Monday, February 12, 2024

सरण राई --पुरानाे पात (कथा)/ Old Leaf-- Short Story By Saran Rai

(कथा ) आमाको मन

 

(कथा )
आमाको मन
 
सरण राई 
 
समय बलवान् हुन्छ । समयले विभिन्न युगहरू ल्याउँछ । युगअनुसारका मानव आचरण, व्यवहार र जिन्दगीहरू हुँदा रहेछन् । विगत र भविष्यको चेपुवामा परेको यस युगका मातापिताहरू आफ्ना सन्तानहरूबाट कस्तो व्यवहारको आशा गनुपर्ने हो ? रणभुल्लमा छन् ।
मेरा समकालीन साथीहरू सबै मातापिता भएका छन् । एकादुई झुक्किएर अविवाहित बसेका होलान् तर ती नगण्य छन् । यस युगमा सबै मानिसहरूले विवाह गर्नु अनिवार्य मानिन्छ र विवाहपछि छोराछोरी पाउनु झन् अनिवार्य मानिन्छ । छोराछोरी नभएमा समाजमा हीनताबोध महसुस गर्नुपर्ने अवस्था हुन्छ ।
विवाह गर्नै पर्ने हुँदा मेरो पनि भयो । मेरा समकालीन साथीहरूका पनि भए । अहिले हामी सबै प्रौढावस्थामा पुगिसकेका छौ‘ । आक्कलझुक्कल भेट हुँदा नचाहँदानचाहँदै पनि आफ्ना छोराछोरीको बारेमा कुरा भइहाल्छ । जसका छोराछोरी डाक्टर, इन्जिनियर, प्रोफेसर, हाकिम वा राम्रो आम्दानी गर्न सफल छन्, उनीहरू त रातदिन चिनेजानेका मान्छेहरूलाई भेट्नासाथ तिनीहरूकै बारेमा कुरा गर्न थालिहाल्छन् ।
राममान मेरो घनिष्ट साथी हो । उसको र मेरो एकै साल विवाह भएको थियो । नानीहरू पनि झण्डैझण्डै सँगसँगै जन्मिए । त्यतिबेलादेखि नै हाम्रो भेट हुँदा हामी आफ्ना नानीहरूका बारेमा कुराहरू गथ्र्यौ । ऊ त आफ्नो स्वास्नीको रूप, सीप र मायाको कुरा गर्न समेत रुचाउँथ्यो । ऊ ‘बाली अर्काको राम्रो र बाला आफ्नो राम्रो’ भनेझै‘ आफ्ना नानीहरूका बारेमा बढाईचढाई कुराहरू गरेर आनन्द विभोर हुन्थ्यौ ।
राममान सम्पन्न थियो । उसले जब उसका नानीहरू ५ वर्षभन्दा बढी उमेरका भए, काठमाडौंका राम्रा बोर्डिङ स्कुलमा भर्ती गरेर उतै राख्न थाल्यो । राम्रो बोर्डिङ स्कुल, राम्रो पढाइ । ऊ सुनाउने गथ्र्यो— उसका छोराछोरीको भविष्य उज्ज्वल छ । डाक्टर नै बनाउनेछ । डाक्टरहरूको राम्रो आम्दानी छ । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको आरम्भ भएको वर्तमान अवस्थामा पनि ‘कस्तो शिक्षा ?’ भन्ने बारे छलफल भएको थाहा पाइएको छैन । शिक्षा भनेको राम्रो आम्दानी गर्नसक्ने हुनु पर्छ भन्ने धारणा अझै व्याप्त छ ।
राममानका छोराछोरी बोर्डस भएपछि घरमा ती दुई मात्र रहन थाले । आमाबुबा भाइसँग बस्थे । आमाबुबाको जीउनी सम्पत्ति निकै थियो र भाइबुहारीले रामै्रसँग पालेका थिए । राममान बेलाबेला मसँग गुनासो गर्थे— “पत्नी यशोधरा बरालिन थालेकी छे । म घर फर्कंदा घरमा हुँदिन ।”
“पत्नीलाई तिमी समय दिदैनौ । वास्ता गर्दैनौ । तिनी के चाहन्छिन्, थाहा पाउने प्रयत्न गर ।” मैले भनेको थिएँ ।
त्यसपछि राममानले पत्नीप्रति ध्यान दिन थाल्यो । टेलिफोन आयो, पतिपत्नीबीच सम्वाद गर्न सजिलो भयो । त्यसबीचमा रेडियो, टेपरिकर्डरलाई विस्थापित गर्ने ढङ्गले टेलिभिजन देखा प¥यो । राममानको घरमा पनि एन्टेना ठडियो । रङ्गीन टेलिभिजन राख्नु सबै सर्वसाधारणको बलबुत्तामा थिएन । हामी पनि रङ्गीन टेलिभिजन हेर्न उनकै घरमा थुप्रिन्थ्यौ‘ । डेक, क्यासेट आयो । टीभी, भिडिओ महामारी जस्तै फैलियो । आजभोलि त टीभी नभएको घर घरै मान्न छाडिएको छ । आधुनिक युग ! समयले कति छिटो काँचुली फेर्दो रहेछ ।
मोबाइल फोनको घण्टी बज्छ । म मोबाइल उठाउछु “हेलो म राममान ।”
“हेलो, के छ हालखबर ?”
“धेरै दिन भयो सम्पर्क नभएको । आज बेलुकि म कहाँ नै डिनर खाने गरी आऊँ । मेरो छोराछोरीहरू पनि आएका छन् । भेटघाट पनि हुने, गफगाफ पनि हुने ।”
“हुन्छ ।”
म पत्नी मायावतीलाई बेलुकि राममानकहाँ जाने कुरा भन्छु । बिहान ल्याएको पत्रिका राम्ररी हेरेकै थिएन । हेर्न थाल्छु— एउटा खबर ‘ ... पेस्तोलसहित युवा पक्राउ परे । पक्राउ परेका युवाका बयानअनुसार अंश नदिने पितालाई मार्न अवैध पेस्तोल बोकेर हिडेका ... ।’ छोराहरू पनि कस्ता कस्ता ! ‘साना हुँदा मर्ला कि भन्ने डर, ठूलो भएपछि मार्ला कि भन्ने डर’ साँच्चै रहेछ । छोराले बाबुआमालाई पिटेको, मारेको कैयौं घटनाहरूको सम्झना मेरो मनमा आउँछ ।
बेलुकि म राममानको घरमा पुग्छु । सोचेको हुन्छु— सबै परिवार एकै ठाउँमा भेला भएर सुखदुःखका कुराहरू गरिरहेका होलान् । राममान चाहिँ मलाई लिन गेटसम्म आए । बैठक कोठामा बसाए । उनलाई एक्लै देखेर म सोध्छु— “खै त अरूहरू ?”
“अरूहरू सबै व्यस्त छन् । यशोधरा टी.भी.मा सिरियल हेरिरहेकी छे । डाक्टर छोरा उदय यहाँको स्थानीय अस्पतालको ‘भिजिट’ गर्न गएको छ । डाक्टर छोरी नायुमा ल्यापटपमा फेसबुक हेरिरहेकी छे । ल्यापटपमा नै व्यस्त छे । म उसलाई बोलाइ हाल्छु ।”
“भयो पर्दैन । तिमी र म नै बात मारेर बसौँ ।”
“नायुमा ! यहाँ आऊँ त ।”
“हुन्छ, डैड ।”
नायुमा आउँछे । सानोमा देखेको नायुमा र अहिलेको नायुमामा आकाश जमिनको अन्तर । पूर्ण आधुनिक । छोटो कपाल, पेन्ट सर्टमा सजिएकी । “नमस्ते अङ्कल ।”
“नमस्ते । सञ्चै छौं ।”
“सञ्चै । तपाईँहरू नि ।”
“हामी पनि । अनि तिम्रो के कस्तो प्रगति छ ?”
“राम्रै छ अङ्कल । अहिले म एम.डी. गरिरहेकी छु र ल्यापटपमा त्यसैको थेसिस मिलाई रहेकी छु ।”
“डैडीले त फेसबुक हेरिरहेकी छ्यौ, भन्नुहुन्थ्यो ।’
“फेसबुक पनि हेर्छु र आवश्यक अन्य सामग्रीहरू इन्रनेटमा खोजी गर्छु । यहाँ आएपछि अलिक होलोखुकुलो भएको छ । त्यसैबेला इन्रनेटबाट पनि फाइदा लिइहालुँ भन्ने लागेर ...”
“ठीक छ, राम्रो । जाऊ फुर्सदको सदुपयोग गर ।”
तिनी कोठामा जान्छिन् । मात्र औपचारिकता निर्वाह गर्न तिनी आएकी थिइन् । आजका युवाहरूसँग अरुको कुरा सुन्ने, अरूलाई बुझ्ने र आफ्नो कुरा सुनाउने फूर्सद छैन । यान्त्रिक दुनियामा रमाइरहने यी आजका युवाहरूसँग आत्मीयता, अपनत्व, स्नेह, माया, प्रेम, आदर, सम्मान, जस्ता मानवीय संवेगहरूको कमी हुँदै छ । हुन पनि ज्ञान आउन थालेपछि उनीहरूले पढाइ, तालिम, परीक्षामा उत्तीर्ण हुने र जीवनमा पैसा कमाउने तरिका, फर्मुलाहरू मात्र सिके । पैसा थुपार्न सके जीवनमा उत्तीर्ण भइहालिन्छ भन्ने मानसिकताबाट ग्रसित समाजमा उनीहरूले पारिवारिक वातावरणमा आमाबुबा, बाजेबोजु, भाइबहिनी, काकाकाकी, मामामाइजू, नातागोता, कुलकुटुम्ब र साथीभाइहरूसँग मानवीय, आत्मीय र रमाइलो वातावरणमा अन्तरमनको कुरा पोख्ने, सुन्ने र बुझ्ने तथा भावनात्मक सुत्रमा बाँधिने मौका नै कहाँ पाएका हुन्छन् र ?
बाबुआमा स्कुल कलेजको फिस तिर्ने, खर्च दिने मेसिन अभिभावक मात्र बने । आमाबाबुले पनि छोराछोरीलाई हरतरहले पैसा कमाउन सफल मेसिन मात्र बनाउन चाहे । कल र यन्त्रहरूमाझ कहाँ भावनात्मक सम्बन्ध हुन्छ र ?
“अँ, तिमी आजभोलि के गर्दै छौ ?” राममान सोध्छन् ।
“रिटायर्ड भएपछि के गर्ने ? भन्ने अन्योल भयो । कैयौ कामहरू गर्न सकिन्थ्यो । निरङ्कुश शासनकालमा केही गर्ने वातावरण थिएन । सँधै सशङ्कित, आतङ्कित र त्रसित भएर बाँच्नु प¥यो । सिर्जनात्मक क्रियाकलापहरू अवरुद्ध थियो । गणतन्त्र आएपछि मलाई पनि आफ्ना भावना, अभिव्यक्ति, उच्छ्वास र आफ्ना अनुभवहरू लेख्ने अनुकूल अवसर आए जस्तो लाग्यो । म अहिले लेखन र पठनमा व्यस्त हुन थालेको छु । लेखन भनेपछि लेख्नका लागि यति धेरै पढ्नु पर्दोरहेछ कि म त पुस्तक, पत्रपत्रिका र सम्बन्धित सामग्री अध्ययनको आनन्ददायी सागरभित्र डुब्न थालेको छु । तिमी चाहिँ के गर्दैछौं ?”
“म चाहिँ स्वास्नीको झर्कोफर्को, नोकरचाकरहरूको गुनासो बेहोर्दै, संघसंस्था र दलहरूलाई चन्दा दिँदै ठूलो मान्छे हुँ भन्ने भ्रम बोक्दै बेस्वादिलो जिन्दगीको स्वाद चाख्दै छु । तिमीले त ठीक काम पक्रेछौ । मलाई लेख्न, पढ्न भनेपछि पटक्कै मन पर्दैन । टी.भी. हेर्न पनि मन लाग्दैन । बुढेसकालमा कम्प्युटर सिक्न पनि मन लाग्दैन । ‘बोर’, ‘बोर’ बुढेसकाल ...।”
“त्यसो भन्नु हुँदैन राममान । जबसम्म मानिस नयाँ कुराहरू सिक्न चाहन्छ, ऊ बूढो हुँदैन । रबिन्द्रनाथ ठाकुरले भनेझै‘— खुसी हुनुपर्छ भने धेरै कुराहरूमा रुची राख्नु पर्छ । धेरै कुराहरूमा चाख राख, सिक नयाँनयाँ कुराहरू । कम्प्युटर सिकेर इन्रनेट चलाउन थाल्यौ भने त्यहाँ तिमी अर्कै नयाँ संसार पाउने छौ । म इन्रनेट चलाउन थालेपछि समय बितेकै थाहा पाउदिन‘ ।”
“त्यही त, मन मान्दैन कतै अडिन ... ।”
“हा. हा.. हा ... पूरै गीत गाइदेऊ ।”
“हा..हा..हा ... ।” हाँसिसकेपछि ऊ गाउँछ—
“ललल ...लल... मन मान्दैन कतै अडिन
छोड्नै सकिनँ लत र लत कहिल्यै छोडिन‘
प्रेमको, मित्रताको लत लत कहिल्यै छोडिन‘ ।”
साच्चै उनी एकचरण गीत गाउँछन् । उनी यो गीत वैंशमा पनि गाउने गर्थे । म टेबल मादलझैँ बजाएर साथ दिन्छु । केहीबेर भए पनि हामी हाम्रो तन्नेरी कालको मनोहर मुग्धकारी, रमाइलो समय–संसारमा अवतरण हुन पुग्छौँं । अन्तरमनभित्र हामी बीचको पुरानो मित्रता, आत्मीयता र अपनत्व तरोताजा भएर आएको मधुरो आभाससँग युवा कालकोजस्तै आनन्दसागरमा थाहै नपाई चुर्लुम्म डुब्छौँ । त्यो निजी आनन्दिलो आत्मीक क्षण हुन्छ । यस्तै क्षणहरू मानिसको चाहना हो । त्यही प्राप्तिका लागि निरन्तर प्रयत्नशील हुनु मानव प्रवृत्ति बन्छ । राममान पनि चाहन्छ— उसलाई कसैले सुनिदेओस्, बुझिदेओस् । म पनि त्यस्तै चाहन्छु । तर यो यान्त्रिक युग ! अनि धन सम्पत्ति कमाउने होडमा दौडिरहेको मानिसलाई अर्काको मन बुझ्ने, वेदना सुन्ने र सुनाउने फुर्सद कहाँ ? अन्तरमनको पुकार बुझ्दा र सुन्दा प्राप्त हुने अतुलनीय सुखको स्वाद आजका स्वार्थी मानिसहरूले चाख्नै पाएका छैनन् । तसर्थ उनीहरू यसका लागि लालायित हुने कुरै भएन ।
हामीबीचको औपचारिकताको पर्खाल ढलिसकेको हुन्छ । हामी पहिलाको मित्रवत अवस्थामा फर्किसकेका हुन्छौ‘ । आफ्ना मनका कुराहरू निशंकोच एकअर्कालाई व्यक्त गर्ने स्थितिमा हुन्छौ‘ । उनलाई पनि छोराछोरीको यान्त्रिक बोलीचाली व्यवहारदेखि चित्त बुझेको रहेनछ । भनी हाल्छन्— “देख्यौ मेरा डाक्टर छोराछोरीको चालामाला । कैयौं पल्ट अनुरोध गरेपछि बल्ल दुबैजना एकसाथ केही दिनको लागि आएका छन् । एकसाथ सबैजना बसेर कुराकानी गरौ‘, खानपिन गरौ‘, म चाहन्छु । तर खोइ, उनीहरूलाई वास्तै छैन । छोरा कताकता हिड्छ, छोरी पनि त्यस्तै । म त सम्झन थालेको छु, पैसा मात्र कमाउने मेसिन डाक्टर छोराछोरी पो जन्माएछु । पोहोर तिनीहरूका आमा सिकिस्त बिरामी हुँदा ‘आऊ‘’ भनेर बोलाएँ । दुबैजनाले जवाफ दिए— त्यहीको स्थानीय राम्रो डाक्टरलाई देखाउनु । हामी पैसा पठाइदिने छौं । नभन्दै थुप्रै पैसा पठाए । रातदिन सेवासुश्रुषा गरेर पत्नी यशोधरालाई बचाएँ ।
त्यसपछि त तिनी पनि एक अचम्मकी भएकी छन् । तिनको मन के भएको छ ? कुन्नी ? टीभी मात्र हेरिरहन्छिन् । अरू आइमाईहरूसँग सिरियलकै कुरा गर्छिन् । सिरियलकै पात्रहरूसँग रुन्छिन्, हॉस्छिन्, नाच्छिन् र गाउँछिन् । छोराछोरीको वास्तै छैन । मेरोपर्यन्त वास्ता गर्दिन । तिनले आफ्ना वरिपरि कृत्रिम पर्खाल निर्माण गरेर आफ्नै संसार निर्माण गरेकी छिन् । त्यही संसारमा विलीन हुने प्रयत्नमा जीवनको अन्तिम कालखण्ड विसर्जित गर्ने अठोट गरेकी छिन् । म के गरौ‘ ? म के गर्न सक्छु र ? मान्छेको मन...मन भाडिएपछि के नै पो गर्न सकिन्छ र ?”
उनी यसरी छर्लङ्ग खुलेका थिए कि म उनलाई ढाढस दिनु आफ्नो कर्तव्य सम्झन्छु र भन्छु— “साथी राममान, भाउजूले जे गरिन् त्यो जीवनको निराशाको परिणाम हो । ज्यादै थाकेको मान्छे बस्न चाहन्छ, विश्राम गर्न चाहन्छ । शीतल छहारी र सफासुग्घर बस्ने ठाउँ पाएन भने जस्तोसुकै ठाउँमा पनि बस्न ऊ बाध्य हुन्छ । भाउजूले पनि मन बिसाउने ठाउँ टीभी. सिरियल बनाउनुभएको हो । बुढेसकालमा कसैले भजन किर्तन, कसैले सामाजिक सेवा आदि व्यसन बनाएका हुन्छन् । मैले साहित्य लेखनलाई साथी बनाएको छु । अझै उहाँभित्रको उत्साह मरिसकेको छैन । त्यसलाई जगाउन सकिन्छ ।”
“कसरी ?”
“जीवनमा नयाँ उमङ्ग, उत्साह, प्रेरणा, रुचि र चाखको विरुवा रोपेर ।”
“हिड, जाऊ‘ भाउजू भए ठाउँ । प्रयत्न गरौ‘ं ।”
टी.भी. एकाग्र भएर हेरिरहेकी यशोधरालाई ठूलो स्वरमा कराएर भन्छु— “नमस्कार भाउजू ।”
तिनी झसङ्ग तर्सिन्छिन्, हामीलाई रिसाएको आँखाले हेर्छिन् । तर झट्टै कृत्रिम मुस्कान अनुहारमा ल्याएर जवाफ दिन्छिन् “नमस्कार । बस्नुहोस् न । कतिबेला आउनु भयो ?”
“बिहानै”
“होइन, ठट्टा गर्नुहुन्छ । बिहानै आउनु भएको भए मलाई थाहा भइहाल्थ्यो नि ।”
“बिहानै भन्नाले अहिले तपाई‘ले हेरिरहनु भएको सिरियलमा बिहानै त छ । त्यही भएर बिहानै भनेको नि , भाउजू ।”
“हा .. हा .. हा ... त्यसो हो भने भर्खरै ।” भाउजू साँच्चै मायालु पाराले हॉस्छिन् । स्त्रीयोचित हाँसो । सायद त्यही हाँसोले राममानलाई पगालेर पानी पानी पारेको हुँदो हो ।
“ठीक बुझ्नु भयो ।” म पनि हाँस्छु साथै राममान पनि “हा.. हा.. हा.. ।” हाँसोले वातावरण सहज बन्छ । टीभी को स्वर तिनी सानो पार्छिन् । हामी कुरा गर्न थाल्छौ‘ ।
“तपाईँबारे साथी राममान मसँग गुनासो गरिरहेका छन् ।”
“कस्तो गुनासो ? सानो नानी जस्तो पोल सार्दै हुनुहुन्छ ?”
“हो नि । उसलाई वास्तै गर्नु हुन्न रे । खाली सिरियलमै भुलिनुहुन्छ रे .... ।”
“आब्बुई । साँच्चै त्यसै भन्नुहुन्छ ?” उनी राममानलाई हेर्छिन् ।
“हो, मैले दुखेसो पोखेको हुँ ।” राममान स्पष्ट पार्छन् ।
“टी.भी. पनि नहुँदो हो त मैले दिन कसरी काट्ने ? उहाँ रातदिन बाहिर, छोराछोरी परदेशमा । म एक्लै के गरौँ ?” तिनी टीभी. बन्द गर्छिन् ।
“हो, भाउजूले ठीक भन्नुभयो । मानिस जन्मजातैले यस्तो प्राणी हो जो केही नगरी बस्नै सक्तैन । केही न केही गरिरहनु जीवनको निरन्तरता हो, बाँचेको प्रमाण हो । अहिले चारैजना भेला हुनुभएको छ । मलाई त लागेको थियो, म समेत पाँचैजना मज्जाले अहिले गफगाफ गरिरहेका हुनेछ‘ौं ।”
“आ .. नाथे छोराछोरीहरू । ‘आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुडामाथि’ भनेझैँ उनीहरूलाई आमाबुबाको कुनै वास्ता छैन ।” प्याच्च यशोधरा बोली हाल्छिन् ।
मलाई पनि हो जस्तै लाग्छ । तर भन्छु “त्यसो भन्नु हुँदैन भाउजू, बुढेसकालको साहारा । गोपालप्रसाद रिमालले ‘...तर तिमी नै हौला भन्ने मेरो जीवनभरिको सपना थियो’ भनेझ‘ै छोराछोरीहरू त हाम्रा सपना हुन् । भविष्य हुन् ।”
‘भन्नुहुन्छ नि । देखिहाल्नुभयो त डाक्टर भएका, पढेलेखेका मेरा छोराछोरीहरूका चालामाला । अनि तपाई‘का छोराहरू चाहिँ के गरिरहेका छन् ?”
“जेठो मजस्तै शिक्षक भएको छ । कान्छो र बुहारी खेती गर्छन् । माइलोका परिवार मसँग बस्छ । मेरा पनि नातिनातिनीहरू भएका छन् । सावाँभन्दा ब्याजको माया भनेझै नातिनातिनीहरूको माया अर्कै किसिमको हुँदो रहेछ, अवर्णनीय ।”
“उनीहरूको बोली, व्यवहार पनि हाम्रा छोराछोरीहरूकै जस्तो छ ?”
“मनको वह कसैलाई नकह, म भन्न चाहन्न‘ । युगका उपज हुन् उनीहरू । हामीले मात्र चाहेर केही हुँदैन । युगले जस्तो पुस्ता तयार गर्न चाहन्छ, त्यस्तै तयार हुन्छ ।”
“के युग, युग भनिरहनु भएको ?”
“युग भनेको पुस्तापुस्ताले भोगेको समयावधि । हामीले भोगेको बिताएको हाम्रो पुस्ताको युग । आउने पुस्ताले भोग्ने युग, भावी युग । पुस्तान्तरण... एकपछि अर्को पुस्तालाई । हाम्रा मातापिताका पालामा आमाबुबालाई बुढेसकालमा स्याहार्ने जिम्मेवारी छोराछोरीमा हुन्थ्यो । अब पछाडिका पुस्ताका छोराछोरीले बृद्ध मातापितालाई हेर्नुपर्ने, स्याहार्नुपर्ने अवस्था हुनेछैन । अहिले हाम्रो पुस्ता भने अन्योलग्रस्त छ ।”
भान्सा कोठाबाट भान्सेनीले इशाराद्वारा खाना तयार भएको सङ्केत दिन्छे । यशोधरा भन्छिन्— “एक छिन पर्ख । अँ तपाईँको कुरा पूरा गर्नुहोस् ।”
“म भन्दै थिएँ, हामी बलिदानी पुस्ता । निरङ्कुश शासनले पेल्नसम्म पेल्यो, पेलिएर, हेपिएर जवानी गुजा¥यौ‘ं । जीवन सङ्घर्ष, विद्रोह र आन्दोलनमा बित्यो । बुढेसकालमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकै छैन । यसको फल पनि चाख्न पाइने अवस्था छैन । राजनीतिक व्यवस्थाले नै मानिसहरूको जीवन पद्धति निर्धारण गर्ने हो । हाम्रो बुढेसकालको बारेमा राज्यले नीति नै बनाएको छैन ।...
“राज्य वा सरकार प्रमुख कुरो हो । विकसित देशहरूमा बृद्धभत्ता, बेकारी भत्ता, अपाङ्ग भत्ता आदि अनेकौं व्यवस्थाहरू हुन्छन् । असक्त, अपाङ्ग, बृद्ध वा सबै नागरिकहरूको हेरचाह गर्ने जिम्मेवारी राज्यले वहन गरिरहेको हुन्छ । हाम्रोमा त्यस्तो छैन । त्यस प्रकारको जिम्मेवारी राज्यले वहन गरोस् भनेर अहिलेको पुस्ताले चर्को आवाज बुलन्द गर्नुपर्ने भएको छ । अबका छोराछोरीले आफ्ना आमाबुबाको सेवासुश्रुषामा जीवन खर्चिन्छन् भन्ने सोच्नु मूर्खता हुनेछ । उनीहरू त आफ्नै जीवन धान्नमा र सुख आर्जनमा यति व्यस्त हुनेछन् कि उनीहरूलाई अरूका बारेमा सोच्ने फुर्सदै हुने छैन । बरु उनीहरूले गर्न सक्ने भनेको चाहिँ बृद्ध, अपाङ्ग, बेरोजगार र असक्षम नागरिकहरूलाई हेरचाह गर्ने जिम्मेवारी राज्यको हुनुपर्छ भनेर जोडदार आवाज उठाउने हो । प्रत्येक सहर र गाउँहरूमा बाल आश्रम, बृद्धाश्रम र अपाङ्ग आश्रमहरू बनुन् भनेर दवाब...दवाब दिनु पर्ने हो...”
म बोल्दाबोल्दै टक्क रोकिन्छु र सम्झिन्छु— लौ मलाई यो के भएको ? तथाकथित नेताझै‘ धाराप्रवाह भाषण पो दिन थालेछु । म आफैं लज्जित भएर उनीहरूलाई हेर्छु, उनीहरू ट्वा परेर मलाई हेरिरहेका हुन्छन् । मैले त्यसरी हेर्दा उनीहरू हाँस्छन् हा...हा.. हा...। वातावरण सहज बन्छ ।
“ओहो, तपाईंँले भनेअनुसार हुने हो भने त भावी दिनहरूमा आजभोलि सबै गाउँहरूमा स्कुल, हेल्थपोष्ट, गा.वि.स. भवन आदि रहेझै‘ प्रत्येक सहर र गाउँहरूमा बाल आश्रम, बृद्धाश्रम र अपाङ्ग आश्रमहरू बन्नेछन् । त्यहाँ नयाँ सिर्जना र रचनाहरू प्रस्फुटित हुन थाल्नेछन् ...कस्तो सुन्दर परिकल्पना ! त्यस्तो बृद्धाश्रम बने त हामी पनि त्यही बस्थ्यौँ, छोराछोरीले पनि वृद्ध आमाबाबु हेर्न परेन । आमाबाबुलाई पनि छोराछोरीले हेर्छन्, हेर्दैनन् भन्ने चिन्ता हुँदैन ।” यशोधरा मनको कुरो भन्छिन् ।
उनको भन्ने तरिका ठट्यौली र रमाइलोपनले ओतप्रोत हुन्छ । उनको अनुहारमा झलमल्ल उज्यालो देखिन्छ । उनको त्यस्तो मुग्धकारी मनोहारी मनोभाव देखेर हामी पनि प्रसन्न हुन्छौं ।
 —
भानु (भानु मासिक ) अंक १७८ , २०७१ असोज कार्तिक
२०६७।१२।०२ , बोराबाँध, लेखन मिति
 
 

 

Saturday, October 27, 2018

१८.कोङहाङ

कथा : कोङहाङ
(स्वदेश नेपाल , अनलाइन पत्रिका, १९ आश्विन २०७५, शुक्रबार एवं मुन्धुम , मासिक -२०७५ कात्तिकमा प्रकाशित )

– सरण राई

कोङहाङ मिहिनती, अनुशासित, आज्ञाकारी हुनुका साथै नम्र, मिलनसार र सहयोगी भएकोले गाउँलेहरूको आँखाको नानीझैँ प्यारो हुन्छ । अहिले ऊ सिकिस्त छ, घाइते भएर अस्पतालको बेडमा अन्तिम अवस्थामा रहेको छ ।
पहाडि भूबनोट भीर पाखा पहरा, ऊ अग्लो भीरबाट लडेर झरेपछि पनि अर्को भीरबाट झरेर ढुङ्गामा पछारिएको थियो । छाती र टाउकोमा चोट लाग्नुका साथै हातखुट्टा पनि भाँचिएको हुन्छ ।
स्वास्थ चौकिमा उपचार सम्भव नभएपछि सहरको ठूलो अस्पतालमा ज्यान बचाउन सकिन्छ कि भनेर उसलाई पु¥याइएको छ । ऊ बेहोस छ, मानिसहरू टुलुटुलु हेरिरहन्छन् । डाक्टरहरूले सक्दो गरिसके र बाँच्न मुस्किल भएको कुरा भनिसकेका छन् । वृद्ध बाबुआमाका एक मात्र छोरा, ऊ म¥यो भने तिनीहरू ठहरै हुनेछन् । आमा रोएको रोएकै । बाबु पनि नरोइबसेका त होइनन् तर ‘जबसम्म सास तबसम्म आश’ भनेर मन थामेर बसेका छन् ।
कोङहाङको त्यस्तो अवस्था देखेर नरुने कोही गाउँले छैन । तर उनीहरू के गर्न सक्छन् र ? फगत प्रार्थना गरिरहेका छन् “कोङहाङलाई भगवानले बचाओस् !” गाउँलेहरू उसलाई बचाउन सक्दो मद्दत, आर्थिक सहयोग, रक्तदान आदि निस्वार्थ गरिरहेका छन् । तर उसको अवस्था भने झन्झन् चिन्ताजनक हुँदै गइरहेको छ— अहिले कि भरै ।
कोङहाङको मामाले दिदी रोएको देखेर मन थाम्न नसकि डाक्टरलाई भन्छन्, “डाक्टर जसरी पनि उसको ज्यान बचाउनु प¥यो ।”
“हामीले गर्ने सबै गरिसक्यो । भाँचिएको हातखुट्टा ठीक हुनसक्छ तर मुटु, फोक्सो र दिमागमा पनि चोट लागेको छ । बाँच्नु गा¥हो छ । कोसिस गरिरहेका छौँ । चमत्कार भए मात्र बाँच्न सक्छ ।” डाक्टरको जवाफ हुन्छ ।
चमत्कार !
मामाको मनमा वेलायती लेखकले लेखेको ‘जोनी गोर्खा’ भन्ने किताबको एउटा प्रसंंगको सम्झना आउछ । दोस्रो विश्वयुद्धमा बेलायती महारानी अस्पतालमा युद्ध घाइतेहरू निरिक्षण गर्न गएकी थिइन् । एकजना घाइते गोर्खाली सिपाहीको अवस्था अत्यन्त चिन्ताजनक थियो । त्यस सैनिकलाई देखाएर महारानीले सोधिन्— “यो सैनिक बाँच्छ ?”
“मुस्किल छ । उसको इच्छा शक्तिले बचायो भने मात्रै ।” डाक्टरले सत्य कुरा बताए । गोर्खाली सैनिकहरू अत्यन्त आज्ञाकारी हुन्छन् । महारानीले आज्ञा दिइन् “सैनिक तिमीले मर्न पाउन्नौ । तिमीले बाँच्नु पर्छ, यो मेरो आज्ञा हो ।” नभन्दै आश मारिसकेको त्यो सैनिक बाँच्यो ।
मामा त्यस्तै प्रयोग गर्ने निधो गर्छन् । भेनाज्युलाई अर्को कोठामा लगेर सम्झाउछन् । पिता आफ्नो मर्न लागेको बेहोस छोराको छेउ आएर कराएर आदेश दिन्छन्— “छोरा तिमीले बाँच्नुपर्छ । बाँचेर हामीलाई बुढेशकालमा पाल्नु तिम्रो कर्तव्य हो । मर्न पाउन्नौ ।”
बुबाको आज्ञा सुनेझैँ बेहोस अवस्थामा रहेका छोरा बुबालाई आँखा उघारेर हेर्ने प्रयत्न गर्छ । टाउको उठाउने बल गर्छ तर सक्तैन ।
सबैले माया मारेको ऊ त्यसपछि बिस्तारै निको हुन थाल्छ । चमत्कारै हुन्छ, ऊ बाँच्छ । सबैजना हर्षित हुन्छन् । मामालाई लाग्छ आज्ञाकारिता र इच्छाशक्तिले ऊ बाँचेको हो र मामा उसको नयाँ नाम राख्छन् कोङहाङ अर्थात मन(इच्छा)को राजा ।
त्यसपछि बाँचेर कोङहाङले राम्रा राम्रा धेरै कामहरू गर्छन् । उसले गरेका राम्रा कामहरूका लागि आज पनि कोङहाङलाई मानिसहरू सम्झिरहेका छन् ।
🔴
-धरान(सुनसरी)
(मुन्धुम , मासिक -२०७५ कात्तिकमा प्रकाशित )

Tuesday, December 29, 2015

१२.(लघु कथा ) पुस्तक

(लघु कथा )

पुस्तक


सरण राई

समय बगिरहेको खोला जस्तो रहेछ । रोकिँदेन, निरन्तर बितिरहेको हुन्छ । मानिसलाई समय बितेको पत्तै हुँदैन । मलाई पनि मेरो यौवनकाल बितेको पत्तै भएन । जागिरबाट उमेरको कारणले अवकाश पाएपछि थाहा भयो जीवन कसरी केही नगरी स्वात्तै बितेछ ? अब म के गर्न सक्छु र !?
म त्यति बेलाका मेरा साथीहरूलाई सम्झन्छु । नारायण घमण्डी भएपनि ऊ मसँग असाध्य मिल्थ्यो । हरदेव र नारायण पनि मिल्थे । हरदेव लेखक थिए, उनले  लेखेको एउटा पुस्तक उनले आफ्नै खर्चले छापेका थिए । साथी भाईहरूलाई त्यो पुस्तक किनिदिन  र पढेर सुझाव दिन आग्रह गरिरहेका थिए ।
मलाई पनि उनले पुस्तक दिए । पैसा नभएको बहाना गरेर पुस्तक उधारो लिएँ । मदिरासेवन र अनेकौँ नचाहिँदो कुराहरूमा म फूरमासी गर्थे, अनावश्यक खर्च गर्थेँ । तर त्यो पुस्तकको मूल्य मैले तिर्न चाहिनँ र तिरिनँ । मैले त्यो पुस्तक पनि पढिनँ । उनले पनि ताकेता गरेनन् । समयको अन्तरालमा हामी साथी भाईहरू छुट्टियौँ, भेट हुन पनि छाडेको छ ।
आज तीस वर्षपछि  आफ्नो त्यति बेलाको नकच्चरोपनदेखि म आफै एक्लै लज्जित भइरहेको छु ।
नारायणले मलाई त्यति बेलै सोधेका थिए, “पुस्तक पढ्यौ ?”
“छैन ” मैले जवाफ दिएको थिएँ ।
“पढ, राम्रो छ । मैले पढि सकेँ । म अत्यन्त प्रभावित भएको छु ।”उनले नम्र भएर भनेका थिए । उसको त्यस्तो नम्रता देखेर म आश्चर्य चकित भएको थिएँ । तर त्यसपछि उनी सदैव नम्र, भद्र, सहयोगी र सेवामुखी भए । आज मलाई प्रष्ट भएको छ त्यो पुस्तक पढेर आफ्नो घमण्डीपन त्यागेर उनी सप्रिएका थिए ।
आज तीस वर्षपछि अचानक मलाई हरदेवले लेखेको पुस्तकको सम्झना भयो । मैले त्यो पुस्तक पढ्न थालेँ । सुरुमा केही पृष्टहरू पढ्न गा¥हो भयो तर त्यसपछि भने चुम्बकले फलामलाईझैँ त्यस पुस्तकको अध्ययनले तान्न थाल्यो । पुस्तक पढ्दै जाँदा मभित्र नयाँ नौलो परिवर्तन हुँदै जान थाल्यो । अन्तमा म पूर्ण नौलो जीवनको उत्प्रेरणाले आलोकित हुन पुगेँ ।
त्यो पुस्तक पढिसकेपछि मलाई केही अनुभूतिहरू भएको छ । पहिलो मैले त्यो पुस्तक आजभन्दा तीस वर्ष अगाडि नै पढेको भए मेरो जीवनको गति र प्रवाह नै अर्कै हुन्थ्यो । त्यति बेला मैले किन पढिनँ ? म अहिले थक्थकाउँदै छु ।
तीस वर्ष पछि नै भए पनि अहिले मैले त्यो पुस्तक पढेँ । धन्न, पढेँ । नपढेका भए मैले जीवनको एउटा महŒवपूर्ण पाटोको रहस्य जान्नबाट म वञ्चित रहने थिए ।
 त्यो पढेपछि मलाई जीवनको अर्थ खुलेजस्तो भएको छ । जीवनको सार्थकता के हो ? प्रष्ट भएको छ । धमिराले खाएर टोडका पर्दै जाने रुखझैँ भइसक्न लागेको मेरो शेष जीवन सुकार्य, सेवा र मानव जीवनको समर्पणमा लगाउने उत्प्रेरणा प्राप्त भएको छ ।

लेखनीको माध्यमबाट मजस्ता हजारौँलाई आँखा देखाउने हरदेव आज प्रख्यात लेखक भएका छन् । नारायण पनि सामाजिक सेवाको क्षेत्रमा मान्य व्यक्ति भएका छन् । यस्ताका साथी हुन पाएकोमा म पनि हर्षित छु ।

२०६९।२।२७।७, धरान

Monday, December 28, 2015

४.(लघु कथा) रहस्य

लघु कथा
रहस्य
सरण राई

बेलुकीको खाना पकाउने बेला भईसक्यो | दिउसो घाम नलागेकोले 'सोलार'को बत्ति पनि सधैको जस्तो चहकिलो बलि रहेको छैन | मलाई पनि बिसन्चो भएकोले जाँगर लागिरहेको छैन | दाउरा कसले ल्याई देला ? सोचिरहेको हुन्छु |
नभन्दै धनबहादुर एक अँगालो दाउरा लिएर आउँछ | अगेना छेउ दाउरा राखेर अन्खोराको पानि पिउछ | आज ऊ निराश जस्तो देखिन्छ | केहि बोलेको पनि छैन | आँखा पनि झुकाएकोझुकाएकै छ |
मान्छेको मन सधै कहाँ एकै प्रकारको हुन्छ र ? कुनै समस्या परेको होला | म सम्झन्छु | त्यति नै बेला फूलमायाको फोन आउछ |
"माईली भाउजु , दाई कता हुनुहुन्छ ? अस्पताल पठाई दिनु होला तुरुन्तै .."
"किन र ? "
" अब मेरो पति धनबहादुर छैनन् | ३ बजेतिर एक्सिडेन्ट भएर उनको देहान्त भयो |लास अस्पतालमा राखेको छ |" फूलमाया रोएको फोनमा नै सुन्छु |
फुलमाया के भनिरहेकी छिन्  ? धनबहादुर यहाँ आएको छ | म सबैतिर हेर्छु | कोहि छैन | अगेना छेउ दाउरा छ, धनबहादुरले पानी खाएको अन्खोरा पनि छ | तर धनबहादुर छैन | कस्तो अचम्भ ?
२०७२ असोज २९ , धरान
http://kathaasansaar.blogspot.com/

Thursday, April 25, 2013

(दृष्टिकोण) नयाँ साहित्य




सरण राई

जहिले पनि नयाँ, कहिल्यै पुरानो नहुने ‘नयाँ’ हो । हरेक युग नयाँको खोजी र प्राप्तिमा सार्थक भएको छ । नयाँनयाँप्राप्ति उद्देश्य भएको छ । नयाँ ब्रम्हाण्ड, नयाँ विश्व, नयाँ समाज नयाँ साहित्य र नयाँ ज्ञानको खोजीले मानव प्रगति भएको छ ।
नेपालको सन्दर्भमा पनि नयाँको खोजी निरन्तर भइरहेको थियो र भइरहेको छ । ‘नयाँ नेपाल’को सपना कति पटक बाँडियो, पूरा भएन भनि साध्य छैन । तापनि ‘नयाँ नेपाल’को चाहना सकिएको छैन । ‘नयाँ नेपाल’को अनुकूल हुने साहित्य ‘नयाँ साहित्य’ हो ।
अहिलेसम्म नेपालमा लेखिएका ८० % साहित्य पुरानो परम्परा, पुरानो नेपाल एवं पुरानो सामन्ती मान्यता र सोचमा आधारित रहेर लेखिएका छन् । ती साहित्यको पुनर्मूल्याङ्कन हुन थालेको छ । समयले छाडिसकेका पुराना, थोत्राहरू स्वतः मिल्किने तुरिने अवस्थामा छन् । त्यसलाई अनेकौँ नयाँ जामा भिराए पनि नयाँ विकासको बाधक मात्र बन्ने ती थोत्रा, पुरानाहरू मृत अवस्थामा छन् ।अब तिनीहरूको धङधङीमा नेपाली साहित्य जीवन्त हुन नसक्ने भएकाले ‘नयाँ साहित्य’ लेखनको आवश्यकता भएको छ ।
नेपाली साहित्यले विश्वमा आपूmलाई चिनाउन र नयाँ सभ्यता, सर्वप्रिय विकास र उन्नत जीवन पद्धत्ति अनुकूल पार्न पनि नयाँ बन्नु पर्ने भएको छ । नयाँ वैज्ञानिक सोच, मान्यता एवं सभ्यता अनुकूल ‘नयाँ साहित्य’ लेखिनु जरुरी भएको छ । जुन नेपाली ‘नयाँ साहित्य’ले समस्त नेपालीहरू जो नेपाली भएर बाँच्न चाहन्छन् सबैलाई समेट्छ । उनीहरूको अनुभूति, वेदना , पीडा, इच्छा र आकाङ्क्षा ‘नयाँ साहित्य’मा व्यक्त हुन्छ र उनीहरूलाई नयाँ नेपालतर्पm साथै नयाँ विश्वतर्पm मार्ग निर्देशन गर्दछ ।
नेपाल पनि विश्वमा पृथक भएर एक्लै बेग्लै बस्न नसक्ने हुँदा विश्व सभ्यता र विकासमा नेपालले पनि सहभागिता र साझेदारी राख्छ । त्यस्तै प्रकारले नेपाली ‘नयाँ साहित्य’ले विश्व साहित्यकै अभिन्न अङ्गको रूपमा विश्व शान्ति, आधुनिक मानवियता, सभ्यता, संस्कार र विकासमा सहभागिता राख्दै महत्वपूर्ण योगदान गरेर आफ्नो भूमिका निर्वाह गर्दछ ।
अनुभूतिको जुनसुकै क्षेत्रमा नयाँ अनुभूत गराउने साहित्य ‘नयाँ साहित्य’ हो । नयाँ साहित्य नयाँ नेपालको साझा र सर्वप्रिय साहित्य भएकोले यो सबैलाई उत्तिकै प्रिय हुन्छ । यो नेपाली ‘नयाँ साहित्य’ विश्वमा नेपालको नयाँ परिचय–चिनारी हुनेछ ।
(२०७० वैशाख १२, धरान )
  • Shailendra Thapa  'सबैको सोच यसतर्फ अभिप्रेरित होस'
    Narahari Sampang Rai  ' एउटा महान साहित्य र बिचार'

Saturday, April 13, 2013

विस्थापित मुटु


विस्थापित मुटु
सरण राई

बाबु मरे आधा टुहुरा, आमा मरे पूरै टुहुरा ।
‘आमा जिउँदै छिन् तर टुहुरोजस्तो भएको छ नाति । बुहारीलाई नातिको कुनै वास्ता छैन ।’
बोजुको मन कटक्क खान्छ । आफैँ बिरामि हुँदाहुँदै पनि मायाको अभाव नातिले महसुस गर्न नपरोस् भनेर आफूसित भएको सम्पूर्ण माया र न्यानो ममता नातिमाथि खन्याउन पुग्छिन् । तिनी समयमा खाना र खाजा खुवाउने, समयमा सुताउने, पालन पोषण, सह्यार सम्भार गर्ने र बाल सिकाइमा त्रुटि हुन नपाओस् भनेर चिन्तित छिन् । हामीले पनि निश्चित रूपमा छोराछोरीहरू हुर्काउँदा भावी असक्त वृद्धावस्थामा छोराछोरी, बुहारीहरूले हेरुन्, हाम्रो मनोभावना बुझुन् भन्ने चाहना अदृश्य रूपमै भएपनि मनको कुनै कुनामा राखेका थियौँ । तर त्यो चाहना, सपना आज चकनाचुर भएको छ तापनि बोजु चाहन्छिन्, बुहारीले हामी सासुससुरा र लोग्नेलाई नहेरे पनि छोरा(नाति)लाई हेरोस् ।
बरा, बिचरा सानो बालख नाति ! आमाको माया नपाएर नियास्रिएको छ ।
नानी उमेरको स्वर्णिम अवधि जुन बेला हरेक बस्तु र कुराहरू सबै नयाँ हुन्छन् । सब नयाँ सिक्नु पर्ने, बुझ्नु पर्ने, थाहा पाउनु पर्ने, स्मरणमा अङ्कित गर्नु पर्ने र ती सबलाई ठीक प्रकारले बुझेर बोली र शब्दमा प्रकट गर्नु पर्ने उमेरमा राम्रा र नराम्राको अनुभूति, माया, ममता, प्रेम, घृणा, उपहास, हेला, विवेध र विभिन्नताको महसुसीकरण र त्यसको स्वाभाविक सहज प्रकटीकरण गर्ने उमेर ! मन परे मुस्कुराउने, हाँस्ने र प्रफूल्लित भएर वातावरण र परिवेश झलमल्ल पार्ने; मन नपरे चिच्याएर, रोएर बिरोध, बिद्रोह र आक्रोश पोख्ने निश्छल बाल उमेर ! त्यही उमेरमा आमाबाबु, प्रिवार र आफन्तजनको सबैभन्दा बढी माया चाहिन्छ । आमाको काखमा लुट्पुटिएर मुस्कुराउने, हाँस्ने र रुने उमेर !
‘छोरालाई भनाँै कि क्या हो ? बुहारी सा¥है बरालिन थाली । नानीलाई खाजा पु¥याउने निहुँ गरेर घरबाट निस्किन्छे, दिनभर बेपत्ता हुन्छे ।’
‘के भन्नु ? आमाबाबुले छोराबुहारीको सम्बन्ध बिगारी दिए, भन्लान् । बेकारमा दोष मात्र लाग्ला ।’, म भन्छु । हुन त मलाई पनि बुहारीको स्वच्छन्द चलन र व्यवहार मन परेको छैन । हामी परदेशमा हुँदा बुहारी राती अबेला मात्र धर आउथी । सकीनसकी आमा आफैँ खाना पकाउनु हुन्थ्यो, कुनै कुनै रात त घर नै पनि आइन रे भनेर आमाले सुनाउनु भएको थियो । मैले त्यसलाई सानो कुरा भनेर खासै महत्व दिइनँ ।
हामी सासुससुरा घरमा हुँदा बुहारी दिनभर घुमे पनि बेलुकी ठीक समयमा नै घर आउँथी । तर अब केही दिनदेखि भने अबेला राती फर्किन थालेकी छे । छोरा पनि उस्तै छ, राती दस बजेभन्दा अगाडि घर आउँदैन । अब त अचाक्ली भयो । बुहारी अझै घर आएकी छैन । म छोरालाई उसको मोबाइल फोनमा भन्छु ‘बुहारी अझै घर आएकी छैन । तँ पनि आउदैनस्, नानीहरूको विजोग भयो ।’
‘बुहारी माइती गएकी छे, भोलि मात्र आउँछे ।’ केहीबेर पछि छोराले फोनमै जवाफ दिन्छ । बुहारीसँग मोबाइल फोनमा कुरा गरेर जवाफ दिएको हो भन्ने म लख काट्छु ।
हामी बुढाबुढीले के बोल्ने ? बुहारी छोराको खटनमा हुनुपर्ने हो । जब छोरालाई नै बुहारीको चालचलन, गतिविधि र हिडाइडुलाइबारे चिन्ता छैन । बुहारी घरमा नभए पनि नातिनातिनी, बुढी सासु (मेरी आमा) लाई भोकै राख्नु भएन । जीवनमा हार खान नमान्ने, नजान्ने मेरी धर्मपत्नी बोजुले मलाई जीवनको सुख दुःखको दौडमा साथ दिई र म यहाँसम्म यो अवस्थामा आइपुग्न सकेको छु । तिनकै साथ, सहयोग र आडभरोसामा आफ्नो आस्था, विचार र विवेकको धरातलमा अडिन सकेको छु । तिनी आजसम्म पनि विचलित भएकी छैनन्, सकीनसकी खाना पकाउछिन् । सासु, केटाकेटी र मलाई खाना खुवाउछिन् र भन्छिन्, ‘यो बुढेसकालमा छोराबुहारीले पो हेर्छन् भनेको त उल्टो आफूले पो उनीहरूलाई समेत हेर्नुपर्ने भयो ।’
‘के गर्छौ त ? युग पूरै आधुनिक भएको छ । नारीहरू स्वतन्त्र भएका छन् । भातभान्सामा सीमित अघिल्लो पुस्ताको तिमीजस्तै बुहारी हुन सक्तिन ।’ म मनभरि झुसिलो अमिलो स्वादको अनुभूति गर्दै भन्छु ।
‘होइन, हाम्रो छोरा नै पानीमरुवा, लाछी, जोइटिङ्ग्रे । स्वास्नीलाई तह लाउन नसक्ने । ऊ त काम गर्दैन, गर्दैन, बुहारीलाई समेत बिगा¥यो । बुहारीलाई फेसन गर्न लगायो, तथाकथित आधुनिक रहनसहनको अन्धा अनुयायी बनायो ।’
‘कसरी ?’
‘पोहोरदेखि नै बुहारी बिग्रिन थालेकी हो । हामीले भनेका थियौँ, ‘काखको नानी सानो छ, त्यो काम नलाग्ने तीन महिने, छ महिने व्यावसायिक तालिम गर्न नपठा ।’ तर उसले पठायो । आफ्नो आर्थिक हैसियतको वास्ता नगरी उल्टो आपूmसित भएको माखामुन्द्री मासेर स्कुटर किनिदियो । जागिर छैन, आम्दानी छैन । किन स्कुटर चाहियो । अर्काले हात्ती चढ्यो भनेर धुरी चढ्यो । ‘बाँदरलाई लिस्नु’ स्कुटर किनेपछि त कहिले कहाँ, कहिले कहाँ ? घरमा दिनभर हुँदिनथी, हुँदिनथी, अब त राती पनि घर आउन छाडी ।’
‘छोराले माइती गएकी छे भनेपछि कुरा सकियो ।’
‘छोरा त खेर गएको छ । स्वास्नीको फरियामा लुट्पुटिएर बस्छ । स्वास्नीले धोका दिइरहेकी पनि थाहा पाउदैन ।’
‘धोका नै त दिएकी छैन होला ।’
‘धोका दिइ सकी । छिमेकीहरूले पनि उसलाई रेस्टुराँ र होटेलहरूमा निकै पल्ट भेटेकादेखेका रहेछन् । मलाई त लाग्छ बुहारी केटाहरूसँग लागेकी छे । केटा खेलाउँदै छे कि केटाहरूले खेलाइरहेका छन् । नत्र दिनभर कहाँ हराउछे, नकच्चरी, बाइफाल्नी.... साँझमा मातेर पनि आउन थालेकी छे, इज्जत माटोमा मिलाई ! बालक काखे छोराको पनि माया छैन, वास्ता छैन ।’
‘त्यसो भन्नु हुँदैन ।’ म तिनको झ्वाँक अलिक मत्थर बनाउने हेतुले भन्छु, ‘नाति खेलाउन पाएका छौँ, बुहारीलाई धन्यवाद दिनुपर्छ । नातिनातिनीहरू पाइ दिई । नातिनीहरू त हुर्कि सके भन्दा पनि भयो । नाति सानै छ त्यो पनि हुर्किन्छ । अरू हामीलाई के चाहियो ?’
‘यो बुढो ! छक्क पर्छु, अरु के चाहियो ? भन्नु हुन्छ । के चाहिएको छैन ? बुहारी हो, उसले हाम्रो स्याहार सम्भार गर्नु परेन ? बुढी आमालाई हेर्नु परेन । नातिनातिनीहरू हेर्नु परेन ? घर हेर्नु परेन ? घर हेर्दिन भने पनि नाति त हेर्नु पर्ने हो । नाति मेरो भरमा छ । ठीकै छ म सन्च भएँ भने आफ्नो नाति हो जसरी पनि हेर्छु, हुर्काउँछु । त्यो बजिनी पोइल नै जान्छे भने पनि नातिलाई अरुभन्दा घटी हुन दिन्नँ ।’
‘यही तिम्रो साहसी आँटिलो बानी मनपर्छ । तर तिमी आफै बिरामि भइरहन्छ्यौ । बुढाबुढी हामी के गर्न सकौलाँ ? हामी नै पनि कति बाँच्छौँ र ? आज हो कि भोलि ...।’
‘यो मान्छेको कुरा ! ‘मर्नुभन्दा अगाडि खुट्टा तन्काउनु’ हुँदैन । जहिलेसम्म बाँच्छौँ, बाँच्छौ, हामी बाचुन्जेल नातिनातिनाहरूले टुहुरापन महसुस गर्न नपाऊन् । आज हो कि भोलि ...त्यसो भनेर धर पाइन्छ ? जिम्मा आइ लागे पछि बिरामी भन्न पाइन्छ ? आफ्ना नातिनातिनाहरू हुन् टाउकाले टेकेर पनि सक्नु प¥यो नि ।’
हो पनि, अब बुहारीको भर भएन । छोरा त हाम्रो अगाडि चेब्रे पार्ने मात्र हो । बुहारीको वकालत गर्छ । घरको ल्यान्डलाइन फोनमा समेत केटाहरूले बुहारीलाई फोन गर्न थालेका छन् । मोबाइलमा नै फेसबुक र नेट आइहाल्छ । नेट र फेसबुक ! हुन त म पनि नेट, फेसबुक र त्यहाको साहित्यिक सञ्जालमा नरामर्री नै भुलिन्छु । सयौँ साहित्यकारहरू त्यहा भेटेको छु । मलाई बुढेसकाल बिताउन कम्प्युटर उपयोगी भएको छ । नयाँ कुरा र ज्ञानहरू नेटबाट सिक्न सकिने भए पनि फेसबुक, च्याट, ट्वीटर, गेम, स्काइपआदि प्रोग्रामहरू आजभोलि केटाकेटी भुलाउने र बिगार्ने साधन पनि बन्न गएका छन् । चौबिसै घण्टा मोबाइल फोन मुखमा झुन्डिएको हुन्छ, मोबाइल हेरेको छ, छ । को कोसँग कुरा गरिरहेकी हुन्छे ? कति व्यस्त ! घरको काममा ध्यान दिन छाडेकी छे, सधैँ उम्कने दाउमा हुन्छे । एउटा एउटा निहुँ पा¥यो, घरबाट निस्केपछि बेपत्ता । बुढेसकाल ! हामी आफैँ साठी नाघेका वृद्धहरू.... शरीरमा स्फूर्ति–तागत छैन, चिताएको काम कुरा गर्न सकिदैन । साना नानीहरू र सतासीको उमेरमा लाग्नु भएकी आमालाई कसरी स्याहार्ने होला ? अब घर कसरी चल्ला ? हामी चिन्तित भइरहेका छौँ ।
‘अबेला घर आउने, मनपरि गर्ने, छोराछोरी, सासुससुराको वास्ता नगर्ने, लोग्ने नटेर्ने कस्तो बुहारी पाइएछ ?’ ‘कोसित पोखूँ मनको ताप’को स्थितिमा रहेका हामी चिन्ताको गहिरो समुद्रमा डुबिरहेका हुन्छौँ ।
‘होइन, यो युग छिप्पिइ सकेको छ भोजभतेर, ‘गेट टुगेदर’, बर्थडे, डान्स पार्टि, अनेकौँ भेला, उत्सव ... आजका बुहारीहरू हाम्रा पालाका जस्ता घरभित्र कोच्चिएर बस्न कहाँ मान्छन् र ? हामीलाई हाम्रो बुहारीको बारेमा मात्र थाहा छ । जमाना फेरिएको छ । नयाँ जमानाको हावा, सबै बुहारीहरूको चालामाला उस्तै होला नि, छिमेकका वृद्धहरूका स्थिति पनि हाम्रै जस्तो होला भन्ने मलाई लाग्छ ।’ बोजु मेरो कुरामा ध्यान दिनुभन्दा आफ्नै गुनासो सुनाउन बढी लालायित छिन् ।
‘घरभित्रका कुरा बाहिरकालाई बढी थाहा हुन्छ । बुहारीले गन्ध चलाइ सकी । बदनाम हुनुभन्दा त बरु विदेश जाओस् कि !.. छोराको लाटो रिस, कुटेर केही भयोभने झन् नराम्रो, लाजमर्दो । सोधि हेरौँ, मानी भने त्यसै गरौँ ।’ असह्य मानसिक सन्ताप र पीडामा छट्पटिएका हामी सल्लाह गर्छौ ।
‘तर नाति कसले हेर्छ ?’
‘घरमा बस्दा नै बुहारीले नाति कहाँ हेरेकी छे र ? दिनभर बाहिर बाहिरै, अब त राती पनि घर आउन छाडी । केही बोल्नु भएन ।’
वृद्ध भएपछि छोरा बुहारीसँग पनि डराउनु पर्ने, लच्कनु–हच्कनु पर्ने ! जति बुढो भइन्छ, सामथ्र्य, शक्ति, जाँगर शरीरमा घट्दै जान्छ तर मनमा भने झन् धेरै मायामोह, ममता, लोभ र दायित्व बढ्दै जाँदो रहेछ, झन् बढी सांसारिकताले छोप्दोरहेछ । एक जिउ हुँदा एउटा माया, अब त जति धेरै सन्तानहरू, छोराछोरी, बुहारी, ज्वाइँ, भान्जाभान्जी, नातिनातिनी, नातेदारहरू बढ्दै गएका छन् ती सबैको त्यति धेरै माया लाग्दो रहेछ, तिनीहरूको चिन्ता लाग्दो रहेछ ।
बुहारीको पासपोर्ट बन्छ । बुहारी अलिक सप्रिएजस्ती हुन्छे । घरको काम पहिला जस्तै गरिरहेकी हुन्छे । अब सुध्रिन्छे होला भन्ने आशामा उसलाई विदेश नपठाउने छोरासँग हाम्रो सल्लाह हुन्छ । हाम्रो बुढेसकाल कसरी सुरक्षित रहला ? छोराबुहारीले घर राम्ररी सम्भाली दिए हामी बुढाबुढी आफूले गर्न नभ्याइएका कुराहरू उन्मुक्त भई बाँकी शेष जीवनमा गर्ने थियौँ । तर ‘बा¥ह छोरा ते¥ह नाति ,बुढाको धोक्रो काँधै माथि ।’
मोन्टेसोरी प्लेग्रुपमा नातिलाई पठाउने हतार छोराबुहारीको हुन्छ । हामीले नमान्दानमान्दै पनि नातिलाई स्कुल पठाउन थालिएको हुन्छ । दिनभर स्कुल, स्कुलबाट घर आउनासाथ ‘आमा, आमा’ कराउदै सब कोठा चाहार्छ, आमालाई खोज्छ । बाबु खोज्छ । आमाबाबु दुवैलाई घरमा नपाउदा नियास्रिएर बस्छ । निन्याउरो हुन्छ । बोजु हत्तपत्त गएर प्यारो गर्दै नातिको स्कुल ड्रेस खोलि दिन्छिन् ।
नाति नियास्रो हुँदा नातिभन्दा धेरै हामी नियासंो मान्छौँ । हामीलाई किन यस्तो भएको होला ? हामी भन्न सक्तैनौँ । हाम्रा सपनाहरू जीवनमा अधुरा नै रहे । जे चाहेका थियौँ त्यो पाइएन । जे खोजेका थियौँ, त्यो पनि पाइएन । ती अधुरा सपनाहरू छोराछोरीहरूले पूरा गलानर््, सोचेका थियौँ । छोराछोरीहरूबाट पूरा भएनन्, अब नातिमाथि हामीले हाम्रा अधुरा सपनाको भारी बिसाएका छौँ । हामी हाम्रो क्षणभङ्गुर जीवन र सपनाको निरन्तरता नातिनातिनामा पाउछौँ । सपनाको निरन्तर क्रमिकता !
सानो नानीका लागि आमाभन्दा प्यारो अरु केही हुन सक्तैन । आमा चाहिने बेला पनि त्यही उमेरमा हो । सुनिन्छ विदेशका विकसित देशहरूमा जहाँ आमाबाबु दुवै काममा व्यस्त हुन्छन्, नानीहरूलाई पनि सानैदेखि छुट्टै सुताइन्छ, एक्लै बस्ने र बाँच्ने तौरतरीका सिकाइन्छ । त्यता अठार वर्षको उमेरपछि छोराछोरीहरू आमाबाबुसित छुट्टिएर अलग बस्छन् । तर अझै हाम्रोमा त्यस्तो चलन परिपाटी आइसकेको छैन ।
मैले एउटा सत्य कथा पढेको थिएँ । त्यस सत्य कथामा अमेरिका भन्ने देशमा बसेका छोराबुहारीले वृद्ध आमाबाबुलाई उतै झिकाए । बुढेसकालमा छोराको आछापिछामा बाँच्नुपर्ने बाध्यता भएको हाम्रो देशका तिनीहरू त्यता गए । छोराको जागिर अर्कै सहरमा र बुहारी पनि जागिरे । जेक्सन भन्ने त्यतैको मानिस छोराबुहारीको ‘पेइङ्ग गेस्ट’ भएर बसेका थिए । किनमेल गर्ने, खाना बनाउन बुहारीलाई सघाउने, केटाकेटीलाई स्कुल लाने, लैजाने र अन्य घरको काममा उसले मद्दत गरिरहेको हुन्थ्यो । अरू त आमाबाबुलाई ठीकै लागेको थियो तर बुहारी र जैक्सनको सम्बन्ध तिनीहरूलाई मन परिरहेको थिएन । जेक्सन र बुहारी राती पनि सँगसँगै सुतेको देखेर आमालाई पर्नु पीर प¥यो । सती साबीत्रीजस्तो पतिव्रता बुहारी हेर्न चाहने आमाबाबु ! छोरालाई भन्दा ‘त्यो मामुलि घटना’ भनेर वास्तै गरेन । आमाबाबुले त्यसलाई सामान्य रूपमा लिन सकेनन् । जीवनको अन्तिम कालखण्ड बुढेसकालमा त्यस देशको भिन्न संस्कृति, प्रचलन, परिपाटि र जीवनशैली पचाउन र अपनाउन नसक्ने भएर तिनीहरू दिक्क भएर आफ्नै मुलुक फर्किए ।
आजभोलि पुरानो संस्कृति, प्रचलन र जीवनशैली सुस्तसुस्त विस्थापित हुँदै छ । नयाँ सोच र नयाँ परिपाटीको आगमनसँगै हामी बुढाबुढी पुरानो संंकुचित सोच बोक्ने पुरानो पिँढी बन्न थालेका छौँ । म गम्छु, जस्तोसुकै सभ्यता र युग आए पनि आमा र नानीको सम्बन्ध त साश्वत हो । आमाको माया, ममता र प्रेमले नानीको जीवन सुखकर, सरस, सुमधुर दिव्य र सुन्दर हुन्छ । सम्पूर्ण सांसारिक दुःख, कष्ट, झमेलाबाट रक्षा गर्दै आफ्ना नानीहरूलाई जीवन र भविष्य दिने आमा होइन र ?
नानीको लागि आमा सबैभन्दा ठूलो कुरो हो । आमा आफ्नो नानीको लागि सारा संंसारसित जुध्न सक्छिन्, ज्यानको बाजी थापेर प्राणाहुति दिन सक्छिन्, सम्पूर्ण दुःखहरू आफ्नो थाप्लोमा बोकेर नानीलाई जीवनको सारा सुख दिन्छिन् । यस्ता आमाको त्याग र ममतामा पनि स्वार्थी आधुनिक रहनसहन, तडकभडक र चहकले ग्रहण लगाउन थालेको हो कि ?!
आधुनिक जीवन पद्धत्ति, रहनसहनमा आमा पनि जागिरे छिन् भने आफ्नै नानीहरूको लागि भनेर मुस्किलले प्राप्त हुने आफ्नो फुर्सद त्याग्न चाहन्छिन् र ? आज त नानीहरू फ्याक्टरीबाट उत्पादन गरिने एकै प्रकारका सामानहरूजस्ता भएका छन् । तीन वर्षकै उमेरदेखि प्लेग्रुप, नर्सरी, के.जी.मा भर्ना गरिएका नानीहरू शिक्षिकाको निर्मम नियन्त्रणमा परिहाल्छन् । उनीहरूको पहिलो सिकाइ नै दबिएर बस्नु हुन्छ । शिक्षिकाको रूपमा डर, त्रास, भय र आतङ्कसँग उनीहरूको पहिलो साक्षात्कार हुन्छ । उनीहरू स्वाभाविक वा प्राकृतिक रूपले न हाँस्न सक्छन् र न रुन । डर, त्रास, भय र आतङ्कको छायामुनि उनीहरूको स्वाभाविक विकास कसरी सम्भव हुन्छ ?
सब एक समान एक प्रकारले सेनाजस्तो उर्दी मान्ने बालकहरू, परीक्षामा जसरी पनि उत्तिर्ण हुनुपर्ने बाध्यता र मानसिकता बोकेका तिनीहरूलाई आमाको काखमा बसेर बालहठ गर्ने फुर्सद कहाँ ? आमाबाबुलाई पनि डे केयर सेन्टर, मोन्टेसोरी र स्कुलहरूलाई नानीहरू जिम्मा दिइसकेपछि आफ्ना नानीहरूको मानसिक स्थिति, अवस्था र विकासबारे किन चासो राख्नु प¥यो र ? स्वाभाविक वास्तविक जीवनको स्वाद लिन नपाउने आजको बाल पुस्ता !
मेरो नाति पनि अपवाद बन्न सक्तैन । ‘नातिको स्वाभाविक विकास होस्, आमा र परिवारको भरपुर माया पाओस्’, हामी बाजेबोजु चाहन्छौँ । तर हाम्रो चाहनाले मात्र के हुन्छ र ? बुहारी पनि आधुनिक जीवन पद्धत्तिको अन्धाधुन्ध अनुकरण गर्न थालेकी छे । आजभोलिका मान्छेहरू ! आफ्नो इच्छा, स्वार्थ, स्वअस्तित्व र पहिचान, निजी अहंतुष्टि, निजत्व र निजी स्वतन्त्रतालाई नै सर्वोपरि ठान्छन् । अरुको लागि किन आफ्नो इच्छा, चाहना, आनन्द, तुष्टी, आकाङ्छा र तृप्तिको तिलान्जलि दिने ? छोराकै लागि भनेर आमाले किन आफ्नो सुख र आनन्दका क्षणहरू बर्बाद गर्ने ? बुहारी नै आमाको माया मनग्गे रूपमा दिन तयार भएकी अवस्था छैन । त्यो देखेर हाम्रो मन कुटुकुटु खान्छ । क्षतिपूर्तिस्वरूप आमाको माया नपाएको नातिलाई बाजेबोजुको माया दिन तम्सन्छौँ, दिन्छौँ तर त्यो आमाको माया जस्तो कहाँ हुन्छ र ? हामी फेरि पनि उदास नै हुन्छौँ ।
‘आजभोलिका आमाहरू के भएका होलान् ? साना नानी छोरा छोरीको माया छैन , वास्ता छैन । तरुनीजस्तो भएर दिनरात भौतारिन्छन् ।’
‘नारी पनि पुरुष सरह स्वतन्त्र भएका छन् । आजको यान्त्रिक युग, पाइला पाइलामा पैसा चाहिने । उठ्दा, सुत्दा, हिड्दा यहासम्म कि बोल्दा पनि पैसा खर्च गर्नु पर्छ ।’
‘कसरी ?’
‘उठ्नु बित्तिकै चिया खाजा खानु प¥यो, चिया, चिनी, दूध, खाजाको लागि पैसा चाहियो, हिडनु प¥यो, गाडि चढ्नै प¥यो , गाडि भाडा चाहियो, बस्दा पनि पंखा चाहियो टि.भि., कम्प्युटर हेर्नु प¥यो, बिजुली चाहियो । फोन, मोबाइलमा कुरा ग¥यो पैसा चाहियो, औषधि, खाना, लुगा, आवास, आकाश, हावा, पानी, सबथोक, सबथोकहरूका लागि पैसा खर्च गर्नु प¥यो । पैसा पलपल, पाइलापाइलामा चाहिने भएकैले हरपल मानिस पैसाकै पछि दौडिरहेको छ । उच्च जीवनस्तर सबैको चाहना भएको छ । एक पटक जीवनस्तर माथि उठे पछि तल झर्न कोही राजी हुँदैन । आफ्नो जीवनस्तर यथावत कायम राख्न जे पनि गर्न तयार हुन्छन् । एकजनाको कमाइले मात्र नपुग्ने भएर लोग्नेका साथसाथै स्वास्नीले पनि कमाइ गर्नु पर्ने पारिवारिक बाध्यता भएको छ ।’
‘कमाइ गर्नुपर्छ भनेर आफ्ना नानीहरूलाई नै नहेर्नु ? यस्तो त भएन ।’
‘बाहिर हिडन थालेपछि महिलाहरू पनि थाकेर घर आएका हुन्छन् र नानीहरूलाई कम ध्यान दिन्छन् ।’
‘होइन, जेजस्तो भने पनि बुहारीले हामीलाई नटेरीकी हो । मैले नातिलाई हेरेकी छु भन्दैमा उसले घर, छोराछोरीहरू नहेरी बाहिर बाहिरै मोज गर्दै हिड्न मिल्छ ?’
‘मोज होइन होला । एक पटक मान्छेको जीवनस्तर माथि उठेपछि तल झर्न मान्दैन । स्कुटरमा तेल हाल्नै प¥यो, आफ्नो फुरमासी खर्च धान्नै प¥यो, साथीभाइभन्दा घटि देखिनु भएन, काम खोजीरहेकी होली ।’
हाम्रो दिनरात बुहारीको क्रियाकलापले प्रभावित पारिरहेको छ अनुकूल भन्दा प्रतिकूल नै बढी । बोजुमाथि बुहारीले थामीरहेको कामको बोझ थपिएको छ । उसलाई सघाउनु पर्दा ममाथि पनि केही थप कामहरू थपिएका छन् । जीवनभर गधाले जस्तै पारिवारिक बोझ बोकियो । अहिले बुढेसकालमा जीवनभर अनुभूत गरेको अनुभव, शिक्षा र सिपहरूलाई साहित्य लेखनमार्फत पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने मेरो मनसुवामा पनि आघात पुग्न लागेको छ ।
‘आमा कहाँ जानु भयो ?’ ठूली नातिनी सोध्छे ।
‘मलाई के सोध्छेस ? आफै फोन गरेर सोध् न तेरी आमालाई ।’ बोजु जवाफ दिन्छिन् ।
‘अघिदेखि गरिरहेको छु, ‘सम्पर्क हुन सकेन’, भन्छ ।’ ठूली नातिनी बोजुलाई केही मसिना कामधन्दा सघाउन सक्ने भएकी छे । सानी नातिनी पनि काम सघाउन चाहन्छे दिदिले जस्तै, तर ऊ अझै सानी नै छे । बोजुलाई केही वर्षपछिदेखि उनीहरूले पनि काम सघाउने छन् भन्ने ठूलो आशा छ ।
बुहारी तीन दिनदेखि घर आएकी छैन । सोच्यौँ सधैंझैँ माइत गएकी छे । छोरा पनि घरबाहिर गएको थियो । आइपुगेपछि बुहारीको सोधीखोजी गर्न थाल्छ । बुहारीको मोबाइल फोनमा सम्पर्क हुन्छ । हामी पनि उनीहरूको वार्तालाप सुन्छौँ ।
‘कहाँ छौ ?’ छोराको प्रश्न ।
‘एयरपोर्टमा ।’
‘कसरी, किन एयरपोर्टमा ?’
‘म विदेश जान लागेकी । एयरपोर्टभित्र ‘इन’ भइसकेँ ।’
‘मलाई किन भनेनौ ? सोधेनौ ?’
‘तपाईँले मान्नु हुन्नथ्यो ।’
‘एकवचन भन्नु त पथ्र्यो ।’
‘... ...नानीलाई राम्ररी हेर्नुहोला ।’
‘नानीको कुरा नगर । ठीकै छ ,जाने भइहाल्यो । बोक्रे रुवाइ बन्द गर । नरोई राम्ररी जाऊँ ।’
‘... ... ’
‘मलाई तिमीले कमाएको एक पैसा चाहिदैन । मलाई भनेकी भए म नै त्यहाँ बसेर तिमीलाई ‘सी अफ’ गर्ने थिएँ ।’
‘... ... ’
हामी बाजेबोजुलाई पनि आश्चर्यको ४०००वाटको करेन्ट लाग्छ, मुच्र्छित हुन्छौँ कि भन्ने डर लाग्छ । मुलुकभित्र रोजगारीका अवसर शून्य छ । मुलुकभित्रै यस्ता अवसरहरू भए बुहारी पनि किन विदेश जान्थी ? कस्तो अचम्भ ? कस्तो यो आधुनिक युगको विडम्बना ? काखको नानी छोडेर कसैसँग सल्लाह नै नगरी बुहारी विदेश जान सक्छे । आमा हुँदाहुँदै नाति टुहुरो भएको छ, कसरी हुर्कला ?
आज मानिसको आफ्नो मन र मुटु छैन । सम्पन्नताको चटकमटक, चहलपहल, कृत्रिमता र टलकले मानिसको मन र मुटुलाई विस्थापित गरेको छ । सर्वोपरि निजी सुख, व्यक्तिगत स्वतन्त्रता, आकाङ्क्षा, आत्मकेन्द्रित दृष्टि र आधुनिक सम्पन्नताको स्वार्थकेन्द्रित अन्धाधुन्द दौडमा आमाको मन पनि आमाको मन रहन पाएन ! आमाको मुटु आमाको रहेन !
मन भक्कानिएर आउँछ । बुहारी फर्केर आउछे या आउदिन, त्यो अहिले नै भन्न सकिँदैन । आइ नै भने पनि धेरै वर्ष पछि आउली । उसको काखमा बस्ने नातिको उमेर बितिसकेको हुनेछ । आमा र नानीको न्यानो सम्बन्ध समयको निष्ठुरी हुरीले उडाएर बिलाइसकेको हुनेछ ।
आमाबाबु हुँदाहुँदै पनि टुहुरा जस्तै भएर हुर्किने नानीहरूजस्तै मेरो नाति पनि हुने भयो !
मनभित्र आआफ्नो व्यथा कथा लुकाउँदा पनि आँखाबाट आँसु झर्न खोज्छ । जबर्जस्ती मन थाम्दै आँखाको आँसु आँखामै लुकाएर हामी आमाबुबा र छोरा एकआपसमा हेराहेर गर्छौँ ।

मधुपर्क पूर्णाङ्क – ५२७, २०७०, वैशाख
सरण राईको कथा हेर्न -- http://kathaasansaar.blogspot.com/

Saturday, May 19, 2012

ब्लाकबोर्ड, चक र डस्टर







लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै आंैलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।
यो संसार हो, सानो संसार प्रत्येक हरेकको हुन्छ । यो संसारलमई मधुर, रमणीय र भव्य बनाउने प्रत्येकको कल्पना हुन्छ । हिउँ पग्लिदै जान्छ तर हिमालमा  हिउँ खाली नभएझैँ जीवन कल्पनाशून्य हुन सक्दैन । हिउँले पग्लेर पानी हुनै पर्छ । जीवनको सुन्दरता सम्झना हो, सम्झना सधैं बाँचिरहेको हुन्छ । त्यो मानिस सबैभन्दा ठूलो मानिस हो, जसलाई धेरै मानिसहरू सम्झन्छन् ।
ब्लाकबोर्डभरि लेखिएका सुन्दर अक्षरहरू मेटिन्छन् । कसले कल्पना गर्न सक्छ— केहीबेरअघि त्यहाँ सुन्दर अक्षरहरू थिए । चक पनि जीवनजस्तै हो, सिङ्गो चक चेतनामा जीवित अर्थलाई यथार्थमा सजीवता दिन ब्लाकबोर्डमा घस्रिदाघस्रिदै छोटो हुन्छ । ज्यादै छोटो भएर लेख्न अप्ठ्यारो भएको टुक्रालाई मायालाग्दो दृष्टिले हेर्छ, मानौं त्यो धीत नमरीकनै फ्याँक्नुपरेको चुरोटको ठुटो हो । ऊ चकको टुक्रालाई फ्याँक्छ तर उसलाइृ लाग्छ ऊ आफै पनि त्यो चकको टुक्राझैँ फ्याँकिएको छ ।
चक र उसले आफ्नै जीवनको तुलना गर्न खोज्छ— केही समानताहरू भएको महसुस गर्छ । चक जुन उद्देश्यको निम्ति सृष्टि गरिएको हो, त्यो पूरा भइसकेको छ तर उसको सृष्टि कुन उद्देश्यको निम्ति गरिएको हो, ऊ ठम्याउन सक्दैन । भविष्य, केवल सिङ्गो भविष्यप्रति आस्थावान् बिद्यार्थीहरूको चेहराहरूमा ऊ आफ्नो सृष्टिको छाया हेर्न खोज्दछ । ऊ ब्लाकबोर्डमा  उसैले लेखेको रेखाचित्र हेर्छ, ब्लाकबोर्ड, चक र डस्टर— ऊ ठम्याउन सक्तैन केका निम्ति उसको अन्त भइरहेको छ ?
कोठा, बिद्यार्थीहरू, झ्यालबाट बाहिर देखिने हरिया चउर, रुखहरू उसले बिनाउद्देश्य आफ्नै विचारमा तल्लीन भएर हेरिदिन्छ । बगैचामा माली लगनसित पूmलका बोटहरूलाई स्याहारिरहेको छ, गोडिरहेको छ । पूmल सबैलाई प्यारो छ, तर पूmलसित गाँसिएको गरिब मालीको श्रम र पसिना पूmलको सौन्दर्यले ढाकिदिएको हुन्छ अनि पूmलको बास्नामा मालीको पसिनाको गन्धआयो भने मानिसहरूलाई पूmल राम्रो लाग्दो होला ? श्रेणीको एक छेउमा बिद्यार्थीहरूको खासखुस कुराकानी गराइले उसलाई श्रेणीको यथार्थमा ल्याएर उभ्याइदिन्छ । श्रेणी उसको संसार हो, अझ उपयुक्त भाषामा उसको युद्धभूमि, उसका हतियार चक, डस्टर, ब्लाकबोर्ड र आवाज । बिद्यार्थीहरूको अज्ञानता उसको दुस्मन, बिद्यार्थीहरूलाई बुझाउन सक्नु उसको  विजय । ऊ फेरि पढाउन थाल्छ, पढाउन लाग्दा  उसलाई अनुभव हुन्छ— ऊ नेता हो, हजारौँ मानिसहरूलाई आफ्नो  विचारधारामा हिडाउने प्रयत्नमा  भाषण दिइरहेछ, पिता हो आफ्ना छोराछोरीलार्इृ ज्ञानका अर्तिहरू दिइरहेछ, अभिनेता हो, रङ्गमञ्चमा उभिएको छ । पूर्णताको अनुभव उसलाई त्यसबेला हुन्छ जुनबेला ऊ श्रेणीमा उभिएको हुन्छ ।
उसको हातमा चक र डस्टर हुन्छ, पछाडि ब्लाकबोर्ड र अगाडि ध्यानपूर्वक सुनिरहेका बिद्यार्थीहरू, ऊ पीडापूर्ण, अभावग्रस्त यथार्थ संसारभन्दा हजारौ कोस टाढा हुन्छ ।ँ
“मलाई सरलाको जस्तै फ्रक ल, बुबा ।”
“मलाई नीलो प्यान्ट ।”
“त्यो डाक्टरले लेखिदिएको औषधी ल्याउन नबिर्सनुहोला नि ।”
फ्रक, प्यान्ट, औषधि, अनन्त आवश्यकताहरू । सीमित र निश्चित तलब, भौतिकवादी विश्वमा हरेक चीजलाई ठोस रूप दिन सक्नुपर्ने । आफ्नो जहानपरिवारलाई माया गर्दछ, त्यो मायालाई फ्रक, प्यान्टमा परिणत गर्न सक्नुपर्ने । घर फर्कदा रोगी श्रीमती खोक्दैखोक्दै सुतिरहेकी, औषधी नदेख्दा चिया पाक्ने कुरै उठेन, सुर्ती तमाखु ल्याएदिएन भनेर बूढो बाबु उस्तै ठुस्किएको, केटाकेटीको कुरै गर्नु परेन । पढाउनेको छोरो पढ्नै नसक्ने हो कि ? बुझेर पनि बुझ्पचाउनुपर्ने, जानेर पनि नजान्नुपर्नेछ उसको यथार्थ संसार ।
ब्लाकबोर्डमा लेखेको रेखाचित्र डस्टरले मेट्छ । ऊ फेरि ब्लाकबोर्डमा लेख्न सक्छ अनि मेट्न सक्छ तर आफ्नो निधारमा लेखिएको भाग्यलाई मेट्न सक्दैन । श्रेणीमा चारैतिर प्रत्येक बिद्यार्थीहरूलाई सरसरती हेर्छ—  मानौं ऊ त्यहाँ हराएको आफ्नो अस्तित्व खोजिरहेछ । कोही बिद्यार्थी नोट टिप्न तल्लीन छन् भने कोही झ्यालबाट बाहिर ओहोरदोहोर गरिरहेका युवतीहरू हेर्नमा । ऊ सबैको ध्यानलाई अझ बढी आकर्षण गर्न अझ साह्रो कराउँछ, कराउने बानी भइसकेको छ, भटभटाउनु  र बरबराउनु । ऊ बौलाहाझैँ बरबराइरहेको छ । झरनाझैँ ऊ आफैले बोलेको  आफै बुझ्न सक्तैन कि झैँ गरेर । हाँसोको लहर फुट्छ सम्पूर्ण श्रेणीभरि, उसले आफूलाई जोकर अनुभव गर्छ । सतर्क हुन्छ— ऊ साँच्चै बौलाहा  त रहेको छैन । ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्न उदाहरणहरू दिदै जान्छ, भन्दै जान्छ, कराउदै जान्छ । ऊ आफ्नो आवाजको उच्चतम बिन्दुमा पुग्दा अनुभव गर्छ— ऊ र हाटबजारमा बिज्ञापन गर्दै कराउनेमा फरक छैन, छ भने दुईमा एउटा कोठाभित्र कराउँछ अर्को बीच बजारमा ।
बूढो शरीरमा कराउँदा रगतको सञ्चार भएर हो कि ऊ आपूmलाई तन्नेरी अनुभव गर्न पुग्छ । ऊ फेरि आफ्नो बिद्यार्थीजीवनलाई सम्झन पुग्छ, बिद्यार्थीजीवनका उसका सहपाठीहरू कोही मन्त्री भए, काही डाक्टर, प्रशासकीय हाकिम, ऊ भने अझै बिद्यर्थीहरूकै माझ बिद्यार्थीजस्तै दुःखी छ । उसले पढाएको बिद्यार्थीहरूसमेत हाकिम भएका छन्, कैयौं तले अग्ला घरहरूको मालिक भइसकेका छन् तर उसको भने उही अवस्था छ ।
आज उसलाई बिद्यार्थीजीवनका उसका आकाङ्क्षाहरूको सम्झना आउँछ— कति अकासिएका उसका आकाङ्क्षाहरू थिए । मुटु च्वास्स दुख्छ तर अब त मुटुको रोग भइसकेको उसलाई मुटु दुख्नु साधारणझैँ लाग्छ । झ्यालबाट ऊ बाहिर हेर्छ, आकाश धुम्मिएको छ— पानी पर्ने सम्भावना छ ।
आफ्नो सम्पूर्ण बुद्धि, तर्कशक्ति लगाएर ऊ आफ्नो विषयवस्तुलाई स्पष्ट पार्ने कोसिस गर्छ । यदि उसले त्यो विषयवस्तुलाई बुझाउन सकेन भने बिद्यार्थीहरूले फेरि कहिल्यै बुझ्न सक्नेछैनन् वा बुझ्ने समय पाउनेछैनन् । श्रेणीका सम्पूर्ण बिद्याथीहरूको भविष्य उसको परिश्रममा भर पर्छ, ऊ उनीहरूको भविष्य निर्माण गरिरहेको छ, ज्ञानको बाटोतिर तिनीहरूलाई बढाएर । उसले बिद्यार्थीहरूलाई बुझाउन सक्नुमा नै उसले बुझेको सार छ, अन्यथा उसले बुझेको कुनै प्रयोजन छैन— उसलाई यो राम्ररी थाहा छ । ऊ कराउदै जान्छ, उसको घाँटीका नसाहरूसमेत फुल्दै जान्छन् ।
घन्टी बज्छ । सधैंझैँ चक र हाजिरकापी हातमा चयापेर ऊ श्रेणीबाट बाहिर निस्कन्छ । उसलाई अनुभव हुन थाल्छ, उसको घाँटी सुकिरहेको छ— पानी खान्छ । ऊ आफ्ना पुराना केही किताबहरू च्यापेर घरतिर छिटोछिटो लाग्छ । पानी पर्ने सम्भावना छ तसर्थ सब मानिसहरू छिटोछिटो हिँडिरहेका हुन्छन् । तर जब उसलाई देख्छन्, सडकमा मानिसहरू मुसुमुसु हाँसिरहेका हुन्छन् । ऊ आफ्नो शरीर हेर्छ, केही खराबी त छैन ? कोट जुत्ताभरि चकको घुलैधुलो छ, टकटकाउँट, सितिमिति कहाँ चकको धुलो झर्ने हो र ! ऊ सम्झन्छ फ्रक, पेन्ट र औषधी, गोजी छाम्छ रित्तो छ, उसले रित्तै फर्कनुपर्ने हो, रित्तै फर्कन्छ ।
उसलाई लाग्छ अझै मानिसहरू उसलाई हेरेर हाँसिरहेका हुन्छन्— मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी चकले लेखिएको ऊ एउटा हाँसो उठ्दो कार्टुन हो वा ऊ सिङ्गो ब्लाकबोर्ड हो जसमाथि थुप्रै हाँसो उठ्ने ब्यङ्गचित्र कोरिएको छ, जसmाई देख्दा जो पनि हाँस्छ, ऊ ब्लाकबोर्ड, चक र डस्टर....
मानिसहरूको कठोर आँखाबाट लुक्न ऊ अझ छिटोछिटो लम्कन्छ ।


स्पन्दन, अङ्क १, वर्ष १ (२०३४)मा पहिलोपल्ट प्रकाशित,
साझा प्रकाशनद्धारा प्रकाशित  ‘अन्तिम स्वीकारोक्ति” कथा सङ्ग्रहबाट



    • Dutendra Chamling ‎"...पिता हो आफ्ना छोराछोरीलार्इृ ज्ञानका अर्तिहरू दिइरहेछ, अभिनेता हो, रङ्गमञ्चमा उभिएको छ..."
      Sarankumar Rai Dai ! wow ! what a great lines,I really like it !


    • Sanju Bajgai निर्धो पेशाको यथार्थताको मिठो प्रस्तुती राम्रो लाग्यो ।

    • Gopal Regmi एउटा लगनशील गुरुको व्यथा ! राम्रो लाग्यो !

    • Ramesh Thapa teaching peshalaai nirdho bhanne ho bhane k dakaar aaunjel bhrastachar garera akut sampti aarjan garne laai sarbotkrista maanne?Sanju g haamro maanasikta nirdho ho pesha hoina. jeevanko baastabiktalaai yatharthapark ra baanki paarama prastut garne sirko lekhan kala audhi man paryo

    • Bikram Subba
      यसरी निरीह प्राणीझैँ बनाईएका "गुरु"हरूले कसरी राम्रोसँग नयाँ पुस्तालाई "राम्रो" ज्ञान-गुण दिन्छन् भनि ग्यारेण्टी गर्ने । दोष कस्को? अन्य मुलुकमा "शिक्षक" भनेपछि उसको अभाव पुरा गर्ने 'तलब' नै राम्रो हुन्छ । तब न उसले ढुक्क भएर आफ्नो विषयमा स...See More


    • Dipa Rai ‎" मानौं ब्लाकबोर्डमा रङ्गीचङ्गी चकले लेखिएको ऊ एउटा हाँसो उठ्दो कार्टुन हो वा ऊ सिङ्गो ब्लाकबोर्ड हो जसमाथि थुप्रै हाँसो उठ्ने ब्यङ्गचित्र कोरिएको छ.." bartman jiwan saili ra neeti gayan sikchha jasta anekau kura haru bicha eauta manchee jo sabai sikchak jastai chan...sarai ramrari utaunu vayeeko yo mancheko beaytigat vumika le kathai gahakilo pareko chha...aru pani padhna pau mero kamana chha saran jiu lai.



    • Madan Kumar Dahal Many years have been elapsed since I met Saran Rai-ji at Tribhuvan University, Kirtipur. To-day after reading a classic story titled "Blackboard, Chalk and Duster" written by him a long back I wonder whether he is the same personality, who is now a recognized and established writer and author at national level. Congratulation! .

Tuesday, January 3, 2012

के जीवन नाटक हो ?



उनी अर्थात् मेरा श्रीमान् जीवनसाथी, पतिदेव, प्राणेश्वर वा लोग्ने निकै थाकेर आएजस्ता देखिन्छन् । म उनलाई देखेर स्वागतम् किसिमको प्रसन्नता देखाउ“दै मुस्कुराउ“छु । उनी पनि मुस्कुराउ“छन्, एउटा यान्त्रिक, व्यावसायिक, नाटकीय कलापूर्ण मुस्कान । मुस्कान  जो वास्तविक एवं स्वाभाविक भए अमृतसमान हुन्छ । हृदयको गहिराइदेखि उठेको सा“चो, अतुलनीय, अमूल्य, आकर्षक, आनन्ददायी, स्वस्फूर्त, प्राकृतिक एवं स्वाभाविक मधुर मुस्कानको प्रतीक्षारत मेरो जिन्दगी †  मेरो सपना, चाहना, कोसिस र प्रयत्न त्यस्तो मुस्कान उनको अनुहारमा ल्याउन सकू“ म पनि (एकै पटक मात्र भए पनि ) पाउन सकू“  र दिन सकू“ ।
पति, छोराबुहारी, छोरीज्वाइ“, नातिनातिना, घरपरिवार, साथी, आफन्त र चिनारुहरूको बीचमा≤ यति धेरै मान्छेहरूको बीचमा घेरिएर बा“चिरहेकी म । मलाई लाग्छ, एक्लै बेग्लै एक प्रकारले  रबिन्सन क्रुसो जस्तो बा“चिरहेकी छु ।  मेरो कसैसित संवाद भइरहेको छैन । मलाई कसैले बुझेका छैनन् ।  म एक्लो विकल आÏनो पीर, भाव, इच्छा र सपना मनभित्रै थुपारेर, पुरेर बसेकी छु । म भित्रभित्रै खोक्रोरित्तो पुङ्माङ् जस्तो छु र व्यर्थै बा“चिरहेकी छु— अवास्तविक कृत्रिम, रुखो जीवन, जहा“ चम्किलो जोशजा“गर, उत्साह र प्रसन्नता छैन । पाउनुपर्ने मैले केके नपाएको, नभोगिरहेको र बनावटी दुनियामा नै भट्किरहेको महसुस सधैं भइरहन्छ ।
मैले बा“च्न पाउनुपर्ने जीवन अर्कै खालको हुनुपर्ने हो ।
हो, उनी हाम्रो तीन दसक लामो दाम्पत्य जीवनमा मलाई देख्दा खुसी जस्तो हुन्छन् । मस“ग बस्दा रमाएजस्तो देखिन्छन् । छुट्टि“दा विरसिलो जस्तो मान्छन् । मलाई उनी हरतरहले सुखी र खुसी पार्न चाहेजस्तो गर्छन् । मेरा लागि एउटा पतिले पत्नीप्रति गर्नुपर्ने सबै कार्यहरू गर्छन् । तर ती सब उनले खुसी भइटोपलेको, हा“सेजस्तो गरेको, प्रसन्न भएजस्तो गरेको र सबैथोक गरेको गरेजस्तो मात्र गरेको हो भन्ने मलाई लागिरहन्छ ।
उनको मुस्कान, हा“सो, प्रसन्नता, क्रियाशीलता, दायित्ववहन आदि ती सब उनका क्रियाकलाप वास्तविक, प्राकृतिक र स्वाभाविक जस्तो मलाई लाग्दैन । लाग्छ ती सब उनी नाटकमा झै“ अभिनय गरिरहेका छन् । एकदम कृत्रिम, बनावटि । उनी स्वाङ पारिरहेका छन्, नाटक खेलिरहेका छन् ।
अथवा म नाटक हेरिरहेकी दर्शक मात्र हु“ । नाटकको प्रमुख पात्र उनको अभिनय हेरेर नाटकीयतामा रमाउने फगत दर्शक पत्नी हु“ म ।
×
मेरो मानसपटमा अचानक धेरै वर्षपहिले घटेको हाम्रो जीवनको एउटा दृश्य देखा पर्छ । म र उनी प्रेममा फसेका दुई सुन्दर युवाहरू । मलाई लागेको थियो म उनीबिना बा“च्न सक्तिन“ । उनलाई पनि लागेको थियो, उनी मबिना बा“च्न सक्तैनन् । तसर्थ प्रेममा अथवा बैंसालु आकर्षक मायाप्रीतिमा फसेका हामी विवाहबन्धनमा बा“धिन्छौ“ । यस्तो बन्धनमा बा“धि“दा मैले सम्झेको थिए“ हाम्रो प्रेम सफल भयो । उनले पनि त्यस्तै भनेका थिए, हाम्रो प्रेम र सपना साकार भयो ।
समयको अविरल प्रवाहमा बग्दाबग्दै म तीन छोराछोरीकी आमा भए“ । अहिले त म छोराबुहारी, छोरीज्वाइ“, नातिनातिनाहरूको धनी भइसकेकी छु ।
अरूले देख्दा हामी बीचको दाम्पत्य प्रेम आदर्शमय देखिन्छ, इष्र्यायोग्य देखिन्छ ।
मानिसहरू सम्झन्छन्, हामी दाम्पत्य प्रेमले प्रचुर मात्रामा  सिंञ्चित हराभरा सफल जीवन गुजारीरहेका आदर्श जोडी हौ“ । जीवनमा प्राप्त गर्नु पर्ने प्रेम पाएर धन्य धन्य भएका छौ‘ । तर वास्तविकता वा यथार्थ त्यस्तै छ त ? मनमनै सोध्छु आफै‘लाई ।
विवाह भएको एक वर्षसम्म हामी यति धेरै खुसी र सुखी थियौ“ कि त्यही एक वर्ष जीवनभरि बा“च्न र कल्पनाको लागि सामल बन्यो । हामी त्यतिबेला एकसाथ हा“स्थ्यौ“, रुन्थ्यौ“ एकसाथ । हामी दुई शरीर एक प्राण भएका थियौ“ मानौ“ हामी दुई एकमा एकाकार भएका थियौ“ ।
बिस्तारैबिस्तारै हाम्रो प्रेम व्यावहारिक जीवनको ज्वालामा परेर ओइलिनखुइलिन थाल्यो । प्रेममा कहा“ प्वाल प¥यो, किरा लाग्यो कि ? हामीबीच जीवनपर्यन्त अमर प्रेम रहन्छ भन्ने विश्वास क्षणभरमै खरानी भयो । दिनरात हामी एकअर्कामा खोट र अपूर्णता देख्न थालेका थियौ“ । प्रेम जति मजाले पूर्णतासाथ एकअर्कालाई ग¥यौ“, घोचपेच, घृणा, तिरस्कार, झगडा र वैमनस्यता पनि पूर्णताका साथ नै ग¥यौ“ । सहनुको पनि सीमा हुन्छ । सहन नसकेर एक सा“झ म घर छोडेर निस्किए“ । उनी भन्दै थिए, ‘घर छोडेर नजाऊ । जान्छौ भने फेरि कहिल्यै फर्केर आउन पाउन्नौ ।’
मैले उनको कुराको वास्ता गरीन“ । घृणाको थुक थुक्दै म घरबाहिर निस्किए“ । भोलिपल्ट  घर फर्किए“ । रिसले काम्दै उनले सोधे, ‘कहा“ गएकी थियौ ? कोसित रातभर सुतेर फर्कियौ ?’
‘साथी मेनकाकहा“ बसेर आएकी छु ।’ नम्र भएर जवाफ दिएको थिए“ ।
‘मेनका कि विश्वमित्र ? त्यो असोकेस“ग रातभर खुब रङ्गरङ्गेलिया मनायौ ?’
असोक विवाहअगाडि मलाई मन पराउने एउटा युवक थियो । मेरो चरित्रमाथि त्यत्रो आशङ्का ? म रिसले आगो भए“ । जङ्गिएर भने“, ‘मेरो मन, मेरो शरीर... मेरो खुसी । सुते“ नै भने पनि के गर्न सक्छौ ?’
‘म तिमीलाई घरबाट निकाल्छु । तुरुन्तै निस्किहाल ।’ मलाई उनले जबरजस्ती घर बाहिर निकालेर  ढोका लगाए । फेरि घर भित्र पस्न दिएनन् ।
मान्छेको चित्त । म उनी इष्र्याले जलेको हेर्न चाहन्थे‘, तर म त्यस्तो परिणामको आशा गरिरहेकी थिइन“ । म कुनै पुरुषस“ग लागेकी थिइन“ । उनी मलाई अर्को लोग्नेमान्छेस“ग लागेको लाञ्छना लगाएर नीचा देखाउने कोसिस गरिरहेका थिए । त्यसपछि मेरो उपाय समाज, मण्डली, ठाना, कचहरी मात्र थियो । मेरा बाबु, माइती, नातागोता, इष्टमित्र र साथीभाइहरूको निकै दिन हामी दुईको मेल गराउन सभा, कचहरी र छलफलमा बित्यो ।
म त्यो समयमा छुट्टिएर बस्न पनि सक्थे“ । छुट्टिन नसक्नुको कारण मेरो गर्भमा उनको सन्तान बढिरहेको म दुई जीउकी गर्भवती थिए“ । त्यसै हुनाले पनि अन्तमा हाम्रो मेल भयो । अरूले देख्दा बिग्रेर रोकिएको गाडी फेरि चल्न थाल्यो । हाम्रो दाम्पत्य जीवन अगाडि बढ्न थाल्यो ।
 झिमिक्क आ“खा गर्दाझै“ आज सम्झ“दा तीन दशकको लामो समय बिति सकेछ । अहा, तीन दशक लामो हाम्रो दाम्पत्य जीवन, म र उनी । प्रेम विश्वासको जगमा अवस्थित हुन्छ । एकअर्का प्रतिको हाम्रो  विश्वास र भरोसा मक्किसकेको थियो, फिका भइसकेको थियो । देखाउनका लागि हामी  प्रेमले भिजेको दाम्पत्य जीवन गुजारिरहेको आडम्बर गथ्यौ“ । सुखी र खुसी देखिनेदेखाउने नाटक खेलिरहेका हुन्थ्यौ“ ।

आज धेरै वर्षदेखि म आफैलाई सोधिरहेकी छु— के मैले चोखो प्रेम पाएकी छु ? प्रेमको स्वाद चाखेकी छु ? विपरीतलिङ्गीबाट पाइने प्रेम, सुख र जीवनरस पाएकी छु ? सा“चो हा“सो र रोदनको वास्तविक स्वाद चाख्न पाएकी छु ? जीवन नाटक नहुनुपर्ने हो । भित्री  अन्तरकुन्तरको गहिराइभित्र अवस्थित चेत, विवेक र विश्वासले जीवनलाई स्वगति दिइ स्वचालित चलायमान गर्नुपर्ने हो । तर कसरी मानिस यन्त्रवत नाटकिय पात्रमा रूपान्तरित हु“दो रहेछ ?
मेल भइसकेपछि हाम्रो दाम्पत्य जीवन हेर्दादेख्दा स्वाभाविक रूपमा चलेको लाग्थ्यो । एउटा पत्नीले गर्नुपर्ने सम्पूर्ण कर्तव्यहरू म पालना गरिरहेकै थिए“ र छु । उनी पनि पतिले पालना गर्नुपर्ने सबै दायित्वहरू पूरा गरिरहेकै थिए र छन् ।
हामी दुई पतिपत्नीको रूपमा एकसाथ बसिरहेका छौ“ । एकले अर्कोलाई देखाउनुपर्ने सबै हार्दिकता, प्रेम वा दायित्व निर्वाह गरिरहेका छौ“ । तर प्रेमका काकाकुल हामी ....। मलाई किनकिन लागिरहेको हुन्छ, उनी मसित जुन प्रेम गर्छन्, दायित्वनिर्वाह गर्छन् त्यो एउटा नाटकमा पतिपात्रले निर्वाह गर्नु पर्ने भुमिका जस्तो मात्र हो । उनी मसित सन्तुष्ट, खुसी र सुखी भएजस्तो देखिन्छन्, बनावटी र देखावटी हो, कृत्रिम हो । किन मलाई त्यस्तो अनुभूति भित्री हृदयको अन्तरकुन्तरमा अज्ञात रूपमै भए पनि भइरहेको छ ? त्यसले मलाई मेरो जीवन सारा ब्रम्हाण्डभन्दा गरुङ्गो बोझ बनेजस्तो लाग्छ । जीवन असफल, निरस, निष्फल भएको भान गराउ“छ । म भित्रभित्र जलिरहेको करुण भावलाई शीतलता प्रदान गर्न नसक्दा छटपटिएर कोहीबेला रु“दै, कहिले हा“स्दै, कहिले गम्भीर हु“दै उनलाई मैले धेरै पल्ट सोधेकी छु, ‘ के तिमी मसित सन्तुष्ट र सुखी छौ ?’
‘म सन्तुष्ट छु । सुखी छु ।’ उनी सधैं जवाफ दिन्छन् । ‘एक स्त्रीबाट एक पुरुषले पाउने सम्पूर्ण कुराहरू मैले भन्दा बढी अरू कसले पाएको होला र ?’
मलाई अझै लागिरहेको छ, उनी ढा“टिरहेका छन्, उनी नाटक गरिरहेका छन् । पति प्रेमी वा आÏनो एक मात्र पुरुष मानेर उनलाई मैले एउटी स्त्रीले दिनुपर्ने पुरुषप्रतिको सम्पूर्ण प्रेम, समर्पण, सुख र अरू सबथोक दिने कोसिस गरे“ । आफूसित भएको दिन सकिने सबथोक दिए“ । तर उनी अझै मसित  सन्तुष्ट, प्रसन्न र प्रफुल्लित भएझै“ लाग्दैन । उनी सधैं प्रसन्न, प्रफुलित र सन्तुष्ट भएको स्वाङ् पार्छन्, नाटक गर्छन् ।
जीवनभरिको यो एउटा नमीठो, अप्रिय र विरसिलो अनुभूतिको भावले मेरो र उनको जीवन खोक्रो बनाइदिएको छ ।  मलाई सधैं यस्तो लागिरहन्छ, क्षणिक उत्तेजनामा गरेको सानो गल्तीले पनि जीवन मरुतुल्य उजाड, शुष्क र निरस बनाउन सक्तो रहेछ । झुक्किएर पनि गल्ती नहोस भनेर सजग हु“दा, भइरह“दा जीवन झन्झन् आडम्बरी, कृत्रिम, बनावटी,  नक्कली र नाटकीय बन्दै गइरहेछ । यो खोक्रो नक्कलीपनले झन्झन् मलाई पतझड बनाइरहेको छ । किन मलाई यस्तो लागिरहन्छ ?
गणितमा जस्तै  मानिलिउ“m, मैले अर्कै मानिसस“ग विवाह गरेको भए ? कसैसित विवाह नै नगरेको भए ? जीवनको कुनै स्पष्ट भिन्नता  देखा पथ्र्यो होला ? मानिलिउ“m, मानिलिऊ“को यथार्थमा कुनै मतलव हु“दैन तसर्थ त्यसरी कल्पना गर्नु पनि व्यर्थ छ,  तर पनि मन कुनैकुनै बेला बहकिन्छ । बहकि“दा मृगतृष्णाको आनन्द अनुभव हुन्छ । कल्पनामै भोगिरहेको र नभोगेको जिन्दगीको तुलना हुन्छ जसले फेरि असाध्य दुःखी बनाउने गर्छ— जीवन फेरि सुरु गर्न पाए †
जीवन फेरि पनि यस्तै हुन्थ्यो ? जीवन फेरि पनि आडम्बरभित्र अल्झेकै हुन्थ्यो ? आ“... म यो केके सोचिरहेकी ? बेकार  नदुखेको कपाल चोयाले बॉधेर दुखाउनु । नभएको नपाएको कुराहरूको सोधीखोजी, नभोगेको अनुभवको तिर्सना, पूर्णता प्राप्तिको भ्रम, नियतिको बिडम्बना, जीवनको मृगमरीचिका, अति महŒवाङ्क्षा, लालसा जस्ता कुराहरू दुःखका स्रोत रहेछन् क्या र ?
भएकोपाएकोलाई नै सर्वस्व मानेर सांसारिकतामा क्रियाशील भइरहनु उत्तम भनेर नै नक्कली प्रेमको, मायाको, जीवनको नक्कल अभिनय गरिरहेका हुन्छॉै हामीहरू.।
उनको मनभित्र सा“च्चै म पस्न सकेकी छैन । बुझ्न सकेकी छैन उनको मन । उनी मेरा पूर्वप्रेमी थिए । हामीबीचको अस्वाभाविक कलहपछि उनी मेरा पति मात्र रहन गए । प्रेमीसमेत रहिसकेका  पतिको मनपेट अझै मैले बुझ्न सकेकी छैन । कस्तो यो मेरो दुर्भाग्य † मान्छेको मन बुझ्न असम्भव हु“दो रहेछ ।
सायद अझै पनि म पूर्ण रूपले उनी प्रति समर्पित हुन सकेकी छैन । उनीमा समाहित हुन सकेकी छैन । मन अनौठो हुन्छ । नचाहेको कुरो ठ्याम्मै गर्न मान्दैमान्दैन ।  म पनि त उनलाई प्रेमीको रूपमा हेर्न सक्तिन“ । उनी पनि मलाई प्रेमिकाको रूपमा हेर्न सत्तैmनन् होला  र त उनी नक्कली प्रेमको अभिनय गरिरहेका छन्  अथवा हुन सक्छ म नै भ्रान्तिमा छु । मैले जुन मानवप्रेमको रूप, चित्र, स्परूप वा प्रकृतिको कल्पना गरेकी छु त्यो अवास्तविक छ । यो जगतको क्षणभङ्गुर जीवनमा कसले पो त्यस्तो शाश्वत प्रेम पाएको होला र ?
प्रेमविहीन मेरो बितेको शुष्क जीवन सम्झ“दा रुन मन लाग्छ । तर रोएर नि के फायदा ? जो बित्यो, बितिसक्यो । जीवन फेरि प्रारम्भ गर्न सकिने होइन । रोएर, हा“सेर वा पश्चात्ताप गरेर त्यसमा सुधार गर्न सकिने होइन । नाटक जस्तै नाटक गरेर मेरो अनमोल जीवन  तुरीन लागेको छ । वृद्ध भइसकेका हामी अझै पनि अरूहरूका अगाडि नाटक खेलिरहेका छौ“ देखिनका लागि सुखी हुनुुको, प्रेममय हुनुको ।
म उनलाई प्रेम गरिरहेकी, एक नारीले पुरुषलाई गर्ने समर्पण गरिरहेकी नाटक गरिरहेकी छु । उनी पति भएकोले एक पुरुषले नारीप्रति गरिने प्रेम, दायित्व, त्याग र समर्पण गरिरहेको अभिनय गरिरहेका छन् । यहा“ सबै मानिसहरू नाटकमा झै“ प्रेमी वा प्रेमिकाको, पति वा पत्नीका,े पिता वा आमाको, छोरा वा छोरीको, साथी वा दुस्मनको अनेकौ“ समयानुकूल विभिन्न पात्रहरूको कलात्मक अभिनय गरिरहेका छन् । सब नाटक खेलिरहेका छन् । भ्रान्तिको सागरमा रुमल्लिएर मानिसहरू भ्रमवश सोधिरहेका छन्— सत्य के हो ? यथार्थ के हो ? 
विशुद्ध जीवन चाख्नभोग्न नपाएकोमा मन चाउरिन्छ । चिथोरिएको हृदयको घाउबाट रगत, पीप र आ“सु बहन्छ । दुख्छ, दुखेर पनि रुन सकिन्न । हा“सिरहेको, बा“चिरहेको स्वाङ पार्नैपर्ने बाध्यकारी परिस्थितिमा थोरै अभिनय गर्दा अरूलाई र आफूलाई पनि फायदा हुन्छ भने किन नगर्ने ? किन जीवन–नाटकमा विविध पात्रहरूको भुमिका नखेल्ने ? त्यसैले होला मेरा पति  मायालु पतिको भुमिका मन नलागिनलागि पनि निभाइरहेका छन् । म पत्नीको... । च्च...च्च...जीवन, कठै बरा बिचरा † नाटकीय कलाशिल्प अभिनय गर्दागर्दै हेर्दाहेर्दै लहैलहै र ख्यालख्यालमा बितेछ †
के जीवन यस्तै नाटक हो ?
कि संसारै अधुरोअपुरो जीवनको कृत्रिम कलाशिल्प मञ्चन गर्नेे एउटा रङ्गमञ्च हो ?

समकालीन साहित्य, पूर्णाङ्क–६१ (२०६७, साउन–भदौ–असोज )

Sunday, October 16, 2011

नाति

नाति

सरण राई

निस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर– हेरेर रोइरहेको छु ।  आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा आँखाबाट बररर आँसु बगिरहेको छ ।
हातहरू आँखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ ।
वृद्धावस्था !
वृद्धावस्थामा  शारीरिक असमर्थता र एक्लोपन जम्ल्याहा जस्ता रहेछन् ।
पुग्नुपर्ने कतै छैन, गन्तव्य छैन तर हिँडिरहनु पर्ने । पाउनुपर्ने नयाँ प्राप्ति केही छैन, सामर्थ्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिएको परिस्थिति, रूप, तागत, बलबैंस, आँट, जाँगर अथवा जीवनका सुन्दरताहरूले छाड्न लागेको अवस्था, मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन ! ‘यति रमाइलो संसार छोडेर जानुपर्ने’ भन्ने भावनाले दिएको पीडा ! यो संसारकै, जीवनकै चलन, रीत र नियम हो । यहाँ कोही पनि जिउँदाहरूले सदैव बाँचिरहन पाउदैनन् । मृत्युले सब जिउँदाहरूलाई निल्छ, निल्छ । मृत्युको पूर्वआभास कति पीडादायी छ, मन चसक्क दुख्छ । मर्नै पर्छ, जानै पर्छ यो धरती छाडेर । मेरा पिता मरे, आमा मरीन्, अघिल्लो पुस्ताका सबै मरिसके । अब मर्ने पालो मेरो यो वर्तमान पुस्ताको, भावी पुस्ताका लागि ठाउँ खाली गर्नै पर्छ ।
फेरि एक जन्म वा अर्को थप एक जीवन बाँच्न पाए.... म कल्पिन्छु । तर कसैले दुइ जीवन बाँच्न पाएका छन् र ? म पनि डाँडाको घाम, निभ्न लागेको दियो भएको छु । मैले पनि ...जानै पर्छ ।
अजङ्गको एकान्तले उब्जाएको परिवेशले मनमनै म मृत्युदेखि त्रसितत्रसित भएर एक्लै मनभित्रभित्रै रोइरहेको बेला मेरो नाति ‘आँ..आँ..’ भर्खर फुट्न लागेको अष्पस्ट बोली निकाल्दै टुकुटुकु हिडेर आउँछ र मेरो काखमा लुट्पुटिन्छ । मेरो मानसिक धरातलमा देखिन थालेको कालो अँध्यारो बादल फाटेर झलमल्ल उज्यालो मेरो मनको आयतनभरि फैलिन्छ । बिर्सन्छु आफ्नो वृद्धपन, एक्लोपन र नियास्रोपन र झलझली देख्न थाल्छु भावी सन्तानको प्रतिविम्बित रूप आÏनै नातिको अनुहारमा ।
नाति !
मेरै जीवनको क्रमिकता होइन र ? म पछि छोरा, छोरापछि नाति, नातिपछि पनाति, जनाति, खनाति....मेरै जीवनको निरन्तरता मान्न थाल्छु । मेरो अन्तरकुन्तरमा चम्किलो घाम उदाउँछ्र । आँसु आँखामा बिलाएर जान्छ । बुबाको रूपबाट म आफू र म आफूबाट नातिको कलिलोपनमा रूपान्तरित हुन थालेको हुन्छु थाहै नपाई ...। म नरहे पनि मेरो अंश, शेष वा सन्तान यस धरतीमा रहिरहनेछ । मभित्र एक प्रकारको मीठो भाव, उत्साह, प्रसन्नता र गौरव प्रस्फुटन हुन्छ ।
नाति ! केही वर्ष अगाडिसम्म मलाई ‘बाजे’ भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । मेरा एकजना मित्रलाई पनि त्यस्तै हुन्थ्यो रे, ‘बाजे’ सम्बोधन सुन्दा कन्सिरी तातेर आउँने कुरा उनले आफ्नो संस्मरणमा लेखेका छन् । तर वास्तविक रूपमै नातिनातिनाहरू जन्मिसकेपछि ‘बाजे’ सम्बोधन पनि मिठासयुक्त र स्वाभाविक लाग्न थालेको छ ।
मलाई नातिनी बारम्बार भन्छे, “कोपा, कोपा (बाजे,बाजे) !” यो सम्बोधनमा एउटा साइनो छ, जसले वंशवृक्ष झ्याङ्गिदै गरेको सङ्केत दिन्छ । यसबाट म सन्तुष्ट हुन्छु । नाति जन्मेपछि त नातिनातिनीहरूको अवोध बाल संसारमा रमाउन मन पराउन थालेको छु । धेरै वर्ष अगाडिदेखि गाउन छाडेका गीतहरू फेरि लयबद्ध स्वरहरूमा तिनीहरूसँग खेल्दा स्वस्फूर्त रूपमा अनायास मेरा कण्ठबाट तरङ्गित हुन्छन् । म अझै गाउन सक्दोरहेछु, नातिनातिनीहरूको अबोध बाल संसारमा युवाहरूजस्तै गाउँदै नाच्न सक्छु । रमाइलो गर्छु र सम्झन पुग्छु फेरि मधुर जीवनको पुनरागमन भएको छ । नातिनातिनाहरू सॉच्चै मायालाग्दा छन्, यसैले मानिसहरूले ‘सावाको भन्दा ब्याजको माया’ भन्ने गरेका होलान् ।
म मेरा नातिनातिनाहरू संसारमा सबैभन्दा सुखी भएको हेर्न चाहन्छु ।  तिनीहरूलाई जब मेरा छोराबुहारीहरूले कुटेर रुवाउँछन्, हकार्छन्, नमीठो लाग्छ, मनमा औडाहा लाग्छ । छोराबुहारीलाई हकार्दै म तिनीहरूलाई काखमा खेलाएर वा बोकेर फकाउन थालिहाल्छु । तिनीहरू पनि मेरो आडभरोसा सहारा पाएर मेरो छातीमा टाँसिन थालिहाल्छन्, त्यसबेला म सारा संसार बिर्सन्छु । आफ्नै रोग, शोक, पीडा र आफ्नो अवस्था पनि बिर्सन पुग्छु । सम्झन्छु विश्वकै सबैभन्दा सुखी मानिस हु“ जसको कोपिलाजस्ता नातिनातिनाहरू छन् ।
समयलाई कसले पो रोक्न, छेक्न वा वशमा राख्न सकेको छ र ? म ती मसिना नातिनातिनीहरूसँग अनन्त कालसम्म खेलिरहूँ, तिनीहरू त्यत्रै रहिरहुन् र हाम्रो आत्मीय रमाइलो कौतुकमय क्रीडा सदैव रहिरहोस् । तिनीहरू सधैं मसँग खेलिरहून् । मन आनन्दले हराभरा भइरहोस्, तर त्यस्तो हुँदैन ।
हामी बाजे बोजु तिनीहरूलाई देख्दा अग्घोर खुसी हुन्थ्यौँ । सम्पूर्ण सांसारिक दुःख कष्ट बिर्सन्थ्यौँ र तिनीहरूका लागि अनेकौ‘ दुःख कष्ट झेल्न तयार थियौँ । समयक्रममा मबाट मेरी मायालु पत्नी छुटिन् । तिनको देहान्तको असह्य वेदना पनि नातिनातिनीहरूको मुख हेर्दै सहेँ । ममाथि वृद्धावस्थाका असमर्थताका साथै विभिन्न रोगहरू थपिए । म परिवारमाझ बसेर पनि नितान्त एक्लोएक्लो हुँदै गइरहेको छु । मेरो घरभित्रको घरमुलीको शासन, ढलिमली र हैकम पनि समाप्त हुँदै गएको छ, मेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक गतिविधि पनि स्वात्तै घटेको छ । अब प्राय घरबाहिरका यस्ता क्रियाकलाप शून्य भएका छन् ।
कुनैकुनै बेला साथीहरू आउनेजाने गर्थे । घरमा मेरा साथीभाइहरूको उचित सम्मान, मान र आतिथ्यता हुन छाडेको छ जसले गर्दा उनीहरू पनि आउन छाडेका छन् । म पनि साथीभाइहरूकहाँ जान छाडेको छु । मलाई लाग्छ, पहिला जस्तो मेरो पनि अरुको पाहुना हुँदा खातिरदारी, स्वागत सत्कार हुन छाडेको छ र म आफ्नो कोठाको एकान्तमा बस्न अभ्यस्त भइसकेको छु ।
जाने पनि कहाँ ? गर्नै पो के सक्छु र ? म चाहन्छु आफूले हाडछाला घोटेर अनेकौं दुःखसाथ हुर्काएका मेरा छोरालाई अझै हरप्रकारले मद्दत गरुँ । तर शारीरिक असक्तता बाधा भइरहेको हुन्छ । म चाहन्छु  कैयौँ दसक लामो मेरो जिन्दगीको अनुभवबाट प्राप्त ज्ञान, सीप र समस्या समाधानका उपाय, सल्लाह, सुझावहरू दिएर  पारिवारिक र अन्य समस्याहरूमा सहयोगी बन्न सकूँ । तर मैले बटुलेको अनुभव, शिक्षा र सल्लाह कोही सुन्न चाहदैनन्, ‘उहिलेको कुरा खुइले’ । म उपयोगिताविहीन बूढो, मेरा सल्लाह सुझाव उनीहरूलाई अनावश्यक हस्तक्षेप लाग्छ । सायद यही नै ‘जेनेरेसन ग्याप’ होला ।
घर खर्च दिन प्रतिदिन बढ्न थालेको छ । महँगीको जमाना तैपनि केही तडकभडक गर्नै पर्यो । साथीभाइहरूभन्दा कम देखिनु भएन । भोजभतेर, क्लब, बिहेबटुलो, बिजुली, पानी,  टेलिभिजन च्यानल महशुल, स्कुलको शुल्क आदि अनेकौ‘ खर्चहरू...मलाई पनि थाहा छ, धानी सक्नु छैन । कुनामा बसेर टुलुटुलु हेरिरहन बाहेक म के नै गर्न सक्छु र ?
घरखर्च चलाउने देखि घरायसी अन्य सबै निर्णयहरू गर्दा मलाई सोधिँदैन । अब त्यस्ता विषयहरूसँग मेरो कुनै सरोकार छैन । म कोठामा बसेर पुस्तकहरू दोहोर्याइ तेहर्याइ पढ्छु । कथा बुझ्न थालेकी नातिनी आइभने दन्त्यकथा, पञ्चतन्त्र, जातक र इसपनीतिका कथाहरू सुनाउँछु । कथा सुनाउँदा मलाई अग्घोर आनन्द आउँछ । कथाको प्रवाह मेरो खोकिले बीचबीचमा रोकिँदा भने नातिनी नियास्रो मान्छे ।
“कोपाको छेउमा धेरै नजा, खोकि र अरु रोगहरू सर्ला ।” बुहारीले नातिनीलाई भनेको झट्ट सुन्छु । मनमा च्वास्स बिझे पनि नसुने झैँ गर्छु । प्रतिकार गर्ने सामर्थ्य मसँग अब रहेन ।
“म घरमै बस्छु, कोपालाई छोडेर जान्न“ ।” चिच्याइरहेकी थिई नातिनी । झोला, बक्स र केही सामानका साथ जबरजस्ती मेरी ठूली नातिनीलाई बोर्डिङ्ग स्कुलको बोर्डसमा पठाइन्छ । त्यसको चिच्याहटले अनायासै मेरो आँखा टलपलाउछ, कठै... मेरो सानी साथी नातिनी पनि मसँग छुट्टिएर गई ।
नातिनीको अभाव नातिले पूरा गरिरहेको हुन्छ । ऊ मेरो कोठामा आएर बालसुलभ अनेक उपद्रोहरू गर्छ । मेरो पुरानो पुस्तक कपि च्यात्नु, चस्मा बिगार्नु, बिस्तारामा पिसाब फेर्नु आदि उपद्रोहरू । ती उपद्रोहरू उसँग खेल्दा, बस्दा र हाँस्दा प्राप्त हुने आनन्दको अगाडि  केही होइन । ऊ मसँग बस्छ, खेल्छ र हाँस्छ । म उसलाई अत्यधिक माया गर्छु । ऊ मसँग हुँदा सबथोक बिर्सन्छु र चाहन्छु ऊ सदैव मसँग बसिरहोस्, खेलिरहोस् । ऊसँग बस्दा मलाई अपूर्व आनन्द आउँछ, जुन आनन्द प्रत्येक बाजेहरूले मात्र अनुभव गरेका हुन्छन् । त्यो अनुभव बाजे हुने उमेरसम्म बाँचेकाहरूले मात्र प्राप्त गर्छन् । म पनि बाजे हुन पाएकोमा गौरवान्वित हुन्छु र मेरो ओठमा मुस्कान खेल्छ ।
छोरालाई बोलाएर हामी दुइका बिभिन्न मुद्राका फोटोहरू खिच्न लगाउँछु । हामी दुइको ‘मूभि’ पनि उसले खिच्छ । क्यामेरामा नै ती फोटाहरू हेरेर म मक्खै पर्छु । भन्छु “यी तस्वीरहरू प्रिन्ट गरेर ल्याइ देओ ।”
“म कम्प्युटरमा ‘सेभ’ गर्छु । पछि एकै चोटि  ‘प्रिन्ट’ गरौला“ ।”छोराको जवाफ हुन्छ । तर ती तस्विरहरू प्रिन्ट भएको मैले देख्न पाएको छैन ।
समय त बतासजस्तै, खोलाजस्तै वा समयजस्तै बगिरहेकै हुन्छ । पहिरो गएको पहाडजस्तै ओरालो लागेको मेरो वृद्धावस्था दिन प्रंतिदिन झन्झन् ओरालो लागिरहेको हुन्छ । म हिजो भन्दा आज, आजभन्दा भोलि झन्झन् असमर्थ, असक्त र दयनीय बन्दै गइरहेको छु । खेल्ने, बोल्ने र हाँसखेल गर्ने साथी नहुनु बुढेसकालको बेमज्जाको स्थिति रहेछ भन्ने महसुस मेरो नाति ‘मोन्टेसोरी’को ‘प्लेग्र्रप’मा भर्ना भएर दिनभर उतै बस्न थालेपछि हुन थालेको छ । शनिबार छुट्टिको दिनमा मात्र केही बेर ऊसँग खेल्न पाउँछु । ऊसँग खेल्ने मेरो लालसा पनि अधुरै हुन थालेको छ ।
एकदिन अकस्मात मेरो निम्ति नयाँ पोसाक लिएर छोरा बुहारी मेरो कोठामा आउँछन् । मलाई “नयाँ पोसाक ठीक भयो, भएन” लगाएर जॉच्न भन्छन् । म फुरुक्क पर्छु,, फुरुङ्ग हुन्छु मेरो पनि छोराबुहारीले ध्यान दिन थालेछन् ।
“वृद्धाश्रम, बालआश्रम र अस्पताल पनि भएको ‘मानव संसार’ उपयुक्त वृद्धाश्रम हो, त्यहॉ बस्ने वृद्धहरूले कुनै प्रकारको कष्ट, पीडा भोग्नु पर्दैन ।” छोरा भन्छ ।
    “बुबाको थोरै आउने पेन्सनले मात्र त्यहा शुल्क तिरेर बस्न अपुग हुने भएकोले प्रत्येक महिनामा अपुग रकम जम्मा गर्नेछौ“ । सबै बन्दोबस्त मिलाएका छौ“ ।”बुहारी थप्छे ।
“म नोकरीको सिलसिलामा कहिले कहाँ कहिले कहाँ गइरहनु पर्ने हुन्छ । बुहारीले पनि सानोतिनो जागिर पाएकी छिन् । घरमा बुबाको सह्यार सम्भार गर्ने मान्छे हुँदैन । ‘मानव संसार’ वृद्धाश्रम नै बुबाको लागि ठीक हुने फैसला गरियो । भोलिदेखि नैै बुबाले त्यहाँ बस्नु पर्छ, हामी तपाईँलाई बिहानै पुर्याइ दिनेछौ“ ।” छोराको आदेश ।
कति सजिलै भने उनीहरूले । नयाँ लुगाको अर्थ खुल्यो । म छाँगाबाट खस्छु । अब मैले पनि यो घर छोड्नै पर्ने भएको छ । मेरो मान्नु र नमान्नुको कुनै अर्थ नहुने भएकैले  उनीहरूले मलाई वृद्धाश्रम पठाउने निर्णय गरिसकेका छन् । मभित्र १२ रेक्टर स्केलको भुइचालो ल्याउने निर्णय सुनाएर उनीहरू बाहिर गइसकेका छन् ।
अहा, यो घर, यो कोठा ! हामी(पत्नी र म)ले कस्तो परिश्रम गरेर आफ्नो र पत्नीको रुचि अनुसार यो घर निर्माण गरेका थियौँ । यही घरमा हामीले छोराछोरी हुर्कायौँ । उनीहरू आज स्वावलम्वी भएका छन् र मलाई आफ्नो निर्णय थुपार्न सक्षम भएका छन् । यो आधुनिक युगले उब्जाएको यान्त्रिक, सांस्कृतिक र सामाजिक प्रचलन हो कि ? अब मैले बनाएको यो घरलाई ‘मेरो हो’ भनेर यसैमा बस्ने अड्डि कस्न सक्तिनँ । छोराबुहारीको आदेश शिरोपर गर्नु बाहेक मसँग अर्को उपाय छैन ।
यो मेरो घर, मेरो कोठा, मेरो पलङ ! भोलिदेखि मसँग यी केही पनि रहने छैनन् । म यो घरमा हुनेछैन । कैयौं दसक सुखदुःखसाथ पत्नीसँग बिताएको यो पलङ मसँग हुनेछैन । कठै, जीवितावस्थामा रहेको बेला पत्नीलाई मुसारेझैँ कोठाका भित्ता, पलङको छेउ कुना सबसब सुम्सुमाउछु । यात्रीले अन्तिम बेला बिदा माग्दै टिल्पिलाएको आँखाले सबैलाई हेरेझैँ मन अघाइन्जेल म आज कोठा, पलङ र घरका सबै चिजहरू हेर्छु । आँखाबाट आँसुको भेल बग्छ तर यो आँसुको के मूल्य छ र ? कोठाका सबै बस्तुहरूलाई छाम्छु, छुन्छु, म्वाँइ खान्छु, अर्धविक्षिप्तझैँ ती सबलाई हेरेर भावविव्हल हुन्छु । म रातभर निदाउन सक्तिनँ, सोच्छु— यो घर, कोठा र पलङको बास आजसम्म मात्र रहेछ ।
रातभर म मेरो र पत्नीको युगल तस्विर हेरेर गुनगुन कुरा गरिरहन्छु, “शोभना, यहाँको बास आजसम्म मात्र रहेछ, तिमी भाग्यमानी रहिछौ, यो कोठाको पलङमा मेरै काखमा प्राण त्याग्न पायौ । तर म ? तिमीले मृत्युवरण गरेको पलङमा नै मेरो पनि प्राण जाओस् भन्ने चाहन्छु । अभागी म, मेरो त्यो सानो चाहना पनि पूरा नहुने भो....।” यस्तै के के म शोभना जीवित भएझैँ उसको तस्विरसँग रातभर कुरा गरिरहन्छु । त्यसरी कुरा नगरेको भए म बौलाउन सक्थे वा बौलाएर नै कुरा गरिरहेको हुन्छु । म भित्तामा झुन्डाइएको हाम्रो युगल तस्विर झिक्छु र भोलि आफूसँगै लैजाने निधो गर्छु र तस्विरकी शोभनालाई भन्छु, “जहाँ मैले मेरो जीवनको अन्तिम कालखण्डमा बास पाइन“, त्यहॉ हाम्रो तस्विरको कुनै इज्जत हुनेछैन ।”
मलाई ‘डोको’ लोककथाको सम्झना आउँछ ।  बाबुले बुढो बाजेलाई डोकोमा बोकेर लगि भीरको टुप्पोबाट डोकोसँगै बाजेलाई फाल्न लाग्दा नातिले ‘डोको चाहीँ नफाल्नुहोला, त्यो डोको मैले पछि तपाईँलाई फाल्न काम लाग्छ’ भनेको थियो  र त्यसले बाबुको मनमा सद्बुद्धि पलाएर बाजेको ज्यान बाँचेको थियो । त्यो कथामा जस्तै मेरो नाति पनि ठूलो भएको भए भन्थ्यो कि “कोपालाई घरमै राखौ“ ।”
बिहानै म नयाँ लुगा लगाएर तयार हुन्छु । बोर्डिङ्गस्कुल जाने मेरी नातिनीको भन्दा कम मेरा सामानहरू गाडिमा राखिसकेपछि छोराबुहारी पनि बस्छन् । म पनि बस्छु । फर्की– फर्की घर हेर्छु तर मेरो धित मर्दैन । पूरै जीवन बिताएको यो घरसँग छुट्टिनु पर्दा मन भक्कानिएर आउँछ ।
मृत्युमा सबसँग छुट्टिनु पर्छ । तर मर्ने व्यक्ति जो मरिसकेको हुन्छ उसले कुनै पीडाबोध गर्नु पर्दैन । तर म जीवितावस्थामा नै घर, परिवार र सबसँग छुट्टिदै छु र म अग्घोर पीडाबोध गर्न विवश छु । जिउँदो भएर पनि यो एक प्रकारले मेरो मृत्यु नै हो जसले मेरो सबसब मबाट खोसेर लगिरहेको छ । मृत्युमा झैँ सब मसँग छुट्टिदै छ ।
“बिदा, मलाई र मेरो परिवारलाई आस्रय दिने घर बिदा ! मेरा छोरा, नाति, पनाति, जनातिहरूलाई शुभ्यफाव्य होस् ।” बिदा लिन लागेको मेरो मन सबैले सुन्ने गरी यी शब्दहरू फलाक्न पुग्छ ।
“छोरा, मलाई  नातिसँग बसेर खिचेको हाम्रो तस्विर देऊ ।”
“किन चाहियो तपाईँलाई ? वृद्धाश्रमको भित्तामा त्यो टाङ्ने ठाउँ हुँदैन । तपाईँलाई भेटन नातिनातिनीहरू आइरहने छन् नि ।”
अब मेरो तस्विर टाङ्ने कुनै भित्ता छैन । अब मलाई कुनै तस्विरको खॉचो छैन । म गाडीमा बस्दै छोरालाई अन्तिम पटक सोध्छु, “साच्चै मलाई भेट्न मेरो नाति त्यहाँ आउँछ ?”



गरिमा  २०६८,असोज ,(पहिलाे पल्ट प्रकाशित)
अन्तिम आयाम  (कथासङ्ग्रहमा  सङ्गृहित )