैले स्वतन्त्रता दिएँ , सुख ब्रिध्दिको कामना साथै छोराछोरीको लालनपालनको अभिभारा सुम्पे तर्कसङ्गत छैन , व्यवहारमा साकार हुन् सक्तैन | त्यस्तै  अरूप्रतिको मेरो इच्छा पनि |
जसलाई पहिले आफ्नो मृत्युको निश्चितता थाहा भएको हुन्छ, उनीहरुले पनि यस्तै इच्छा व्यक्त गर्छन त | अँ ह मलाई थाहा छैन | बेग्लाबेग्लै इच्छा बेग्लाबेग्लै मानिसहरुले व्यक्त गरेका छन् जुन इच्छाहरुले वास्तवमा उनीहरुको जीवनको इच्छाको पूर्णताको झलक दिन सक्तैन | इच्छा, संदेश ,कामना  सधैं अधुरो हुन्छ जसमा गर्नेको आदर्श पूर्णतया प्रतिविम्वित हुन सक्तैन | आदर्श प्राप्ति त बाँचेर निरन्तर सङ्घर्ष गर्दा केहि अंश अंशमा प्राप्त हुने वस्तु हो | साँच्चै म पनि एकै घण्टा बाच्ने भए भने ...
बाँच्ने अभिलाषा , जीवनप्रति मोह , स्नेह, विरक्ति , खिन्नताको भावहरुले भरिएको मेरो चेहरालाई हेरेर मेरा प्रियजनहरुको आँखामा आँसु ढळपळ भएको देख्दा म यी सन्देशहरु सायद भन्न सक्तिन होला |अनि मलाई जीवनप्रति अगाध, असिम, अतुलनीय मोह उब्जेर एउटै मात्र चित्कार गर्न पुग्छु होला — मलाई बचाउ, म बाँच्न  चाहन्छु |
सायद म बाच्दिन भन्ने थाहा भएर पनि बाच्दिन वा बाँच्छु कि भन्ने आफ्नै विषयमा सोच्दा र बाँच्ने प्रयत्न गर्दागर्दै सायद अरु कसैको बारेमा सोच्ने पो सक्दिन कि ?आफ्नै बारेमा मात्र सोच्दासोच्दै मेरो प्राण पखेरु उडी हाल्छ कि ?....
म अझै कति वर्ष बाँच्छु , छि कस्तो दु:खदायी खराब सोचाई |


साभार
केही कथा केही कविता - (सम्बत २०३८)


Tuesday, September 20, 2011

जब घाम डुब्न लाग्छ




सरण राई

ध्वासे बादल रंगिन्छ जब घाम डुब्न लाग्छ |पश्चिमपट्टिको आकाश सधवाको सिउदो झैँ सिन्दुरे रंगले पोतिन्छ  |घाम गोलो सिन्दुरको डल्ला झैँ भएर डुब्न लाग्छ रातको आगमनको पुर्ब संकेत दिदै |ऊ  अस्ताउदै गरेको सूर्यलाई हेर्न चाहदैन तर फेरी हेर्छ जसले एक प्रकारको विरक्तिको भाव उसको अन्तष्करणमा उब्जाई दिन्छ |
अनेक प्रकारका बिचार, कल्पना र भावनाहरुले उसको अन्तष्करणको शान्ति खलबलिन्छ |द्वन्द्व मानसिक तिब्र द्वन्द्वभित्र पीडाको अनुभव उसलाई हुन थाल्छ |उसले लेखाजोखा गर्न थाल्छ दिनभरी उसले के के गरेको छ |
उपलब्धि केहि भएन , प्रयत्न र निस्क्रियतामा  केहि फरक नभएको देख्दा _ उसलाई लाग्छ ऊ फेरि  ठगिएको छ , उसले पाउनुपर्ने उपलब्धि पाएको छैन | उसले भोग्न सक्नुपर्ने सफलताको सुखबाट ऊ बन्चित भैरहेछ |असफलता _ निरन्तर असफलताले आशा र विश्वासको सहारामा अगाडी बढ्ने मानिसको जीवनमा निराशा,कुण्ठा र आत्मग्लानी को सृष्टि पनि गर्न सक्छ ...
आफ्नै नाम ; सुचना पाटीमा टासिएको सफल उम्मेदवारहरुको नामावलीको सूची मा सबै आफ्नै नाम
हेरिरहेका थिए | भीडमा ठेलमठेल गर्दै ऊ सुचना पाटि छेउ पुग्न सफल हुन्छ तर आफ्नो नाम ऊ फेरी सफल उम्मेदवारहरुको नामावलीमा पाउदैन | आशाको कल्पनामा बनिएको सपना फेरी एकपल्ट भत्केको  महसुस गर्दै  ऊ सपनाको रानीलाई भेट्न, उकुसमुकुस भएका भाव अभिव्यक्तिहरु पोख्न रानीको घरतिर लागेको हुन्छ |
'रानी , मेरा कुराहरुलाई स्विकार गर |'
'आधारहरुको अभावमा ?'
'तर स्विकार नगरे पनि अस्विकार नगरी हाल ; म आधारहरुको संकलन छिट्टै गर्नेछु | मलाई केहि
दिनहरु मात्र पर्खिदेउ |'
जीवन निर्वाहको निम्ति पेसाको छनोट गर्दा गर्दै केहि दिन बित्यो | सपनाको रानी ऊबाट टाढा  भइन् _ सम्पूर्ण संसार उजाड भएको जस्तो उसलाई लागेको थियो | ऊ एकपल्ट लोत्यो तर फेरी उठ्यो | ऊ जीवनको बाजी जित्न चाहन्थ्यो _ उसले सपनाको रानीलाई करैले बिर्स्यो |पेसाको छनोट गरिसकेपछि सपनाको होइन यथार्थको कटु पीडा , कष्ट झेल्दै दाम्पत्य जीवन सपनाको रानी बिना नै उसले आरम्भ गर्यो _जुन उसले गर्ने पर्थ्यो |
विगतका सम्झनाहरु पुराना घाउको टाटा झैं मात्र हुन्छ |अब सपनाले उसलाई पहिला झैं प्रभाव पार्दैन अनि पीडा दिदैंन | बरु एक प्रकारको मिठास दिन्छ तर प्यास होइन |
जुन भौतिक साधनहरुको अभावमा ऊ असफल भएको थियो, ती साधनहरु, आधारहरु ऊसित आज छ | आज ऊ उपलब्धिहरुको लेखाजोखा गर्दै छ _ ठोस  उप्लब्धिहरुको लेखाजोखामा ऊ फेरी असन्तुष्ट भएको छ |ऊ आफू  फेरि  एकपल्ट ठगीए  झैं लाग्छ आफुलाई असफल पाएर ,उपलब्धिहरुको सिडिमा चढ्दै सफलताको स्वर्गमा पुग्ने आकाङ्क्षा भत्केको देख्दा कालो भयङ्कर निराशाको खाडलमा डुब्दै गरेको ऊ अनुभव गर्न पुग्छ |सधै असफलता _ बिना उपजब्धि निरर्थक दिनहरु | डुब्न लागेको सूर्यलाई ऊ फेरि  हेर्छ _ अनायास उसका आँखाहरुबाट आँसु बग्छ |
ऊ हेरिरहन्छ मानौ त्यो डुब्दै गरेको सुर्य सुर्य नभएर उसले कैयौ दिनहरुको श्रमबाट संचय गरेको अनमोल जीवन हो_  यौवन हो |
निष्क्रियता मृत्यु हो | निरुद्देश्यता  रोग हो भने प्रयत्न जीवनको निम्ति बचाइरहने हावा , पानी  र भोजन हो |उसको प्रयत्नमा कुनै दोषहरु होला , त्यसैले ऊ उपलब्धि हाशिल गर्न असफल भै रहेको छ | उपलब्धि-जीवन उसको मष्तिस्कमा तर्क वितर्कको भुमरी  उठछ | अवस्य नै उसको आस्था , आराधना त्रुटिपूर्ण छ नभए हावामा हल्लाएको हातले पनि पंखाको काम गरेको हुन्छ |एकाग्र नभएर पनि एकाग्र भएर सोच्ने बानी उसलाई लागेको हुन्छ |उसको सोच्ने क्रम जारि भैरहन्छ |
भोलिदेखि ऊ एकाग्रसित सक्रिय  भएर ठोस उपलब्धि हाशिल गर्ने सशक्त प्रयत्न श्रम गर्नेछ | जीवन उपलब्धिद्वारा नापिन्छ , सत प्रतिसत सफलता कसैलाई प्राप्त हुँदैन | आजसम्मको उसको असफल जीवन भोलि झुल्कने घामसित सफल उपलब्धिमा परिणत गर्ने अठोट ऊ मनमनै गर्छ अनि ऊ डुबीसक्न आँटेको आजको घामलाई अन्तिम पटक हेर्छ |
हिजो पनि उसले यस्तै अठोट गरेको थियो भन्ने कुरा ऊ बिर्सिन्छ अनि भोलि घामसितै  झुल्कने सफल जीवनको आशा र कल्पनामा ऊ मुसुक्क मुस्कुराउँछ ..... |

साभार

केहि कथा केहि कविताहरु -(२०३८ साल)
 
 

Wednesday, September 14, 2011

३. (लघु कथा) मोह

सरण राई
'भ्रष्टाचार बिरोधि अभियान'को नारा र कार्यक्रम थियो _ 'भ्रष्टाचारीहरुलाई सामाजिक बहिस्कार गर्दै कानुनि कारवाही गरेर भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने र भ्रष्टाचार निर्मुल पार्ने |' अभियानका अध्यक्ष दिनभर भ्रष्टाचार निर्मुल अभियान संचालन गरेर बेलुकी घर फर्किए |
छोराको विवाहका लागि विभिन्न घरहरुबाट कुरो आईरहेका थिए | तीमध्ये एउटा जागिरेको छोरीको पनि कुरा आईरहेको थियो | ति जागिरे भ्रष्टाचारको मामलामा निकै गन्हाएका थिए | उनकै छोरी विवाह गर्नका लागि अध्यक्षकी पत्नी सल्लाह दिईरहेकी थिइन |
'भ्रष्टाचार गरेर निकै धन कमाएका छन् र दाईजो धेरै आउला | उनकै छोरीसँग कुरा छिनौ, हुन्न ?'
अध्यक्षले केहीबेर गम्भीर भएर सोंचे र अन्त्यमा सहमति जनाउन टाउको हल्लाउदै भने-'हुन्छ |'

साभार
सुर्य किरण (पत्रिका ), २०६८, धरान(पहिलाे पल्ट पुकाशित)
नाेरङगी एक सय एक लघुकथा बाट






अध्यक्षले केहीबेर गम्भीर भएर सोंचे र अन्त्यमा सहमति जनाउन टाउको हल्लाउदै भने-'हुन्छ |'

साभार
सुर्य किरण (पत्रिका ), २०६८, धरान