Sunday, October 16, 2011

नाति

नाति

सरण राई

निस आफूलाई अथवा आफ्नो शरीरका अङ्गहरूलाई हेरेर पनि रुँदोरहेछ । मानिस कति कमलो मन लिएर बाँचिरहेको हुन्छ । जीवनमा आएका कस्ता कस्ता विपत्तिहरूका आँधीबेहेरी बेहोरीयो, कष्ट खेपियो । खुइय्य गरिएन । हार मानिएन । डटेर मुकाबिला गरियो, ‘रुने नामर्द म होइन’ भनियो । तर आज अकस्मात म आफ्ना हातहरू, हत्केलाहरू र आÏनो शरीर देखेर– हेरेर रोइरहेको छु ।  आफ्ना हातहरू, हत्केलाहरू र आफ्नो शरीर देख्दा मन अमिलिएर आएको छ । आफ्नो यस्तो वृद्धावस्था देख्दा आँखाबाट बररर आँसु बगिरहेको छ ।
हातहरू आँखा सामु छन् । चालीस वर्ष अघिको बुबाको र मेरो हातमा केही अन्तर छैन, छाला चाउरिएको छ, झोलिएको छ । तन्नेरी हातको सुन्दरता लुप्त भएको छ । म बुबालाई सम्झन्छु । ऐना हेर्छु बुबाको र मेरो अनुहारमा थुप्रै समानता पाउँछु अर्थात् मेरो अनुहार पनि बृद्ध बुबाको जस्तै भएको छ । मलाई बुबाको अग्घोर माया लागेर आउँछ र बुबाजस्तै बूढो भएको आफूलाई सहानुभूति गर्न पुग्छु । म बूढो भएको छु । कठै, यो मेरो जीवनमा वृद्धावस्थाले पूर्णतया प्रवेश गरिसकेको छ ।
वृद्धावस्था !
वृद्धावस्थामा  शारीरिक असमर्थता र एक्लोपन जम्ल्याहा जस्ता रहेछन् ।
पुग्नुपर्ने कतै छैन, गन्तव्य छैन तर हिँडिरहनु पर्ने । पाउनुपर्ने नयाँ प्राप्ति केही छैन, सामर्थ्य छैन तर प्रयत्नशील भइरहनुपर्ने । जीवनको अवसान नजिक पुग्न लागिएको परिस्थिति, रूप, तागत, बलबैंस, आँट, जाँगर अथवा जीवनका सुन्दरताहरूले छाड्न लागेको अवस्था, मृत्यु नजिक पुगेको अनुभूतिले गिजोलिरहेको मन ! ‘यति रमाइलो संसार छोडेर जानुपर्ने’ भन्ने भावनाले दिएको पीडा ! यो संसारकै, जीवनकै चलन, रीत र नियम हो । यहाँ कोही पनि जिउँदाहरूले सदैव बाँचिरहन पाउदैनन् । मृत्युले सब जिउँदाहरूलाई निल्छ, निल्छ । मृत्युको पूर्वआभास कति पीडादायी छ, मन चसक्क दुख्छ । मर्नै पर्छ, जानै पर्छ यो धरती छाडेर । मेरा पिता मरे, आमा मरीन्, अघिल्लो पुस्ताका सबै मरिसके । अब मर्ने पालो मेरो यो वर्तमान पुस्ताको, भावी पुस्ताका लागि ठाउँ खाली गर्नै पर्छ ।
फेरि एक जन्म वा अर्को थप एक जीवन बाँच्न पाए.... म कल्पिन्छु । तर कसैले दुइ जीवन बाँच्न पाएका छन् र ? म पनि डाँडाको घाम, निभ्न लागेको दियो भएको छु । मैले पनि ...जानै पर्छ ।
अजङ्गको एकान्तले उब्जाएको परिवेशले मनमनै म मृत्युदेखि त्रसितत्रसित भएर एक्लै मनभित्रभित्रै रोइरहेको बेला मेरो नाति ‘आँ..आँ..’ भर्खर फुट्न लागेको अष्पस्ट बोली निकाल्दै टुकुटुकु हिडेर आउँछ र मेरो काखमा लुट्पुटिन्छ । मेरो मानसिक धरातलमा देखिन थालेको कालो अँध्यारो बादल फाटेर झलमल्ल उज्यालो मेरो मनको आयतनभरि फैलिन्छ । बिर्सन्छु आफ्नो वृद्धपन, एक्लोपन र नियास्रोपन र झलझली देख्न थाल्छु भावी सन्तानको प्रतिविम्बित रूप आÏनै नातिको अनुहारमा ।
नाति !
मेरै जीवनको क्रमिकता होइन र ? म पछि छोरा, छोरापछि नाति, नातिपछि पनाति, जनाति, खनाति....मेरै जीवनको निरन्तरता मान्न थाल्छु । मेरो अन्तरकुन्तरमा चम्किलो घाम उदाउँछ्र । आँसु आँखामा बिलाएर जान्छ । बुबाको रूपबाट म आफू र म आफूबाट नातिको कलिलोपनमा रूपान्तरित हुन थालेको हुन्छु थाहै नपाई ...। म नरहे पनि मेरो अंश, शेष वा सन्तान यस धरतीमा रहिरहनेछ । मभित्र एक प्रकारको मीठो भाव, उत्साह, प्रसन्नता र गौरव प्रस्फुटन हुन्छ ।
नाति ! केही वर्ष अगाडिसम्म मलाई ‘बाजे’ भनेर बोलाएको पटक्कै मन पर्दैनथ्यो । मेरा एकजना मित्रलाई पनि त्यस्तै हुन्थ्यो रे, ‘बाजे’ सम्बोधन सुन्दा कन्सिरी तातेर आउँने कुरा उनले आफ्नो संस्मरणमा लेखेका छन् । तर वास्तविक रूपमै नातिनातिनाहरू जन्मिसकेपछि ‘बाजे’ सम्बोधन पनि मिठासयुक्त र स्वाभाविक लाग्न थालेको छ ।
मलाई नातिनी बारम्बार भन्छे, “कोपा, कोपा (बाजे,बाजे) !” यो सम्बोधनमा एउटा साइनो छ, जसले वंशवृक्ष झ्याङ्गिदै गरेको सङ्केत दिन्छ । यसबाट म सन्तुष्ट हुन्छु । नाति जन्मेपछि त नातिनातिनीहरूको अवोध बाल संसारमा रमाउन मन पराउन थालेको छु । धेरै वर्ष अगाडिदेखि गाउन छाडेका गीतहरू फेरि लयबद्ध स्वरहरूमा तिनीहरूसँग खेल्दा स्वस्फूर्त रूपमा अनायास मेरा कण्ठबाट तरङ्गित हुन्छन् । म अझै गाउन सक्दोरहेछु, नातिनातिनीहरूको अबोध बाल संसारमा युवाहरूजस्तै गाउँदै नाच्न सक्छु । रमाइलो गर्छु र सम्झन पुग्छु फेरि मधुर जीवनको पुनरागमन भएको छ । नातिनातिनाहरू सॉच्चै मायालाग्दा छन्, यसैले मानिसहरूले ‘सावाको भन्दा ब्याजको माया’ भन्ने गरेका होलान् ।
म मेरा नातिनातिनाहरू संसारमा सबैभन्दा सुखी भएको हेर्न चाहन्छु ।  तिनीहरूलाई जब मेरा छोराबुहारीहरूले कुटेर रुवाउँछन्, हकार्छन्, नमीठो लाग्छ, मनमा औडाहा लाग्छ । छोराबुहारीलाई हकार्दै म तिनीहरूलाई काखमा खेलाएर वा बोकेर फकाउन थालिहाल्छु । तिनीहरू पनि मेरो आडभरोसा सहारा पाएर मेरो छातीमा टाँसिन थालिहाल्छन्, त्यसबेला म सारा संसार बिर्सन्छु । आफ्नै रोग, शोक, पीडा र आफ्नो अवस्था पनि बिर्सन पुग्छु । सम्झन्छु विश्वकै सबैभन्दा सुखी मानिस हु“ जसको कोपिलाजस्ता नातिनातिनाहरू छन् ।
समयलाई कसले पो रोक्न, छेक्न वा वशमा राख्न सकेको छ र ? म ती मसिना नातिनातिनीहरूसँग अनन्त कालसम्म खेलिरहूँ, तिनीहरू त्यत्रै रहिरहुन् र हाम्रो आत्मीय रमाइलो कौतुकमय क्रीडा सदैव रहिरहोस् । तिनीहरू सधैं मसँग खेलिरहून् । मन आनन्दले हराभरा भइरहोस्, तर त्यस्तो हुँदैन ।
हामी बाजे बोजु तिनीहरूलाई देख्दा अग्घोर खुसी हुन्थ्यौँ । सम्पूर्ण सांसारिक दुःख कष्ट बिर्सन्थ्यौँ र तिनीहरूका लागि अनेकौ‘ दुःख कष्ट झेल्न तयार थियौँ । समयक्रममा मबाट मेरी मायालु पत्नी छुटिन् । तिनको देहान्तको असह्य वेदना पनि नातिनातिनीहरूको मुख हेर्दै सहेँ । ममाथि वृद्धावस्थाका असमर्थताका साथै विभिन्न रोगहरू थपिए । म परिवारमाझ बसेर पनि नितान्त एक्लोएक्लो हुँदै गइरहेको छु । मेरो घरभित्रको घरमुलीको शासन, ढलिमली र हैकम पनि समाप्त हुँदै गएको छ, मेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक गतिविधि पनि स्वात्तै घटेको छ । अब प्राय घरबाहिरका यस्ता क्रियाकलाप शून्य भएका छन् ।
कुनैकुनै बेला साथीहरू आउनेजाने गर्थे । घरमा मेरा साथीभाइहरूको उचित सम्मान, मान र आतिथ्यता हुन छाडेको छ जसले गर्दा उनीहरू पनि आउन छाडेका छन् । म पनि साथीभाइहरूकहाँ जान छाडेको छु । मलाई लाग्छ, पहिला जस्तो मेरो पनि अरुको पाहुना हुँदा खातिरदारी, स्वागत सत्कार हुन छाडेको छ र म आफ्नो कोठाको एकान्तमा बस्न अभ्यस्त भइसकेको छु ।
जाने पनि कहाँ ? गर्नै पो के सक्छु र ? म चाहन्छु आफूले हाडछाला घोटेर अनेकौं दुःखसाथ हुर्काएका मेरा छोरालाई अझै हरप्रकारले मद्दत गरुँ । तर शारीरिक असक्तता बाधा भइरहेको हुन्छ । म चाहन्छु  कैयौँ दसक लामो मेरो जिन्दगीको अनुभवबाट प्राप्त ज्ञान, सीप र समस्या समाधानका उपाय, सल्लाह, सुझावहरू दिएर  पारिवारिक र अन्य समस्याहरूमा सहयोगी बन्न सकूँ । तर मैले बटुलेको अनुभव, शिक्षा र सल्लाह कोही सुन्न चाहदैनन्, ‘उहिलेको कुरा खुइले’ । म उपयोगिताविहीन बूढो, मेरा सल्लाह सुझाव उनीहरूलाई अनावश्यक हस्तक्षेप लाग्छ । सायद यही नै ‘जेनेरेसन ग्याप’ होला ।
घर खर्च दिन प्रतिदिन बढ्न थालेको छ । महँगीको जमाना तैपनि केही तडकभडक गर्नै पर्यो । साथीभाइहरूभन्दा कम देखिनु भएन । भोजभतेर, क्लब, बिहेबटुलो, बिजुली, पानी,  टेलिभिजन च्यानल महशुल, स्कुलको शुल्क आदि अनेकौ‘ खर्चहरू...मलाई पनि थाहा छ, धानी सक्नु छैन । कुनामा बसेर टुलुटुलु हेरिरहन बाहेक म के नै गर्न सक्छु र ?
घरखर्च चलाउने देखि घरायसी अन्य सबै निर्णयहरू गर्दा मलाई सोधिँदैन । अब त्यस्ता विषयहरूसँग मेरो कुनै सरोकार छैन । म कोठामा बसेर पुस्तकहरू दोहोर्याइ तेहर्याइ पढ्छु । कथा बुझ्न थालेकी नातिनी आइभने दन्त्यकथा, पञ्चतन्त्र, जातक र इसपनीतिका कथाहरू सुनाउँछु । कथा सुनाउँदा मलाई अग्घोर आनन्द आउँछ । कथाको प्रवाह मेरो खोकिले बीचबीचमा रोकिँदा भने नातिनी नियास्रो मान्छे ।
“कोपाको छेउमा धेरै नजा, खोकि र अरु रोगहरू सर्ला ।” बुहारीले नातिनीलाई भनेको झट्ट सुन्छु । मनमा च्वास्स बिझे पनि नसुने झैँ गर्छु । प्रतिकार गर्ने सामर्थ्य मसँग अब रहेन ।
“म घरमै बस्छु, कोपालाई छोडेर जान्न“ ।” चिच्याइरहेकी थिई नातिनी । झोला, बक्स र केही सामानका साथ जबरजस्ती मेरी ठूली नातिनीलाई बोर्डिङ्ग स्कुलको बोर्डसमा पठाइन्छ । त्यसको चिच्याहटले अनायासै मेरो आँखा टलपलाउछ, कठै... मेरो सानी साथी नातिनी पनि मसँग छुट्टिएर गई ।
नातिनीको अभाव नातिले पूरा गरिरहेको हुन्छ । ऊ मेरो कोठामा आएर बालसुलभ अनेक उपद्रोहरू गर्छ । मेरो पुरानो पुस्तक कपि च्यात्नु, चस्मा बिगार्नु, बिस्तारामा पिसाब फेर्नु आदि उपद्रोहरू । ती उपद्रोहरू उसँग खेल्दा, बस्दा र हाँस्दा प्राप्त हुने आनन्दको अगाडि  केही होइन । ऊ मसँग बस्छ, खेल्छ र हाँस्छ । म उसलाई अत्यधिक माया गर्छु । ऊ मसँग हुँदा सबथोक बिर्सन्छु र चाहन्छु ऊ सदैव मसँग बसिरहोस्, खेलिरहोस् । ऊसँग बस्दा मलाई अपूर्व आनन्द आउँछ, जुन आनन्द प्रत्येक बाजेहरूले मात्र अनुभव गरेका हुन्छन् । त्यो अनुभव बाजे हुने उमेरसम्म बाँचेकाहरूले मात्र प्राप्त गर्छन् । म पनि बाजे हुन पाएकोमा गौरवान्वित हुन्छु र मेरो ओठमा मुस्कान खेल्छ ।
छोरालाई बोलाएर हामी दुइका बिभिन्न मुद्राका फोटोहरू खिच्न लगाउँछु । हामी दुइको ‘मूभि’ पनि उसले खिच्छ । क्यामेरामा नै ती फोटाहरू हेरेर म मक्खै पर्छु । भन्छु “यी तस्वीरहरू प्रिन्ट गरेर ल्याइ देओ ।”
“म कम्प्युटरमा ‘सेभ’ गर्छु । पछि एकै चोटि  ‘प्रिन्ट’ गरौला“ ।”छोराको जवाफ हुन्छ । तर ती तस्विरहरू प्रिन्ट भएको मैले देख्न पाएको छैन ।
समय त बतासजस्तै, खोलाजस्तै वा समयजस्तै बगिरहेकै हुन्छ । पहिरो गएको पहाडजस्तै ओरालो लागेको मेरो वृद्धावस्था दिन प्रंतिदिन झन्झन् ओरालो लागिरहेको हुन्छ । म हिजो भन्दा आज, आजभन्दा भोलि झन्झन् असमर्थ, असक्त र दयनीय बन्दै गइरहेको छु । खेल्ने, बोल्ने र हाँसखेल गर्ने साथी नहुनु बुढेसकालको बेमज्जाको स्थिति रहेछ भन्ने महसुस मेरो नाति ‘मोन्टेसोरी’को ‘प्लेग्र्रप’मा भर्ना भएर दिनभर उतै बस्न थालेपछि हुन थालेको छ । शनिबार छुट्टिको दिनमा मात्र केही बेर ऊसँग खेल्न पाउँछु । ऊसँग खेल्ने मेरो लालसा पनि अधुरै हुन थालेको छ ।
एकदिन अकस्मात मेरो निम्ति नयाँ पोसाक लिएर छोरा बुहारी मेरो कोठामा आउँछन् । मलाई “नयाँ पोसाक ठीक भयो, भएन” लगाएर जॉच्न भन्छन् । म फुरुक्क पर्छु,, फुरुङ्ग हुन्छु मेरो पनि छोराबुहारीले ध्यान दिन थालेछन् ।
“वृद्धाश्रम, बालआश्रम र अस्पताल पनि भएको ‘मानव संसार’ उपयुक्त वृद्धाश्रम हो, त्यहॉ बस्ने वृद्धहरूले कुनै प्रकारको कष्ट, पीडा भोग्नु पर्दैन ।” छोरा भन्छ ।
    “बुबाको थोरै आउने पेन्सनले मात्र त्यहा शुल्क तिरेर बस्न अपुग हुने भएकोले प्रत्येक महिनामा अपुग रकम जम्मा गर्नेछौ“ । सबै बन्दोबस्त मिलाएका छौ“ ।”बुहारी थप्छे ।
“म नोकरीको सिलसिलामा कहिले कहाँ कहिले कहाँ गइरहनु पर्ने हुन्छ । बुहारीले पनि सानोतिनो जागिर पाएकी छिन् । घरमा बुबाको सह्यार सम्भार गर्ने मान्छे हुँदैन । ‘मानव संसार’ वृद्धाश्रम नै बुबाको लागि ठीक हुने फैसला गरियो । भोलिदेखि नैै बुबाले त्यहाँ बस्नु पर्छ, हामी तपाईँलाई बिहानै पुर्याइ दिनेछौ“ ।” छोराको आदेश ।
कति सजिलै भने उनीहरूले । नयाँ लुगाको अर्थ खुल्यो । म छाँगाबाट खस्छु । अब मैले पनि यो घर छोड्नै पर्ने भएको छ । मेरो मान्नु र नमान्नुको कुनै अर्थ नहुने भएकैले  उनीहरूले मलाई वृद्धाश्रम पठाउने निर्णय गरिसकेका छन् । मभित्र १२ रेक्टर स्केलको भुइचालो ल्याउने निर्णय सुनाएर उनीहरू बाहिर गइसकेका छन् ।
अहा, यो घर, यो कोठा ! हामी(पत्नी र म)ले कस्तो परिश्रम गरेर आफ्नो र पत्नीको रुचि अनुसार यो घर निर्माण गरेका थियौँ । यही घरमा हामीले छोराछोरी हुर्कायौँ । उनीहरू आज स्वावलम्वी भएका छन् र मलाई आफ्नो निर्णय थुपार्न सक्षम भएका छन् । यो आधुनिक युगले उब्जाएको यान्त्रिक, सांस्कृतिक र सामाजिक प्रचलन हो कि ? अब मैले बनाएको यो घरलाई ‘मेरो हो’ भनेर यसैमा बस्ने अड्डि कस्न सक्तिनँ । छोराबुहारीको आदेश शिरोपर गर्नु बाहेक मसँग अर्को उपाय छैन ।
यो मेरो घर, मेरो कोठा, मेरो पलङ ! भोलिदेखि मसँग यी केही पनि रहने छैनन् । म यो घरमा हुनेछैन । कैयौं दसक सुखदुःखसाथ पत्नीसँग बिताएको यो पलङ मसँग हुनेछैन । कठै, जीवितावस्थामा रहेको बेला पत्नीलाई मुसारेझैँ कोठाका भित्ता, पलङको छेउ कुना सबसब सुम्सुमाउछु । यात्रीले अन्तिम बेला बिदा माग्दै टिल्पिलाएको आँखाले सबैलाई हेरेझैँ मन अघाइन्जेल म आज कोठा, पलङ र घरका सबै चिजहरू हेर्छु । आँखाबाट आँसुको भेल बग्छ तर यो आँसुको के मूल्य छ र ? कोठाका सबै बस्तुहरूलाई छाम्छु, छुन्छु, म्वाँइ खान्छु, अर्धविक्षिप्तझैँ ती सबलाई हेरेर भावविव्हल हुन्छु । म रातभर निदाउन सक्तिनँ, सोच्छु— यो घर, कोठा र पलङको बास आजसम्म मात्र रहेछ ।
रातभर म मेरो र पत्नीको युगल तस्विर हेरेर गुनगुन कुरा गरिरहन्छु, “शोभना, यहाँको बास आजसम्म मात्र रहेछ, तिमी भाग्यमानी रहिछौ, यो कोठाको पलङमा मेरै काखमा प्राण त्याग्न पायौ । तर म ? तिमीले मृत्युवरण गरेको पलङमा नै मेरो पनि प्राण जाओस् भन्ने चाहन्छु । अभागी म, मेरो त्यो सानो चाहना पनि पूरा नहुने भो....।” यस्तै के के म शोभना जीवित भएझैँ उसको तस्विरसँग रातभर कुरा गरिरहन्छु । त्यसरी कुरा नगरेको भए म बौलाउन सक्थे वा बौलाएर नै कुरा गरिरहेको हुन्छु । म भित्तामा झुन्डाइएको हाम्रो युगल तस्विर झिक्छु र भोलि आफूसँगै लैजाने निधो गर्छु र तस्विरकी शोभनालाई भन्छु, “जहाँ मैले मेरो जीवनको अन्तिम कालखण्डमा बास पाइन“, त्यहॉ हाम्रो तस्विरको कुनै इज्जत हुनेछैन ।”
मलाई ‘डोको’ लोककथाको सम्झना आउँछ ।  बाबुले बुढो बाजेलाई डोकोमा बोकेर लगि भीरको टुप्पोबाट डोकोसँगै बाजेलाई फाल्न लाग्दा नातिले ‘डोको चाहीँ नफाल्नुहोला, त्यो डोको मैले पछि तपाईँलाई फाल्न काम लाग्छ’ भनेको थियो  र त्यसले बाबुको मनमा सद्बुद्धि पलाएर बाजेको ज्यान बाँचेको थियो । त्यो कथामा जस्तै मेरो नाति पनि ठूलो भएको भए भन्थ्यो कि “कोपालाई घरमै राखौ“ ।”
बिहानै म नयाँ लुगा लगाएर तयार हुन्छु । बोर्डिङ्गस्कुल जाने मेरी नातिनीको भन्दा कम मेरा सामानहरू गाडिमा राखिसकेपछि छोराबुहारी पनि बस्छन् । म पनि बस्छु । फर्की– फर्की घर हेर्छु तर मेरो धित मर्दैन । पूरै जीवन बिताएको यो घरसँग छुट्टिनु पर्दा मन भक्कानिएर आउँछ ।
मृत्युमा सबसँग छुट्टिनु पर्छ । तर मर्ने व्यक्ति जो मरिसकेको हुन्छ उसले कुनै पीडाबोध गर्नु पर्दैन । तर म जीवितावस्थामा नै घर, परिवार र सबसँग छुट्टिदै छु र म अग्घोर पीडाबोध गर्न विवश छु । जिउँदो भएर पनि यो एक प्रकारले मेरो मृत्यु नै हो जसले मेरो सबसब मबाट खोसेर लगिरहेको छ । मृत्युमा झैँ सब मसँग छुट्टिदै छ ।
“बिदा, मलाई र मेरो परिवारलाई आस्रय दिने घर बिदा ! मेरा छोरा, नाति, पनाति, जनातिहरूलाई शुभ्यफाव्य होस् ।” बिदा लिन लागेको मेरो मन सबैले सुन्ने गरी यी शब्दहरू फलाक्न पुग्छ ।
“छोरा, मलाई  नातिसँग बसेर खिचेको हाम्रो तस्विर देऊ ।”
“किन चाहियो तपाईँलाई ? वृद्धाश्रमको भित्तामा त्यो टाङ्ने ठाउँ हुँदैन । तपाईँलाई भेटन नातिनातिनीहरू आइरहने छन् नि ।”
अब मेरो तस्विर टाङ्ने कुनै भित्ता छैन । अब मलाई कुनै तस्विरको खॉचो छैन । म गाडीमा बस्दै छोरालाई अन्तिम पटक सोध्छु, “साच्चै मलाई भेट्न मेरो नाति त्यहाँ आउँछ ?”



गरिमा  २०६८,असोज ,(पहिलाे पल्ट प्रकाशित)
अन्तिम आयाम  (कथासङ्ग्रहमा  सङ्गृहित )







Monday, October 10, 2011

तपस्वी महात्मा महामानव




‘मानव संसार’ वृद्धहरूका सहज जीवनयापन गर्ने अथवा मृत्यु कुर्ने–पर्खने सबै सुविधासम्पन्न सानो संसार हो । त्यहाँ बालआश्रम, वृद्धाश्रम, अस्पताल छ साथै सिर्जनात्मक सुन्दर रचनाहरू गर्नका लागि उपयुक्त परिस्थिति, वातावरण र भौतिक संरचना उपलब्ध छ । त्यहाँ किसिमकिसिमका वृद्धहरू जीवनको अन्तिम कालखण्डमा स्वेच्छाले वा बाध्यताले बसिरहेका छन् । उनीहरू सबैका आआफ्ना छुट्टै प्रकारका बानीबेहोरा, आचारविचार, दृष्टिकोण, क्रियाशीलता वा विशेषताहरू रहेका छन् ।
ती सबै वृद्धहरूलाई एकाएक केलाएर हेर्नेबुझ्ने हो भने गम्भीर जीवनको, इतिहासको अथवा उनीहरूले भोगेका बेग्लाबेग्लै कालखण्डका एउटाएउटा उदेकलाग्दा, रमाइला, दुःखलाग्दा अनेकौं कथाहरू बन्न सक्छन्, व्यथाहरू पोखिन सक्छन् ।
त्यसै ‘मानव संसार’ मा बस्ने तपस्वी महात्मा महामानवका बारेमा जान्नेबुझ्ने जिज्ञासा लिएर म त्यहाँ पुग्छु ।
थुप्रै वृद्धहरूको एउटा हूलझुन्ड देख्छु । देख्दा लाग्छ— उनीहरू कुनै गम्भीर विषयमा छलफल गरिरहेका छन् । म केहीबेर टाढा बसेर प्रतीक्षा गर्छु ।
“त्यहाँ तपस्वी महात्मा महामानव पनि हुनुहुन्छ ?” म एकजना वृद्धलाई बोलाएर सोध्छु ।
“महात्मा, महामानव हुनुहुन्छ ।” वृद्ध धनपाल जवाफ दिन्छन् ।
“के तपाईं बोलाएर ल्याउन सक्नुहुन्छ ?” म सोध्छु ।
“अहिले त होइन, छलफल आधा घन्टापछि सकिन्छ । त्यसपछि बोलाउन सक्छु ।”
“उसो भए आधा घन्टाको समय म तपाईंसँग कुराकानी गफगाफ गरेर बिताउन चाहन्छु । के तपाईंलाई फुर्सद छ ?”
“फुर्सदै छ । तर तपाईं को हुनुहुन्छ ? किन हामीजस्ता समयले केही समय साँचेका वृद्धहरूसँग कुरा गर्न चाहनुहुन्छ ?” उनी सोध्छन् ।
“म पत्रकार हुँ । तपस्वी महात्मा महामानवको परिचय ‘शान्तिपुर’ पत्रिकामा छाप्न चाहन्छु । आधी घन्टा पर्खने समय म तपाईंसँग कुरा गरेर बिताउँदा राम्रै होला भन्ने सम्झन्छु ।”
“हुन्छ, म तयार छु ।”
“तपाईं कसरी यो वृद्धाश्रममा बस्न आउनुभयो ? म बुझ्न चाहन्छु— तपाईंको कोही परिवार (छोराछोरी, बुहारी, ज्वाइँ, भाइभतिजा, पत्नी वा आफन्त नातागोता आदि) छन् या छैनन् ? यो वृद्धाश्रमको व्यवस्थापन कस्तो छ ? तपाईं यहाँ सन्तुष्ट हुनुहुन्छ ? अनि तपाईंको विचारमा ... ।”
“आम्मामा... यति धेरै प्रश्नहरू एकै साथ । तपाईं पत्रकारहरू सोध्न पाउनुभयो अथवा बुझ्ने मौका पाउनुभयो भने समग्र वृत्तान्त, हालचाल सबसब एकसाथ बुझ्न चाहनुहुन्छ । धैर्यताका साथ एकएकवटा मात्र सोध्नुहोस् ।” उनी रसिक बूढा रहेछन् र हाँस्छन् जोडले “हा... हा... हा... ।”
“हा... हा... हा...” मैले पनि नहाँसी धरै पाइनँ । हंसमुख उनी, उनको अगाडि गम्भीर भएर बस्दा आफू असामाजिक, अनौपचारिक र असभ्य भइने हो कि भन्ने डरले पनि म हाँस्छु र भन्छु— “हामी पत्रकारहरूको बानी नै प्रश्नहरू खन्याउने हो— पानीजस्तै । प्रश्नहरूले नुहाइदिएर खाटी कुरा पत्ता लगाउनु हाम्रो दायित्व हो । नरिसाउनुहोला अथवा नहाँस्नुहोला, म अब भने एकएकवटा मात्र प्रश्न सोध्नेछु । हा... हा... हा... ।”
“हा... हा... हा... ।” उनी पनि हाँस्छन् । हाँस्दा हामी चिन्तायुक्त तनावग्रस्त संसारबाट टाढा आत्मीयता, घनिष्ठता र मित्रताको निस्वार्थ प्रेममय निष्कपट तनावरहित शान्त परिवेशमा अवतरित हुन पुग्छौं ।
“तपाईं कसरी यो ‘मानव संसार’ मा बस्नु आउनुभयो ?”
“म कसरी यहाँ बस्न आइपुगेँ ? यो मेरो जिन्दगीसित जोडिएको प्रश्न मैले पनि निकैपल्ट गमेको छु र थाहा पाएको छु— जिन्दगी भनेको एउटा रमाइलो ख्यालख्याल खेल वा झेल रहेछ । खेल्दाखेल्दै, झेल्दाझेल्दै म यहाँ आइपुगेको छु यो स्थितिमा, अवस्थामा, जीवनको अन्तिम कालखण्डमा... तपाईंलाई पट्यार लाग्ला झर्कोलाग्दो मेरो निरस जीवनको कथाव्यथा सुन्दा ।” उनी गम्भीर र भावुक भएर मतिर हेर्छन् ।
“लाग्दैन । लाग्ने भए सोधेर कुरा उप्काउने नै थिइनँ नि । तपाईं कुनै कुरा नलुकाई भन्नोस् । पत्रिकाका लागि केही मसला, सामल वा खुराक प्राप्त होला कि ।”
“म... ” उनी सुदूरक्षितिजतर्फ हेर्छन् । मानौं उनी आफ्नो धेरै अघिको विगत वा भोगेको जीवनको स्वप्निल सम्झनामा हराउन पुगेका छन् । ख्वाक्ख्वाक् खोकेर गला सफा गरिसकेपछि भन्न सुरु गर्छन्— “म... ”
उनी अकस्मात् कहाँकहाँ हराए । थामिए, बोल्दाबोल्दै रोकिए र अर्कोपट्टि फर्किएर अनुहार लुकाए । केहीबेर उनको कुम मात्र हल्लिएको देख्छु । अर्कोपट्टि उनी किन फर्किए ? के उनी आफ्नो व्यथा लुकाउन चाहन्छन् अथवा पुरानो सम्झनामा रुमल्लिएर रुन थालेका छन् ? केहीबेरपछि मतिर फर्कन्छन् । आँखा चिमचिम गरेर फेरि हाँस्दै भन्न सुरु गर्छन्— “म कतिसम्म तपाईंलाई सुनाऊँ ? कति लुकाऊँ मनमा टुङ्गो गर्न नसकेर केहीबेर अलमलिएको छु ।” सिँगान फाल्ने निहुँ गरेर केही पर जान्छन् । केहीबेर मेरो आँखाबाट ओझेल पर्छन् र फर्कन्छन् ।
उनी पहिलाजस्तै तरोताजा भएका छन् । आफ्नो  व्यथा पोख्न थाल्छन्— “म हरेकपल्ट आफ्नो विस्मृतिभित्र बिलाइसकेको विगतबारे जबजब भन्न थाल्छु, खाटा बसिसकेको बासी घाउ कोतरेर उप्काएझैँ दुख्छु तर प्रत्येक दुखाइमा एउटा अनौठो तृप्ति महसुस गर्न पुग्छु । त्यसैले म पटकपटक आफ्नो कथाव्यथा दोहो¥याई–तेह¥याई (सुन्ने मानिस पाएसम्म) सुनाइरहन्छु, सुनाउँछु । सुनाउँदा त्यो पुनः अप्राप्य अनमोल विगतमा पुगेको भ्रम पालेर ‘जीवन कति फासफुस... फुस्सा रहेछ’ भन्ने नमीठो अनुभूतिले पोलिन्छु, पिरलिन्छु । सुनाउँदा कतै म रोएँ भने यो कस्तो कमजोर रहेछ, काम नलाग्ने रहेछ— नठान्नुहोला । अब त म टेपरिकर्डर वा सीडी क्यासेटझैँ मेरो कथा दोहो¥याउनु, तेह¥याउनुमा खप्पिस भइसकेको छु । बुढेसकाल भनेकै के रहेछ र सुधार वा संशोधन गर्न नसकिने आफूले भोगेको विगत, बितेको जीवनकथा सुनाउने, सम्झने, सम्झेर रमाउने वा रुने क्षणिक र अन्तिम कालखण्ड रहेछ मानिसको ।” उनी मलाई पुलुक्क हेर्छन् ।
“अँ भन्नुहोस् । म बुझिरहेको छु ।” म भन्छु— “धन्दा नमान्नुहोस्, केही गरी तपाईंले असामान्य व्यवहार गर्नुभयो, भन्दाभन्दै रुनुभयो, हाँस्नुभयो वा अरू थोक गर्नुभयो भने पनि अन्यथा सम्झने छैनँ । तपाईं ढुक्क भएर अमुक, अबुझ दर्शक सामु नाटकमा झैँ अभिनय गर्दै हुनुहुन्छ भन्ने सम्झनुहोस् ।”
म गोलो घेरा बनाएर बसेका वृद्धहरूको झुन्ड हेर्छु । उनीहरू अझै त्यसरी नै अनेक हाउभावहरूका हात, टाउको र शरीर हल्लाएर छलफलमा व्यस्त छन् । तसर्थ मलाई हतार छैन । धनपालको कुरा सुन्नमा आफूलाई तम्तयार तल्लीन पार्छु ।
“म अहिलेजस्तो तगडा पूर्ण मान्छे जस्तो छु, पहिला त्यस्तो थिइनँ । मेरा इन्द्रियहरू पूर्ण विकसित थिएनन् । कुनै पनि काम ठीक ढङ्गले गर्नका लागि अरूको आदेश, निर्देशन, इसारा मलाई चाहिन्थ्यो । आफ्नो मनज्ञानले केही गर्न सक्तिनथेँ । झन्डैझन्डै म अर्ध गठेरो, हिनताग्रस्त म केही काम पूरा गर्न सक्छु भन्ने विश्वास थिएन । मेरो आमाबुबा असाध्य गरिब थिए । भाइबहिनीहरू पनि थुप्रै थिए । जब म केही ठूलो भएँ, घरमा सबैजना बसेर खान पुग्ने अवस्था नभएकाले गरिखान वा मागिखान सक्ने केटाकेटीहरूलाई स्वतन्त्र रूपमा सडकमा छाडियो, पठाइयो । गुँडबाट उड्न सक्ने भएपछि बचेराहरू उडेझैँ हामीले पनि चारो आहारको खोजीमा गाउँ, सहर, सडक, गल्ली, घरघर भट्किन र चाहर्न थाल्यौँ ।”
“म पनि एउटा सडकछाप बच्चो हुँदै, हुर्कंदै एउटा रिक्साचालक हुन पुगेँ । रिक्साचालक भएपछि, राम्रो आहारा खान पाएपछि म पनि तन्नेरी हुन पुगेँ... ” उनी भनिरहेका थिए । उता वृद्धहरूको छलफल सकिएछ क्या र ! उठेर सबै हिँड्न थाल्छन् । उनलाई बीचैमा रोकेर म भन्छु— “उनीहरूको छलफल सकियो होला । हिँड्दै छन््, तपस्वी महात्मा महामानवलाई बोलाएर ल्याउनुहोस् ।”
“मेरो कुरा पूरा सुन्नुहुन्न ?” उनी सोध्छन् ।
“अरू कुनै दिन सुनौला ।” म भन्छु ।
“होइन, अब केहीबेरमा नै मेरो कुरा सक्छु । मेरो कुरा सकिएपछि महात्मा महामानवलाई उनीहरूकै कोठामा भेटाउँदा हुँदैन ?”
“त्यसो हो भने हुन्छ ।” मन नलागीनलागी भन्छु । उनी सुरु गर्छन् ।
“म ‘ननस्टप’ पारामा केहीबेरमा नै मेरो कुरा सक्नेछु । पृष्ठभूमि सुनिहाल्नुभयो । एउटा महागरिब दरिद्रको छोरो गरिब रिक्सावाला मलाई एउटी शरणार्थी युवतीसँग विवाह गर्ने प्रस्ताव आयो । मसँग जीउतनबाहेक केही नभएको कुरा सुनाएँ । केटी राजी भइन् । विवाह भयो, एउटा छोरो जन्मियो । छोरो जन्मिएपछि सरलाको मन मबाट अघायो, भरियो । एउटा सम्पन्न बिधुरसँग तिनको लसपस हुन थाल्यो । छिमेकीहरूले सुझाएमुताविक उनीहरूलाई रङ्गेहात पक्राउ गरेर प्रहरीथानामा बुझाएँ । सरला पोइल गइन् । मसँग रह्यो सानो छोरा सम्देन । सम्देनलाई रिक्सा कुदाएर कमाएको पैसाले बोर्डिङ स्कुल पढाएँ । राम्रो पढाइ भएकोले छात्रवृत्ति पाएर डाक्टर भयो । डाक्टर छोरोले सम्पन्न परिवारकी बुहारी ल्यायो । अनि त्यसपछि.... ।”
उनी रोकिए । तर मलाई उत्सुकता भइरहेको हुन्छ र सोध्छु— “त्यसपछि के भयो ? तपाईंको छोराबुहारी अहिले कहाँ छन् ?”
“उनीहरूसँग केही वर्ष बसेँ । त्यस अवसरमा म हृष्टपुष्ट भएँ, पढ्नलेख्न पनि त्यही बेला सिकेँ । मेरो गठेरापन त्यति बेलादेखि समाप्त भयो । उनीहरू विदेश गएका छन् । नातिनातिनीहरू पनि भइसकेका छन् । फर्केर नआउन्जेल भनेर यो वृद्धाश्रममा राखेका छन् । यत्तिका धेरै वर्षहरू बितिसक्यो कि अब मलाई लाग्न थालेको छ.... उनीहरू कहिल्यै फर्केर आउँदैनन् । फर्के पनि उनीहरू फर्कंदा म मरिसकेको हुनेछु । हा... हा... हा... ” उनी मज्जाले हाँस्छन् ।
म पनि हाँस्छु । तर मन बाउँडिएर आउँछ र नभनी सक्तिनँ । भन्छु— “कस्तो व्यङ्ग्य ? कस्तो ठगाइ हो जिन्दगीको ? अनेक दुःख गरेर छोरा पढाउनु, हुर्काउनु भयो । अहिले वृद्धावस्थामा तपाईंलाई हेरचाह गर्नका सट्टा विदेश गएर बसेका छन्... ।”
“जाऊँ अब, उनीहरूलाई भेट्न । हिँड्नोस् ।”
एउटा सफासुग्घर सानो कोठामा दुई जना वृद्धहरू बसेका छन् । हामीलाई देखेर उत्सुकता आँखामा बोकेर दुबै जना स्वागतमा उभिन्छन् । म भन्छु– “बस्नुहोस्, बस्नुहोस् । म ‘शान्तिपुर’ पत्रिकाको पत्रकार तपस्वी महात्मा महामानवलाई भेट्न चाहन्छु ।”
“बस्नुहोस् । तपाईं तीनै जनालाई एकसाथ भेटिरहनुभएको छ ।” एक जना वृद्ध भन्छन् ।
“को तीन जना ? कस्तो तीन जना ?” म सोध्छु ।
“तपस्वी, महात्मा र महामानव हामी तीन जना हौं । सँगसँगै हिँड्ने, बस्ने हुँदा मानिसहरू हाम्रो नाम एक साथ लिन्छन् । त्यसरी नाम लिँदा धेरैलाई भ्रम परेको छ कि तपस्वी, महात्मा र महामानव एउटै मान्छे हो ।”
“तपस्वी, महात्मा र महामानव कोको हुन् त ?”
“अहिले तपाईं जोसँग आउनुभयो, उनी तपस्वी हुन् । उनले तन्नेरी उमेरमा स्वास्नी पोइल गएपछि तपस्या गरेझैँ अनेकौं दुःखकष्ट सहेर परिश्रम, तपस्या गरेर छोरो हुर्काए, पढाए र एउटा लायक मानिस बनाए । त्यो देखेर उनलाई मानिसहरूले तपस्वी भनेका हुन् ।” अघि बोल्ने वृद्ध भन्छन् ।
“अहो... म त झुक्किएर एउटै मानिस सम्झेर खोजिरहेको थिएँ । तपाईं तपस्वी हो भन्ने थाहा पाएको भए तपाईंको कथाव्यथा सविस्तार सुन्ने थिएँ ।”
“त के भयो ? मोटामोटी मैले सुनाइहालेँ । नुन, अचार, मसला थप्ने, काँटछाँट गरेर कलात्मक, मधुर बनाउने, लालित्य भरेर बान्कीदार बनाउने काम त सुन्ने मानिसको हो ।” तपस्वी धनपाल भन्छन्— “सुन्ने मानिसमा भावना छैन भने जति सविस्तार सुनाए पनि खल्लो हुन्छ । भावना, कल्पना र कथालाई कलात्मकतामा ढाल्ने क्षमता श्रोतामा भएमा सङ्क्षेपमा भनिएको घटना पनि रोचक हुन्छ, हा... हा... हा... ”
“हा... हा... हा... ” हामी सबै हाँस्छौं । उनको भन्ने शैली र हाँस्ने पाराले सबैलाई हसाएको हुन्छ ।
“अब तपाईंहरूमध्ये को महात्मा ? को महामानव ?”
“अडकल गर्नोस् त । कोको होला ?” तपस्वी भन्छन् ।
म दुबै जनालाई हेर्छु । दुबैको वृद्ध अनुहारमा केही भावुकता, समयले छोडेको निरङ्कुशता, निरपेक्षता र अन्य प्रभावहरू देखिँदै छ । एक जना सानो गाठीका गान्टे छन्, म उनलाई देखाएर भन्छु– “उहाँ महामानव !”
“हा... हा... हा... ” हामी सबै हाँस्छौं कोठा थर्काएर । सिमेन्टको कम अनुपात भएको भए भित्ता चर्किने थियो ।
“ठीक अडकल गर्नुभयो । क्षतिपूर्तिको सिद्धान्त, विचारलाई ठट्टामा परिवर्तन गर्ने मानिसको बानीले लघुमानवलाई महामानव भनेर सम्बोधन गर्दा क्षतिपूर्ति हुँदो रहेछ, हा... हा... हा... ”
हाँसो । उन्मुक्त हाँसो, हाँसोमा मानिसलाई तनावरहित बनाएर आत्मीयता र अपनत्व महसुस गराएर नजिक ल्याउने शक्ति हुने भएकाले म उनीहरूलाई आफ्नै सम्झन थालेको हुन्छु । निस्फिक्री प्रश्नहरू सोध्छु— “तपाईंहरू कसरी यो वृद्धाश्रममा आउनुभयो ? तपाईंहरूको जीवन भोगाइका अनुभव के छ ? अनि तपाईंहरू ... ।”
“लु... फेरि तपाईं यत्तिका धेरै प्रश्नहरू एकसाथ सोधिरहनुभएको छ ।” तपस्वी सम्झाउँछन् ।
“स्वाभावश... ‘लागेको बानी को छोड्छ’ भनेर बुहारीले ढाडु चाटेझैँ ... हा... हा... हा... ।”
“हा... हा... हा... । अब नहाँसौँ । हाँस्दाहाँस्दै दस गाउँ डुबिजाला । कामको कुरामा आऊँ ।” महात्मा भन्छन् ।
“अब तपाईंहरू आफूले भोगेको जिन्दगीको कथाव्यथा पालैपालो सुनाउनुहोस् । त्यसैका लागि म यहाँ आएको छु ।”
“हुन्छ, हुन्छ ।” उनीहरू दुबै जना एकसाथ भन्छन् । एकआपसमा मुखामुख गरेर भन्छन्– “तपाईं पहिला ।”
“तपाईं पहिला सुनाउनुहोस् ।”
“उपाय निकाल्छु म, कसले पहिला सुनाउने ? चित भएमा महात्माले र पोट भएमा महामानवले । मञ्जुर ?”
तपस्वी धनपाल एउटा सिक्का आकाशतर्फ फाल्छन् । सिक्का भुइँमा खस्छ— चित ।
“मारा... ।” जुवाडेझैँ कराउँछन् महात्मा । “सुन्नुहोस् मेरो विगत, मेरो कथाव्यथा । म अत्यन्त रिसाहा युवक थिएँ । रिसाहा साथै रक्स्याहा पनि थिएँ । एक रात निकै अबेला मातेर कोठामा पुगेर बत्ती बाल्छु । के देख्छु ? पत्नीसँग एउटा परपुरुष सुतिरहेको छ । रिसले मात्तिएर कत्ति हातमा लिएर काट्न जाइलाग्छु दुबैलाई... तर के अचम्म ? आश्चर्य ! आवेग अकस्मात् शान्त हुन्छ । रिस मत्थर हुन्छ । मेरो हात लल्याकलुलुक भएर कत्ति भुइँमा खस्छ । दुबै जना भाग्छन्... उनीहरूको ज्यान बच्छ । म ज्यानमारा हुनबाट जोगिन्छु । तर मभित्र विश्वासघात, धोकाको पीडा ज्वाला भएर दन्किन थाल्छ र म हिँड्छु घरबार छोडेर यन्त्रचालितझैँ कताकता निरुद्देश्य... हिँड्दाहिँड्दै महात्मा भएँ । हिँड्दाहिँड्दै आज म मानव संसारमा आइपुगेको छु । कथा यति... जीवन यति ।”
उनी हामीतिर हेर्छन्— “जीवन यति । यो महात्मा सम्झँदो होला ऊजस्तै आफ्नो कथाव्यथा सुनाइसकेपछि म पनि सहानुभूतिको दुई थोपा आँसु चुहाउनेछु ।”
“तिमी हृदयहीन, संवेदनाहीन मान्छेसँग आँसु भए पो चुहाउँछौं ।” महात्मा भन्छन् ।
“म तिमीजस्तो रुन्चे होइन । रोएर बितेको जिन्दगीको अवमूल्यन गर्ने ? त्यो जीवन थियो, सम्झेर गर्व गर्नुपर्छ ।” तपस्वी भन्छन् ।
“कुकुरबिरालो तिमीहरू । पत्रकारको अगाडि त नबाझ । आफ्नो कइरन नखोल ।” महामानव भन्छन् ।
दुबै चुप लाग्छन् । केहीबेरपछि महात्मा भन्छन्– “महामानव, अब सुनाउने तिम्रो पालो ।”
महामानव कन्तुर खोल्छन् । कन्तुरभित्र झन्डैझन्डै रङ उडिसकेको तस्बिर हुन्छ । त्यसलाई झिकेर देखाउँदै भन्छन्– “यो तस्बिर मेरो जीवनको महाठट्टा हो ।”
तस्बिरमा एउटा तन्नेरी, एउटी सुन्दरी युवती र तिनको काखमा गुडियाजस्तो बालक छ ।
“यो तस्बिर हुलाकबाट आएको चिठीभित्र पाउनासाथ च्यातिदिऊँजस्तो लागेको थियो । रिसले, झोकले च्यात्नै आँटेको थिएँ तर दस मनहरूमध्येको एउटा मनले ‘राखी छाड, कुनै दिन काम लाग्न सक्छ’ भन्यो । तस्बिर च्यातिनँ र राखेँ । नभन्दै काम पनि लाग्यो ।” महामानव भनिरहेका हुन्छन् ।
“कस्तो काम लाग्यो ?” उत्सुकतावश म सोध्छु ।
“म र मेरी तात्कालिक पत्नी पुष्पाबीच असाध्य प्रेम, मायाप्रीति थियो जुन प्रत्येक नवविवाहित जोडीहरूमा हुने गर्छ । म उनीबिना बाँच्नै सक्तिनँ भन्ने सोचिरहेको थिए । तिनी पनि त्यस्तै सोचिरहेकी थिइन् । सम्पन्न घरको छोरो भएकाले मलाई सम्पत्तिको दुःख थिएन । सुख, सम्पन्नता र शान्ति घरपरिवारमा व्याप्त थियो । क्षणक्षण गर्दै दिन, दिन गर्दै महिना र महिनामहिना गरेर वर्षहरू बिते । पाँच, छ... आठ वर्षको लामो समयमा पनि हाम्रो सन्तान नहुँदा दाम्पत्यजीवन निराशामय, दुःखद र बोझिलो भयो । अब म ‘बाँझी, बैला’ भनेर पुष्पालाई कटुवचन लगाउँदै घृणा गर्न थाल्छु ।
तिनी पनि मुखाले हुँदै गइन् । रातदिन झगडा भइरहन्थ्यो । जोरीपारीको अगाडि ‘अपुताली, निःसन्तान’ भन्दा मरेतुल्य हुन्थेँ । त्यो रिस म पुष्पामाथि खन्याउँथे, दोष दिन्थेँ । प्रतिदिन मेरो कुटाइ खानु तिनको नियति भएको थियो । सासू, ससुरा, देवर, देवरानी सब तिनलाई ‘बैला’ भनेर हेला गर्थे । कष्ट र पीडाले सुकेर तिनी सिन्कासिध्राझैँ भएकी थिइन् । एक रात कुटेर तिनलाई घरबाट निकालिदिएँ ।
... तिनी गइन् कता ? खोजखबर गरिएन । ‘स्वास्नी मारेर लुकायो कि ’ भन्ने पनि शङ्का गरे तर प्रमाणको अभावमा माइती पक्षले पनि केही गर्न सकेनन् । मलाई पनि डर लाग्न थालेको थियो कि कतै तिनले आत्महत्या गरी भने... त्यस्तै करिब तीन वर्षपछि पत्र आयो, पत्रभित्र यो तस्बिर थियो । पत्रमा तिनले लेखेकी थिइन्– “म बाँझी होइन । मसँगै उभिएका मेरा पति हुन् र मेरो काखमा बसेको हाम्रो छोरो हो । तिमी नै सन्तान जन्माउन नसक्ने नपुंसक नामर्द रहेछौ ।”
हजारवटा अरिङ्गालले एकसाथचिलेझैँ, हजारवटा सुइराले मुटुमा रोपेझैँ म आहत, मर्माहत भई विक्षिप्तझैँ हुन्छु । तस्बिर पठाएर आफ्नो आवाद जिन्दगी देखाएर मलाई नामर्द साबित गरेर पुष्पाले मेरो मर्ममा नै प्रहार गरेर बदला लिइन् । म नामर्द, नपुंसक ?”
झन्डै मैले आत्महत्या गरेको । मेरो बलियो मनले सम्झायो– ‘आत्महत्या गरेर आफू कायर भएको प्रमाण नदे, दोस्रो विवाह गरेर छोरो जन्माएर तैँले पनि पुष्पालाई देखाइदे ।’
हो म पनि त्यस रन्डीलाई देखाइदिन्छु । तर समय बित्दै जाँदा दोस्रो विवाह गर्ने इच्छा सेलाउँदै गयो । दोस्रो विवाह गरेर पनि मेरो सन्तान जन्मिएन भने... म अस्पताल गएर पुरुषत्व जाँच्न डराइरहेँ । जचाउँदा सत्य प्रकट हुन्थ्यो । साँच्चै म अक्षम भएँ... सत्य के थियो ? सत्य थाहा नै नपाई सत्यलाई म तुहाउन चाहन्थेँ । मेरो जीवनको महाव्यङ्ग्य त्यो तस्बिर देखाएर पुष्पा पोइल गएकी र मैले बेपत्ता नपारेको प्रमाण समाजमा दिन समर्थ हुन्छु । तर एक्लो म... विकल, व्यथित, असमर्थ म, बहसूल मुटुभित्र हुर्काएर बाँचिरहेको थिएँ ।
आफ्नोे सारा शक्ति र सामथ्र्य सम्पत्ति कमाउनपट्टि लगाएँ । थुप्रै सम्पत्ति कमाएँ । आमाबुबालाई मृत्युपर्यन्त सेवासुश्रुषा गरेँ । उहाँहरूको मृत्युपछाडि नितान्त एक्लो भएँ । भाइभतिजाहरू मेरो शेखपछि मेरो सम्पत्ति खान मुख आँ... गरी बसिराखेका थिए । अनेकौं दुःखकष्ट गरेर कमाएको सम्पत्ति अरूलाई खान दिनुको सट्टा ‘मानव संसार’ लाई दान दिएर अहिले म यहाँ नै सुख, सन्तोष र शान्तिसित बसिरहेको छु । सहज मृत्यु परिर्खरहेको छु, वीरतासाथ मृत्युवरण गर्न अरू वृद्धहरूझैँ तयार भई बसेको छु । मेरो सानो कदलाई होच्याएर ‘लघुमानव’ भन्नुको सट्टा यी फटाहा तपस्वीले मलाई ‘महामानव’ भनेका हुन् र अहिले म महामानव भएको छु । सम्पत्तिजस्तो तुच्छ वस्तु दान दिएर कोही महामानव बन्छ र ?”
तपस्वी, महात्मा र महामानव तीन जना भए पनि उनीहरूबीचको मित्रता, अपनत्व र आत्मीयता देखेर उनीहरू तीन जना नभएर एकै जना भएसरी हुन् भन्ने लाग्छ । उनीहरूलाई एक ‘तपस्वी, महात्मा, महामानव’ बाट छुट्याएर तीन टुक्रा पार्न सक्तिनँ, चाहन्नँ र पत्रिकामा तपस्वी, महात्मा, महामानवकै रूपमा उनीहरूलाई एक ढिक्का प्रस्तुत गर्ने अठोट गर्छु ।



गरिमा  वर्ष २८, अङ्क १२, पूर्णाङ्क ३३६, मङ्सिर २०६७